चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीको ठेक्कामा रहेको सिद्धबाबा सुरुङ निर्माणको गति बढाइँदै
2024-06-04 16:40:55cri
Share with:

चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले ठेक्का लिएको सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको सिद्धबाबा सुरुङ विस्फोटक पदार्थ प्रयोग गरेर खन्न थालिएको छ । यही जेठ १३ देखि दुई सिफ्टमा चौबिसै घण्टा काम भइरहेको आयोजनाले जनाएको छ । कुनै समस्या नआए अबको चार महिनाभित्र सुरुङको ‘ब्रेक थ्रु’ गर्ने तयारी रहेको सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक नरेशमान शाक्यले बताउनुभयो।

 

यो सडक खण्डमा बारम्बार पहिरो खसेर दुर्घटना बढ्न थालेपछि विकल्पका रूपमा सुरुङ निर्माण थालिएको हो । सुरुङको लम्बाइ १ हजार १ सय २६ मिटर छ । यो योजनाअन्तर्गत बुटवलतर्फको चिडियाखोलाबाट ९ सय १० मिटर र पाल्पातर्फ ५ सय ६० मिटर दुई लेनमा सडक सुधारको काम पनि हुनेछ । सिद्धबाबा मन्दिर नजिकैबाट सुरुङ छिरेर पाल्पातर्फ तिनाउ जलविद्युत् छेउमा निस्कन मिल्छ । २ सय ४३ मिटर दूरीका तीन वटा क्रस प्यासेज बन्ने छन् । सुरुङभित्र केही समस्या आए क्रस प्यासेजबाट निस्कन मिल्नेछ । सुरुङ र क्रस प्यासेजसहितको दूरी १ हजार ५ सय ७३ मिटर छ ।

 

पाँच वर्षभित्र निर्माण सक्ने गरी ०७८ फागुनमा सुरुङ मार्गको ठेक्का सम्झौता भएको हो । निर्माण थालेको २६ महिनामा भौतिक प्रगति भने १२ प्रतिशत छ । यसको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा लिएको हो । कम्पनीले सुरुमा निर्माणमा ढिलाइ गर्दा आयोजनाले गति लिन सकेको थिएन । सुरुमा रुख काट्न नपाएको भन्दै निर्माण कम्पनीले ९ महिना म्याद थपको माग गरेको छ ।

 

पहिला सुरुङ खन्ने काम सकेर त्यहाँबाट गाडी पास गर्ने व्यवस्था मिलाएपछि ‘रक सेट’ बनाइने शाक्यले बताउनुभयो । उक्त रक सेटको दूरी ७ सय ८० मिटर रहेको कान्तिपुर अनलाइनले जनाएको छ ।

 ‘सुरुङ निर्माण गरिएको क्षेत्रमा ढुंगा खसे तल झर्ने गरी ओरालो पारेर सिमेन्टेड रक सेट बनाइनेछ,’ उहाँले भन्नुभयो, ‘त्यसलाई धान्न सक्ने/नसक्ने सबै विषयलाई आधार मानेर रक सेटको डिजाइन गरिएको हो ।’ ‘ब्रेक थ्रु’ भएको ६ महिनाभित्र सुरुङबाट गाडी चलाउने योजना आयोजनाको छ ।

 

यस्तै, निर्माण थालेको ५३ महिनापछि गत वैशाख ३ मा नागढुंगा–सिस्ने खोला सुरुङ मार्गको ‘ब्रेक थ्रु’ भएको थियो । सुरुङमार्फत सवारीसाधन सञ्चालन गर्न भने अझै एक वर्ष लाग्ने आयोजनाले जनाएको छ । मुख्य सुरुङको दूरी २.६८८ किलोमिटर र आपत्कालीन सुरुङको दूरी २.५५७ किमि छ । अहिले फ्लाभाइओभर, सडक निर्माण र सुरुङ फिनिसिङको काम भइरहेको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माण आयोजनाका उपआयोजना निर्देशक गोविन्द दुमरुले बताउनुभयो।

 

काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत लेनडाँडा र धेद्रे सुरुङको ठेक्का भएको तीन वर्षपछि जेठ ४ र ११ मा ‘ब्रेक थ्रु’ गरिएको छ । १ हजार ४ सय ३० मिटर दूरीको लेनडाँडा सुरुङ काठमाडौंबाट निजगढतर्फ जाने सुरुङमार्ग हो । धेद्रे सुरुङमार्गको जोडी सुरुङमध्ये निजगढबाट काठमाडौंतर्फ आउने १ हजार ६ सय ५३ मिटरको सुरुङ हो । फास्ट ट्र्याकमा ६ वटा सुरुङ निर्माण गरिने छ । जसमा तीनवटा सुरुङ निर्माणधिन रहेकोमा अब महादेवटार सुरुङको ‘ब्रेक थ्रु’ हुन बाँकी छ ।

 

असारभित्र ‘ब्रेक थ्रु’ गर्ने तयारीमा रहेको नेपाली सेनाले जनाएको छ । फास्ट ट्र्याकमै पर्ने २ हजार २ सय ५० मिटरको चन्द्राम भीर सुरुङ, १ किमिको देवीचौर र ०.३९ किमिको सिसौटार सुरुङको ठेक्का भएर डिजाइनको चरणमा छन् ।