पोखरा नगर युवा परिषद्ले युवालाई सामाजिक सञ्जाल चलाउन सिकायो
2024-06-02 15:36:49cri
Share with:

पोखरा महानगरपालिकाको युवा नगरपरिषद्‌ले युवाहरुलाई सामाजिक सञ्जाल चलाउन सिकाएको छ। सामाजिक सञ्जाल सञ्चालन, चुनौती र सम्भावनाबारे १ सय ५० युवालाई अभिमुखीकरण कार्यक्रम गरिएको परिषद्‌का कार्यकारी उपाध्यक्ष सन्तोष न्यौपानेले बताउनु भएको अनलाइन खबरले लेखेको छ।

सूचना प्रवाहमा सामाजिक सञ्जालको ठुलो योगदान भए पनि पछिल्लो समय भ्रामक खबरले बढी स्थान पाइरहेको अवस्थामा सामाजिक सञ्जालका फाइदा र बेफाइदाबारे युवाहरूसँगै चर्चा परिचर्चा गरिएको उपाध्यक्ष न्यौपानेले बताउनुभयो।

सामाजिक सञ्जालको बढ्दो प्रभावका बीच यसको सदुपयोग र जीवनशैलीसँग जोड्ने कुरा महत्त्वपूर्ण हुने नगर प्रमुख धनराज आचार्यले बताउनुभयो। ‘सामाजिक सञ्जालको प्रभावका दिनानुदिन बढ्दो छ’, आचार्यले भन्नुभयो, ‘यो मानव जीवनको अपरिहार्य अवयव जस्तो बनिसकेको छ, तर यसको सदुपयोगिता र सकारात्मक प्रभावका विषयमा भने चर्चा गर्न आवश्यक छ।’

सामाजिक सञ्जालको दुरुपयोग हुँदा सिंगो समाजमा नकारात्मक प्रभाव र भ्रम सृजना हुने भएकाले सचेत रहन आवश्यक रहेको मेयर आचार्यले बताउनुभयो। सामाजिक सञ्जाल नयाँ सिकाइ र नवप्रवर्तनका लागि पाठशाला भएको उहाँको भनाइ थियो।

सामाजिक सञ्जाललाई कतिपय अवस्थामा अपराधको सजिलो हतियारका रूपमा समेत लिने गरेको पनि मेयर आचार्यले बताउनुभयो। ‘सामाजिक सञ्जालको व्यवस्थित र मर्यादित सञ्चालनका लागि नियमन जरुरी छ’, उहाँले भन्नुभयो।