ठुला र जलाशययुक्त आयोजना प्राथमिकतामा
2024-05-29 15:43:24cri
Share with:

ठुला र जलाशययुक्त आयोजनालाई निर्माणमा प्रवेश गराउने उद्घोषसहित नेपाल सरकारले मे २८ तारिख मङ्गलबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ। समग्र ऊर्जा क्षेत्रका लागि ५० अर्ब ७४ करोड रुपियाँ विनियोजनसहित अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सङ्घीय संसद्को संयुक्त बैठकमा आव २०८१/८२ को बजेट प्रस्तुत गर्नुभएको थियो। आगामी आवमा बहुचर्चित दुधकोशी, नलसिंहगाड, माथिल्लो तामाकोशी जस्ता आयोजना निर्माणको चरणमा प्रवेश गराउने योजना बजेटमा राखिएको गोरखापत्र अनलाइनले लेखेको छ।

६३५ मेगावाट क्षमताको दुधकोशी, ४१७ मेगावाट क्षमताको नलगाड जलविद्युत् आयोजना निर्माण सुरु गर्ने व्यवस्था बजेटमा गरिएको पुनले जानकारी गराउनुभयो। उहाँले २८० मेगावाट क्षमताको नौमुरे जलविद्युत् आयोजनाको समेत निर्माण सुरु गर्ने सरकारले लक्ष्य लिएको जानकारी गराउनुभयो। वर्षौंदेखि अलमलमै रहँदै आएको एक हजार दुई सय मेगावाटको बुढी गण्डकी जलविद्युत् आयोजना पनि निर्माण कार्य सुरु गरिने बजेट वक्तव्यमा उल्लेख गरिएको छ। सुक्खायामको विद्युत् मागलाई सम्बोधन गर्ने लक्ष्यका साथ सरकारले जलाशययुक्त आयोजना निर्माणलाई पनि विशेष प्राथमिकतामा राखेको मन्त्री पुनको भनाइ छ।   

जनताको जलविद्युत् कार्यक्रम अन्तर्गत १०६ मेगावाट क्षमताको जदुल्ला, ९९.९ मेगावाट क्षमताको तामाकोशी पाँचौँ, २१० मेगावाट क्षमताको चैनपुर सेती जलविद्युत् आयोजना निर्माण सुरु गर्ने लक्ष्य पनि बजेटमा राखिएको छ। सुनकोशी तेस्रो जलविद्युत् आयोजनाको लगानी ढाँचा निर्धारण गर्ने योजना सरकारले राखेको छ। त्यस्तै १० हजार आठ सय मेगावाट क्षमताको कर्णाली चिसापानी जलविद्युत् आयोजनाको विस्तृत अध्ययनसहित इन्जिनियरिङ डिजाइनको कार्य सुरु गर्ने प्रबन्ध बजेटमा गरिएको अर्थमन्त्री पुनले बताउनुभयो।

सरकारले आगामी आवमा नौ सय मेगावाट बिजुली थप हुने आकलन गरेको छ। हाल प्रतिव्यक्ति विद्युत् खपत क्षमता वार्षिक ३८० किलोवाट रहेकामा आगामी वर्ष त्यसलाई बढाएर ४५० किलोवाट पु¥याउने लक्ष्य छ। आगामी आवदेखि नेपालको बिजुली बङ्गलादेश पु¥याइने उद्घोष पनि उहाँले गर्नुभयो। निर्माण प्रक्रियामा जाने तयारीमा रहेको एक हजार दुई सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण सुरु गरिने घोषणा गर्नुभयो।  आयोजना निर्माणका लागि वित्तीय स्रोतको सुनिश्चितताका लागि दुई वटा ढाँचा प्रस्ताव गरिसकिएको उहाँको भनाइ छ। जलाशययुक्त आयोजना निर्माणमा व्यावसायिक लगानी आकर्षित गर्ने गरी बाँध र विद्युत्गृह संरचनालाई छुट्टाछुट्टै निर्माण गर्ने गरी आवश्यक व्यवस्था गरिने बजेटमा उल्लेख गरिएको छ।  

सरकारले वैदेशिक रोजगारीमा रहेका नागरिकको लगानीलाई सुरक्षित गर्ने गरी ७७.५ मेगावाट क्षमताको घुन्सा खोला र ७०.३ मेगावाट क्षमताको सिम्बुआ खोला जलविद्युत् आयोजनाको निर्माण सुरु गर्ने पनि घोषणा गरेको छ। 

निजी क्षेत्रको लगानीमा एक सय मेगावाट क्षमता बराबरको सौर्य ऊर्जा प्रणाली जडानका लागि आवश्यक व्यवस्था बजेटले गरेको जनाइएको छ। हरित हाइड्रोजनको उत्पादन, भण्डारण र प्रयोगलाई प्रोत्साहन गर्ने सरकारको नीति रहेको बजेटमा उल्लेख गरिएको छ। ढल्केबर इनरुवा प्रसारण लाइन, बाह्रबिसे खिम्ती लप्सीफेदी चार सय केभी प्रसारण लाइन निर्माण सम्पन्न गरिने प्रतिबद्धता मन्त्री पुनले बजेट वक्तव्यमार्फत व्यक्त गर्नुभएको छ। सेती कोरिडोर, भेरी कोरिडोर र बुढीगण्डकी कोरिडोर प्रसारण लाइन निर्माण सुरु गर्ने सरकारले लक्ष्य निर्धारण गरेको छ। न्यु बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइनको निर्माण सम्पन्न गर्ने लक्ष्य बजेटमा राखिएको छ। 

इनरुवा पूर्णिया, दोदोधारा बरेली प्रसारण लाइन निर्माणका लागि आवश्यक व्यवस्था गरिएको छ। प्रसारण लाइनको ‘राइट अफ बे’ का लागि आवश्यक पर्ने जग्गा प्राप्तिका लागि जग्गाधनीलाई आयोजना प्रभावित क्षेत्रका सर्वसाधारण सरह नै सेयर प्रदान गरिने व्यवस्था बजेटमा गरिएको छ। पुनले ऊर्जा क्षेत्र विकासका लागि ५० अर्ब ७४ करोड विनियोजन गरेको जनाउनुभयो।