पाँच महिनामा ५ लाख बढी पर्यटक आगमनमध्ये चीन, भारत र अमेरिकी पर्यटक बढी
2024-06-03 16:42:25cri
Share with:

सन् २०२४ को पहिलो पाँच महिनामा ५ लाखभन्दा बढी पर्यटक आगमन भएको छ । नेपाल पर्यटन बोर्डका अनुसार मे २०२४ मा मात्र ९० हजार २ सय ११ पर्यटक नेपाल आएका छन्। योसँगै जनवरीबाट मेसम्म ५ लाख ६ हजार २ सय ८० पर्यटक नेपाल आएको बोर्डले जनाएको छ । बोर्ड निर्देशक मणिराज लामिछानेका अनुसार यस वर्ष पहिलो स्थानमा भारतीय नागरिक आगमन भएको छ । दोस्रो स्थानका लागि चिनियाँ र अमेरिकी पर्यटकको प्रतिस्पर्धा देखिन्छ। मार्चमा प्रिमनसुन महिना हो ।

मार्च र अप्रिलमा १ लाखमाथि पर्यटक आएका थिए । त्यसो हुनुमा नेपालमा पदयात्रा र पर्वतारोहणमा आउनेको संख्या अधिक थियो । मनसुनका बेला भने आगमन केही कम हुने गर्छ ।

मे २०१९ मा ७८ हजार ३२९ पर्यटक आएका थिए । २०२० मेमा ३१, २०२१ मेमा १ हजार ५ सय ३१, २०२२ मेमा ५४ हजार ९३ र २०२३ मा मेमा ७७ हजार ७ सय ३ा पर्यटक नेपाल आएका थिए । २०२४ मा यो संख्या अझ बढेको छ । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा वार्षिक १६ लाख पर्यटक भित्राउने लक्ष्य राखेको छ । यो पूरा हुन अफ सिजनका महिनामा समेत १ लाखभन्दा बढी पर्यटक आउनुपर्छ । नेपालले हवाईजहाजबाट आउने भारतीयलाई मात्र पर्यटक मान्छ । सोहीकारण स्थलमार्गबाट आउने ठूलो संख्याका भारतीय भने पर्यटक मानिदैनन् ।

अनलाइनखबरका अनुसार नेपाल आउने पर्यटकमध्ये भारतीय पहिलो स्थानमा छन् । पछिल्लो पाँच महिना भारतबाट मात्र १ लाख ४८ हजार ८ सय ६१ पर्यटक नेपाल आएका छन् । मे २०२४ मा मात्र भारतबाट ३८ हजार २ सय ८८ नेपाल आएका छन् । दोस्रो स्थानमा चिनियाँ छन् । पाँच महिनामा चीनबाट ४६ हजार ६ सय ७१ आएका छन् । मेमा मात्र ८ हजार ३ सय ८१ चिनियाँ नेपाल आएको आँकडा छ । जुन अघिल्लो वर्षको तुलनामा ७९.६ प्रतिशत धेरै हो ।

अमेरिकाबाट पाँच महिनामा ४५ हजार ३ सय ७३ पर्यटक नेपाल आएको तथ्यांक छ ।

२०२४ मेमा बंगलादेशबाट अघिल्लो वर्षको तुलनामा ५९.८ प्रतिशत धेरै पर्यटक आएका छन्।