नेपाली चलचित्र क्षेत्रको नाम ‘सिनेमाण्डु’
2024-05-28 16:49:20cri
Share with:

नेपाली चलचित्र क्षेत्रको नामबारे सहमति भएको छ। विकास बोर्ड र फिल्म सम्बन्धित संस्थासँगको सहमतिअनुसार नेपाली चलचित्र क्षेत्रको नाम ‘सिनेमाण्डु’ राख्ने टुंगो लागेको नेपाल खबर अनलाइनले लेखेको छ।

सोमबार विकास बोर्डले फिल्म सम्बद्ध संस्थालाई नामाकरणको छलफलका लागि बोलाएको थियो। जुन छलफलमा सिनेमाण्डु नामाकरणबारे छलफल जुटेको चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले जानकारी दिनुभयो। ‘नेपाल चलचित्र क्षेत्रको नाम के राख्ने र चलचित्र दिवसबारे छलफल गर्न बोर्डबाट पत्राचार आएको थियो। यी विषयमा सोमबार चलचित्रसम्बन्धित संस्थाहरूको छलफल भएको थियो। सबैको सहमति अनुसार हामीले नेपाली चलचित्र क्षेत्रको नाम सिनेमाण्डु सिफारिस गरेका हौँ,’ उहाँले भन्नुभयो।

उहाँका अनुसार सिनेमान्डु, हिमालय फिल्मस् र कान्तिपुर फिल्मस् नाममा छलफल चलेको थियो। त्यसैगरि, नेपालको पहिलो फिल्म ‘आमा’ रिलिज भएको दिन असोज १५ गतेलाई राष्ट्रिय चलचित्र दिवस मनाइने विषयमा पनि सहमति गरिएको छ।

नामाकरणबारे सहमतिमा सहभागी संस्थाका प्रतिनिधिले हस्ताक्षर गरेका छन्। बोर्डले बैठकले सो नाम अनुमोदन गरेपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पठाइनेछ।

मन्त्रालयले उक्त नामलाई मन्त्रिपरिषद् बैठकमा पेस गर्नेछ। मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेपछि नेपाली फिल्म क्षेत्रले औपचारिक रुपमा नाम पाउनेछ।