काठमाडौंमा सुरू भयो विश्व बैंक समूह अन्तर्गतको आइडा बैठक, ६१ देशका २०० बढी प्रतिनिधि सहभागी
2024-06-18 15:31:59CRI
Share with:

विश्व बैंक समूहअन्तर्गत अन्तर्राष्ट्रिय विकास संघ (आइडा)–२१ को तेस्रो बैठक आजबाट काठमाडौंमा सुरू भएको छ। यो बैठकमा छलफल गर्न विश्व वैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोटसेनवर्ग लगायत ६१ देशका करिब २०० भन्दा बढी प्रतिनिधि नेपाल आएको विश्व बैंकले जनाएको छ। आइडा दाताहरू र विश्वका अति विपन्न राष्ट्रहरूबीचको साझेदारीको लागि खडा गरिएको निकाय हो।

आउदो तीन वर्षको लागि आइडा देशलाई प्रदान गरिने सहुलियतपूर्ण ऋण तथा अनुदान सहायता तथा प्राथमिकता क्षेत्र, नीति ढाँचा र यसको लागि लागि आवश्यक वित्तीय स्रोतको प्रतिबद्धता व्यक्त गर्ने  सम्बन्धमा दातृ पक्ष, सहायता प्राप्त गर्ने देशका प्रतिनिधि र विश्व बैकका उच्च पदस्थ पदाधिकारीहरू बीच छलफल चल्ने छ। 

बैठकले आइडाको स्रोत परिचालनसँग सम्बन्धित समग्र नीति तय गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताइएको छ। साथै कुन क्षेत्रमा बढी लगानी चाहिन्छ र स्रोतको व्यवस्थापनको विषयमा छलफल गरिने छ। लगानी बाँडफाँट र लगानी प्रतिवद्धताको विषयमा अहिले सार्वजनिक नहुने अर्थमन्त्रालयका प्रतिनिधिहरूको भनाइ छ। 

सन् १९६० मा स्थापना भएको आइडा विश्व बैंकको सहुलियतपूर्ण ऋण र अनुदानका अतिरिक्त आर्थिक विकासमा पछि परेका मुलुकहरूका लागि बहुपक्षीय सहायता प्रदान गर्ने निकाय हो। आइडाले न्यून र मध्यम आय भएका विश्वसका ७५ भन्दा बढी मुलुकहरूमा सहायता उपलब्ध गराउँदै आएको छ। आइडाको बैठक हरेक तीन वर्षमा हुने गरेको छ।  यसपटक बैठकको प्रमुख एजेण्डा नेपालजस्ता विकासोन्मुख मुलुकको आर्थिक विकासमा कसरी थप सहयोग गर्ने भन्ने तय गरिएको छ। आइडाले नेपालमा शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, कृषि, पूर्वाधारलगायतका क्षेत्रमा वित्तीय सहायता र विभिन्न संस्थागत सुधारका लागि काम गर्दै आएको सेतोपाटी अनलाइनले जनाएको छ।