सगरमाथा पदमार्ग क्षेत्रको पूर्वाधार निर्माणसँगै पर्यटकीय आवागमन सहज बन्दै,‘खुम्बु क्षेत्र’ मा पूर्वाधार विस्तार गरिँदै
2024-06-17 15:58:28CRI
Share with:

सगरमाथा पदयात्रा पदमार्ग (एभरेस्ट ट्रेकिङ ट्रेल) क्षेत्रको पूर्वाधार निर्माणसँगै त्यस क्षेत्रको पर्यटक आवगमन सहज बन्दै गएको छ । पदमार्ग क्षेत्रका जीर्ण बनेको पूर्वाधारको निर्माणसँगै यस क्षेत्रको पर्यटन आवागमन सहज बनेको हो।

विनियोजित बजेटअनुसार हाल पाँचवटै पदमाग क्षेत्रमा पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले जानकारी दिनुभयो। पर्यटकीय क्षेत्रका पदमार्गको पूर्वाधार निर्माणले यस क्षेत्रमा पर्यटनको आवागमनलाई थप सहज बनाउने उहाँले बताउनुभयो। 

सगरमाथा क्षेत्र जाने पर्यटकका लागि एकमात्र माध्यम पदमार्ग भएकाले यस क्षेत्रका पदमार्गको पूर्वाधार निर्माणलाई पर्यटन व्यवसायीले निकै महत्व साथ हेरेका छन् । एकातिर भौगोलिक विकटता अर्कोतर्फ यस क्षेत्रका पदमार्ग जीर्ण र साँघुरा भएका कारण पर्यटकले निकै सास्ती खेप्नुपरेको थियो । लार्चा दोभानदेखि नाम्चे बजार जाने पदमार्ग पनि निकै जीर्ण साँघुरो थियो । पदमार्गको सडकखण्ड साँघुरा भएकाले पर्यटक, पर्यटकको सामग्री लिएर गएका भरिया र खच्चड लडेर घाइते तथा मृत्यु हुने गरेको स्थानीय टसी शेर्पा बताउनुहुन्छ। अहिले प्रदेश सरकारको लगानीमा उक्त पदमार्गको पूर्वाधार निर्माणसँगै फराकिलो बनाउने काम भइरहेको अनलाइनखबरले जनाएको छ ।

यसअघि करिब चार फिट चौडाइ भएको उक्त पदमार्ग सडक खण्ड अहिले करिब ७ फिट फराकिलोसहित सोलिङ तथा स्टेप राख्ने काम भइरहेको खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले बताउनुभयो।विश्वको छैटौँ अग्लो ८ हजार एक सय ८८ मिटर उचाइ भएको चोयु हिमाल यही पदमार्ग हुँदै जान सकिने भएकाले यसको महत्व पनि उच्च रहेको स्थानीय जानकार याङ्जी शेर्पाको भनाइ छ । सगरमाथा क्षेत्रमै पर्ने चोयु हिमाल अवलोकनका लागिसमेत विदेशी तथा स्वदेशी पर्यटक यस क्षेत्रमा पुग्ने गर्छन् ।