नेपालकै तेस्रो ठुलो विद्युत सबस्टेसन तयार
2024-06-09 16:13:42cri
Share with:

 

पूर्व इनरुवादेखि पश्चिम नवलपरासीसम्म प्रत्यक्ष र समग्र पूर्वपश्चिम विद्युत् वितरणमै अप्रत्यक्ष गुणस्तर सुधार गर्ने नेपालकै ठूलो तेस्रो सबस्टेसन निर्माण भएको छ। मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११, थानाभर्‍याङमा ४०० केभी  हेटौँडा सबस्टेसन निर्माण सम्पन्न भएर चार्ज गरिएको गोरखापत्र अनलाइनले लेखेको छ।

ग्यास इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित स्वचालित यो सबस्टेसन र यसमा जोडिएका प्रसारण तथा वितरण लाइनले विद्युत्को स्थानीय वितरणदेखि भारत निर्यातलाई समेत स्तरोन्नति गर्ने छ। यो सबस्टेसनसँगै नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाबाट थानाभर्‍याङमै बनेको २२० र १३२/११ केभी क्षमताका सबस्टेसन पनि शुक्रबार नै चार्ज गरिएको छ। ढल्केबर मुलुककै पहिलो, इनरुवा दोस्रो र हेटौँडा तेस्रो ठुलो सबस्टेसन हो।

यो सबस्टेसनले करिब चार हजार मेगावाट विद्युत् व्यवस्थापन गर्न सक्छ। अब हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन तयार भयो भने न्यु बुटवल सबस्टेसन (नवलपरासी) सम्मको पर्याप्त क्षमतासहितको र दिगो विद्युत् आपूर्ति प्रणाली स्थापित हुने छ,” नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भन्नुभयो, “मध्य क्षेत्रका नदी कोरिडोरका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण ग्रिडमा प्रवाह गरी देशभित्र खपत र बाँकी हुने विद्युत् हेटौँडा– ढल्केबर ४०० केभी प्रसारण लाइनमार्फत भारततर्फ निर्यात गर्न सहज हुने छ।”

राष्ट्रिय ऊर्जा सङ्कट निवारण तथा विद्युत् विकास दशकसम्बन्धी अवधारणापत्र २०७२ मै यो परियोजना निर्माण गर्ने तय भएको थियो। तर अहिले सबस्टेसन तयार भयो तर प्रसारण लाइन भने पूरा हुन सकेको छैन। आयोजना अन्तर्गत ढल्केबर–इनरुवा खण्ड निर्माण अन्तिम चरणमा छ भने हेटौँडा–ढल्केबर खण्ड निर्माणाधीन अवस्थामै अल्झिरहेको छ। हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५, १६, १७ र ११ मा वर्षौंदेखि स्थानीयले अवरोध गरेका कारण प्रसारण लाइन निर्माण सम्पन्न हुन सकिरहेको छैन। अवरोध नभएका ठाउँमा भने निर्माण भइरहेको छ। 

कार्यकारी निर्देशक घिसिङका अनुसार हेटौँडा सबस्टेसनलाई भविष्यमा आवश्यकता अनुसार थप विस्तार गर्दै जान मिल्ने गरी निर्माण गरिएको छ। अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बाट नुवाकोटको रातमाटेबाट निर्माण हुने ४०० केभीको डबल सर्किट प्रसारण लाइन हेटौँडा सबस्टेसनमा ल्याएर जोडिने छ। यसका लागि हेटौँडा सबस्टेसनमा आवश्यक पूर्वाधार संरचना निर्माण गरिसकिएको आयोजना प्रमुख आयोजना प्रमुख शुक्र देवकोटाले जानकारी दिनुभयो।  

हेटौँडा ४०० केभी सबस्टेसन निर्माणका लागि डिसेम्बर २०१८ मा ठेक्का सम्झौता गरिएको थियो। सरकार तथा नेपाल विद्युत् प्राधिकरणको लगानी र विश्व बैङ्कको सहुलियतपूर्ण ऋणमा नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजना मातहत यो निर्माण गरिएको हो। 

४००, २२० र १३२ केभी हेटौँडा सबस्टेसनको अनुमानित लागत तीन अर्ब रुपियाँ रहेको छ।