काठमाडौँमा चिनियाँ भाषा प्रशिक्षण सुरु
2024-06-12 16:15:53cri
Share with:

नेपालका पर्यटन व्यवसायीका लागि सञ्चालित छैटौँ चरणको चिनियाँ भाषा प्रशिक्षण काठमाडौँमा सुरु भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री हितबहादुर तामाङ र नेपालका लागि चिनियाँ राजदूत छन् सोङले जुन ११ तारिख मंगलबार प्रशिक्षण उद्घाटन गर्नु भएको नेपाल समाज अनलाइनले लेखेको छ।

 नेपाल पर्यटन बोर्ड र नेपाल चीन साँस्कृतिक तथा शैक्षिक परिषदसँगको सहकार्यमा काठमाडौँस्थित चिनियाँ राजदूताबासले सञ्चालन गर्ने कक्षा ६ महिनासम्म चल्नेछ।

 कक्षा उद्घाटन कार्यक्रममा मन्त्री तामाङले भाषाले सम्बन्ध विस्तार गर्न मद्दत पुग्ने र समृद्ध महाशक्ति चीन नेपालको पर्यटनको ठूलो स्रोत भएको भन्दै चिनियाँ भाषा अप्ठेरो रहे पनि नेपालको पर्यटन क्षेत्रको जनशक्तिको लागि अपरिहार्य हुँदै गएको स्पस्ट पार्नुभयो।

 कार्यक्रममा राजदूत छनले नेपालीहरुले चिनियाँ भाषा तुलनात्मकरूपमा चाडै सिक्ने र लवज प्रष्ट रुपमा बोल्ने गरेको अनुभव सुनाउनुभयो। चिनियाँ भाषा पुरानो इतिहास मात्र नभएर वैज्ञानिक विकासको आधार रहेको उहाँको भनाइ थियो। धेरै व्यापारीहरू र लगानीकर्ताहरू नेपाल आउने तयारीमा रहेको जानकारी दिँदै राजदूत छन सोङले चिनियाँ भाषा जानेका जनशक्ति उनीहरुको पहिलो आवश्यकता रहेको बताउनुभयो। उहाँले कक्षाको सफलताका लागि शुभकामना पनि दिनुभयो।

 बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिकमत सिंह ऐरले पर्यटन आतिथ्यतामा भाषा शक्तिशाली अस्त्र रहेको उल्लेख गर्दै विश्वको दोस्रो ठूलो भाषाको तालीमले नेपालमा चिनियाँ पर्यटन प्रवर्द्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले राजदूतमार्फत चिनियाँ सरकारलाई अझ धेरै नाका खुल्ला गर्न अनुरोध गर्नुभयो।

 परिषदका अध्यक्ष डा. हरिशचन्द्र शाहले यसअघि तालिम पाइसकेका २ सयजना प्रशिक्षार्थीहरू  नेपालको  विभिन्न पर्यटन व्यवसायमा सक्रिय रहेको जानकारी दिँदै राजधानी बाहिर पनि चिनियाँ भाषाको कक्षा सञ्चालनका लागि ठूलो माग रहेको बताउनुभयो।