सिन्धुपाल्चोकमा लिच्छवीकालीन अभिलेख भेटियो
2024-05-31 18:10:17cri
Share with:

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१०, महादेवटारमा लिच्छवी लिपियुक्त शिवलिङ्ग भेटिएको छ । साबिक भोटसिपा गाविस वडा नम्बर ८ मा लिच्छवी लिपियुक्त शिवलिङ्ग आँपको रुख र काँडाघारीभित्र रहेको खण्डित जलहरि पीठमा छ पङ्क्तिको प्राचीन अक्षर भेटिएको गोरखापत्र अनलाइनले लेखेको छ।

लिपिविज्ञ डा. श्यामसुन्दर राजवंशीले शिवलिङ्गलाई स्थानीय जनसमुदायमध्ये कतिले जङ्गेश्वर भन्ने गरेको र कतिको तिलेश्वर गुठीसहित मन्दिरको भग्नावशेषसमेत रहेको भन्ने गरेको जानकारी दिनुभयो । 

उहाँका अनुसार हिमवत्खण्ड मिडिया प्रालिको कार्यादेशमा पुरातात्त्विक सम्पदा संरक्षणसम्बन्धी कामको सिलसिलामा खोज तथा अभिलेखीकरण गर्ने क्रममा पुरातत्त्व विभागका पूर्वउपसचिव मोहनसिंह लामा र कम्पनीका प्रबन्ध निर्देशक श्रीकृष्ण धिमालसहितको टोलीले जेठ १३ गते यो अभिलेख पत्ता लगाएको हो । 

उक्त टोलीले उपलब्ध गराएको तस्बिरका आधारमा अभिलेखमा अङ्कित मिति संवत् ४४२ पौषकृष्ण ५ देखिएको छ । उहाँले यो शकपूर्व २ को लिच्छवी संवत् भएकाले तत्कालीन शक ४४० पौष हुने भएकाले तदनुसार ४४० र १३५ वर्ष जोड्दा ५७५ विक्रम् संवत् हुने बताउनुभयो । अभिलेखमा भीमगुप्त र उनका छोरा देवगुप्तको नाम देखा परेको छ । 

यसअघि पाटन स्वथ टोलको लिच्छवी संवत् ४११ को अभिलेखमा तत्कालीन विषयपति भीमगुप्तको नाम उल्लेख भएको देखिएको थियो । उहाँका अनुसार अहिले उक्त अभिलेखमा पनि भीमगुप्तको नाम देखिएकाले सम्भवतः उनै भीमगुप्त हुनु पर्छ भन्ने अनुमान गर्न सकिन्छ । अभिलेखको सुरु ‘स्वस्ति नित्यानित्य’ बाट भएको छ ।

लिपिविज्ञ राजवंशीका अनुसार पुरातत्त्व विभागले अभिलेखको विस्तृत अध्ययन अनुसन्धान गर्न प्राविधिकसहित विज्ञ टोली खटाएको छ । उहाँले विज्ञ टोलीको स्थलगत अध्ययन अनुसन्धान पूरा भइसकेपछि मात्र अरू थप विस्तृत विवरण आउने बताउनुभयो ।