इलामको माईपोखरीबाट सन्दकपुर हुँदै जौबारी जोड्ने रेडपाण्डा पदमार्ग
2024-06-15 16:41:51cri
Share with:

विश्व रामसार क्षेत्रमा सुचिकृत इलामको माईपोखरीबाट पूर्वी नेपालको मुस्ताङले परिचित जौबारीसम्म जोड्ने पदमार्गलाई रेडपाण्डा पदमार्ग नामाकरण गरिएको छ। माईपोखरी रामसार क्षेत्र सन्दकपुर १ मा अवस्थित रहेको लोकल सन्देश अनलाइनले लेखेको छ।

त्रिधार्मिक पर्यटकीय क्षेत्र माईपोखरीबाट शुरु भएको पदमार्ग सन्दकपुर ५ को जौबारीसम्म जोडिएको छ। संघीय सरकारले माईपोखरीबाट ढाप पोखरीसम्म ५० किलोमिटर पदमार्ग निर्माण गरेको छ। माईपोखरीबाट पर्यटकीय क्षेत्र कैयाकट्टासम्म संघीय सरकारको पर्यटन विभागले पदमार्ग निर्माण गरेको हो।

कैयाकट्टाबाट जौबारीसम्मको पदमार्ग प्रदेश सरकारबाट निर्माण भएको हो। सन्दकपुर गाउँपालिकाको कार्यपालिका बैठकले माईपोखरीबाट जौबारी जोड्ने पदमार्गलाई रेडपाण्डा पदमार्ग नामाकरण गरेको हो। समुन्द्र सतहबाट २१ सय २१ मिटरमा अवस्थित माईपोखरीबाट इलामको अग्लो ३६३६ मिटरमा अवस्थीत पर्यटकीय क्षेत्र सन्दकपुर हुँदै २९ सय २९ मिटरको उचाईमा रहेको जौबारी रेडपाण्डा पदमार्गले जोडिएको छ। रेडपाण्डाको बासोबास र रेडपाण्डाका माध्यमबाट पर्यटन प्रवद्र्धनका गतिविधि हुँदै आएको क्षेत्र भएर निर्माण भएको पदमार्गलाई (रेडपाण्डा पदमार्ग) नामाकरण गरिएको सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ्गले बताउनुभयो।

माईपोखरीबाट जौबारीसम्मको पदमार्गको प्रवद्र्धनका लागि नेपाल पर्यटन बोर्ड, सन्दकपुर गाउँपालिका, केचना कंचनजंघा पर्यटन विकास समति, डिभिजन वन कार्यालय लगायतका संस्थाको आयोजनामा रेडपाण्डा महोत्सव र पदयात्रा गरिएको थियो। रेडपाण्डाको अध्ययन र अवलोकन गर्न सकिने क्षेत्र भएकाले पदमार्गलाई पनि रेडपाण्डा पदमार्ग घोषणा गरिएको गाउँपालिका उपाध्यक्ष हरि लुङ्गेलीले बताउनुभयो। यो पदमार्गको प्याकेज बनाएर पर्यटकहरुका लागि खुल्ला गर्ने योजना रहेको उपाध्यक्ष लुङ्गेलीको भनाइ छ।

सरकारको ठुलो लगानी भएको पदमार्गलाई चलायमान बनाउनका लागि नामाकरण गरि अन्य पर्यटकीय गतविधि गर्ने योजना रहेको सन्दकपुर २ का अध्यक्ष सनम राईले बताउनुभयो। रेडपाण्डा पदमार्गले १३ वटा पर्यटकीय गन्तव्यहरुलाई जोड्नेछ। पर्यटकीय गन्तव्यमा नेपाल र भारतबाट वर्षमा सयौँ पर्यटकले भ्रमण गर्दै आएका छन्। पर्यटकीयस्थल जोड्ने पदमार्ग निर्माणमा राज्यको ठुलो लगानी भएकाले संचालनमा ल्याउनका लागि गाउँपालिका अग्रसर हुनुले पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने केचना कंचनजंघा पर्यटन विकास समितिका कार्यकारी निर्देशक केशव कुमार द्यौरालीले बताउनुभयो।