भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय पर्यटन मेला
2024-06-15 16:42:45cri
Share with:

नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौँको भृकुटीमण्डमा जुन १४ तारिख शुक्रबारदेखि अन्तर्राष्ट्रिय पर्यटन मेला सुरु भएको छ। उक्त मेला एक कार्यक्रमका बीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले उद्घाटन गर्दै नेपालको पर्यटनलाई विश्वभर प्रवर्द्धन गर्न मेला उपयोगी हुने विश्वास व्यक्त गर्नु भएको कान्तिपुर अनलाइनले लेखेको छ। उहाँले यस वर्ष पर्यटन क्षेत्रमा देखिएको समस्या समाधान गरी कम्तीमा १६ लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा गर्न मन्त्रालय प्रतिबद्धताका साथ लागेको उल्लेख गर्नुभयो।

सन् २०२३ मा १० लाख पर्यटक नेपाल आएकामा सन् २०२४ मा कम्तीमा १६ लाख भित्र्याउने लक्ष्यका साथ सरकारले काम गरिरहेको पर्यटनमन्त्री तामाङले जानकारी दिनुभयो। पर्यटन क्षेत्रमा पहिले लगाउँदै आइएको हवाई टिकटमा भ्याट र अन्य केही अनावश्यक कर हटाउने काम भइरहेको जनाउँदै उहाँले पर्यटन प्रवर्द्धनका लागि विद्यमान समस्या बजेट पास हुनुअघि नै समाधान गरिने प्रस्ट पार्नुभयो।

पर्यटनमन्त्री तामाङले पर्यटन क्षेत्रले ब्यहोरिरहेको समस्या समाधान गर्न, यस क्षेत्रको विकास र प्रवर्द्धनका लागि विभिन्न करहरु हटाउने कुरामा सरकारले पहल गरिरहेको भन्दै यसबारे यथाशीघ्र सम्बोधन गरिने बताउनुभयो। विश्व पर्यटन बजारमा सूचीमा नेपाल घुम्नैपर्ने गन्तव्य भएकाले पर्यटकीय सम्भावना भएका क्षेत्रमा पूर्वाधार निर्माणलगायत काम सरकारले सुरु गरिसकेको जानकारी दिनुभयो।

पर्यटन क्षेत्रको विकासले मुलुकलाई समृद्धतर्फ लैजाने आधार तयार पार्ने हुँदा यस क्षेत्रमा काम गर्दै आइरहेका संघसंस्थासँग सहकार्य गरेर सरकारले काम गर्ने लक्ष्य लिएको मन्त्री तामाङले उल्लेख गर्नुभयो। अन्तर्राष्ट्रिय पर्यटन मेलामा नेपाल, भारत, कोरिया, ताइवान, सिङ्गापुर, माल्दिभ्स, अमेरिका, नेदरल्याण्ड्स, श्रीलंका, चीन, थाइल्याण्ड, दुबई, बंगलादेश, भियतनाम, मलेसिया, भुटान सहभागी छन्। मेलामा एक करोड रुपैयाँभन्दा बढी खर्च हुने आयोजक समिट इभेन्ट्स मार्केट्सले जनाएको छ।

समिट इभेन्ट्स मार्केट्सका प्रबन्ध निर्देशक एवं मेलाका संयोजक विष्णु पाण्डेले नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरसम्म जोड्न मेलाको आयोजना गरिएको बताउनुभयो। नेपाल पर्यटन बोर्ड र काठमाडौँ महानगरपालिकाको मुख्य सहयोग रहेको मेलामा एक हजारभन्दा बढी अवलोकनकर्ताको सहभागिता रहने उहाँले जानकारी दिनुभयो।

मेलाले विभिन्न देशका पर्यटन व्यवसायीलाई एकै ठाउँमा ल्याउने र यसबाट नेपालले अन्तर्राष्ट्रियरुपमा पर्यटन प्रवर्द्धन गर्न नयाँ अवसर सिर्जना गर्ने विश्वास लिइएको आयोजकले जनाएको छ। भृकुटीमण्डपमा आयोजित मेलामा १६ देशका एक सय ५५ पर्यटन व्यवसायीको सहभागिता रहेको छ। मेला जुन १५ तारिख शनिबारसम्म सञ्चालन हुनेछ।