चोयु हिमालमा नेपालबाट आरोहण सुरु
2024-06-11 16:03:29cri
Share with:

व्यावसायिक आरोहणका रूपमा जटिल मानिएको विश्वको छैटौँ सर्वोच्च शिखर चोयु हिमालमा नेपालतर्फबाट पहिलो पटक नयाँ रुट भएर ६ नेपालीसहित ७ जना आरोहीले सफल आरोहण गरेका छन् । फ्रान्सेली पर्वतारोही अलासडेयर म्याकेन्जीको नेतृत्वमा तेन्जिङ ग्याल्जेन शेर्पा, गेल्जे शेर्पा, छाङ्बा शेर्पा, लाक्पा तेब्बा शेर्पा र निग्मा वाङ्दा शेर्पाले जुन ७ तारिख शुक्रबार चोयु शिखर आरोहण गरेको कान्तिपुर अनलाइनले लेखेको छ ।

नेपालतर्फबाट नयाँ रुटबाट भएको यो पहिलो आरोहण भएको यो आरोहणको व्यवस्थापन गर्ने सेभेन समिट ट्रेक्स प्रालिका समेत सञ्चालक रहेका टासी लाक्पा शेर्पाले जनाउनुभयो। ‘चोयु आरोहण तिब्बतर्फबाट सजिलो छ । तर नेपालबाट यो पटक हामीले नयाँ रुटबाट आरोहण सम्पन्न गरेका छौं । व्यावसायिक रूपमा तिब्बतको दाँजोमा अब यो रुट आरोहीहरूका लागि सजिलो हुने अपेक्षा छ ।’ तिब्बतबाट आरोहणको अन्य खर्च तथा अनुमति लिनुभन्दा नेपालबाट सस्तो र सजिलो हुने उहाँको भनाइ छ ।

 खुम्बु क्षेत्रको नाम्चे बजारबाट थामे हुँदै चोयु हिमालको आधार शिविर पुगिन्छ । यो नयाँ रुटमा आरोहण गर्न फ्रान्सेली पर्वतारोही अलासडेयरसहितको टोली डेढ महिनादेखि त्यहीँ थियो । ‘यस पटकको वसन्तकालीन हिमाल आरोहणका लागि खुम्बु क्षेत्रको यो नै अन्तिम आरोहण हो,’ टासी लाक्पाले भन्नुभयो, ‘यो टोलीले चुचुरोमा पुग्न ३ दिन लगाएको थियो ।

 बिहीबार राति २ बजे चोयुको चौथो शिविरबाट उक्लिएका आरोही शुक्रबार राति ८ बजे चुचुरोमा पुगेका थिए । सेभेन समिटले यस आरोहणलाई नेपालको पर्वतारोहण क्षेत्रका लागि ऐतिहासिक भएको जनाउँदै उनीहरूलाई स्वागत गर्न आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित आन्तरिक टर्मिनल कार्यालयमा सम्मान कार्यक्रम राखेको थियो ।

 तर खराब मौसमका कारण उडान नहुँदा ६ नेपालीसहित ७ जना चोयूका आरोही लुक्लाबाट काठमाडौँ आउन सकेनन् । चोयुमा पहिलो पटक १९५४ मा तिब्बतर्फबाट अस्ट्रेलियन आरोही हर्बट टीचीसहितको आरोण दलले पहिलो पटक आरोहण गरेको थियो । सगरमाथाभन्दा २० किलोमिटर पश्चिममा रहेको यो हिमाल चीन र नेपालको सीमामा पर्दछ । नेपालबाट आरोहण गर्ने पुरानो रुटलाई आरोहीहरूले ज्यादै चुनौतीपूर्ण र कठिन मान्दै आएका थिए ।