चिनियाँ उच्च शैक्षिक प्रदर्शनी सम्पन्न
2024-06-19 18:40:17CRI
Share with:

काठमाण्डूमा आयोजना गरिएको एक दिने चिनियाँ उच्च शैक्षिक प्रदर्शनी भव्य रुपमा सम्पन्न भएको छ। 

चीनको उच्चतहको शैक्षिक अवस्थाबारे नेपाली विद्यार्थी र तिनका अभिभावकहरुलाई जानकारी गराउने उद्देश्यले चीनको छात्रवृति परिषद् र नेपालस्थित चिनियाँ राजदूतावाससँगको सहकार्यमा नेपाल-चीन सास्कृतिक तथा शैक्षिक परिषद्ले सो प्रदर्शनी आयोजना गरेको थियो । 

सो प्रदर्शनी उद्धघाटन समारोहलाई सम्बोधन गर्नुहुँदै उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल र चीनका विभिन्न विश्वविद्यालयहरुबीच लामो समयदेखि सहयोग र सहकार्य हुँदै आएको बताउनुभयो। मन्त्री श्रेष्ठले नेपाल र चीनबीचको शैक्षिक सहयोग र जनस्तरको सम्बन्धलाई अघि बढाउन शैक्षिक प्रदर्शनी कोशेढुंगा सावित हुने विश्वास व्यक्त गर्नुभयो । 

नेपालका लागि चिनियाँ राजदूत छन् सोङले चीनमा झण्डै २,५०० नेपाली विद्यार्थीहरु अध्ययनरत रहेको जानकारी दिनुहुँदै नेपालमा अध्ययन, अध्यापन गर्न आउने चिनियाँ विज्ञ, विश्वविद्यालयका विद्यार्थी र अन्तर्राष्ट्रिय चिनियाँ शिक्षा स्वयंसेवकको संख्या निरन्तर बढिरहेको बताउनुभयो । 

चीनको छात्रवृति परिषद्का उपमहासचिव चाङ च्यूनले चीन र नेपालबीच परम्परागत मित्रता र मैत्रीपूर्ण सहयोगको विकास हुँदै आएको बताउनु भयो । प्रदर्शनीमा सहभागी हुन पाएकोमा खुशी व्यक्त गर्नुहुँदै उपमहासचिव चाङले शैक्षिक प्रदर्शनीमा नेपाली विद्यार्थी र उनीहरुका अभिभावकहरुले देखाएको उत्साहले आफुलाई प्रोत्साहन मिलेको जानकारी दिनुभयो । शैक्षिक प्रदर्शनी भव्य र उल्लासमय वातावरणमा सम्पन्न भएको उपमहासचिव चाङको भनाइ छ । 

नेपाल-चीन सांस्कृतिक शैक्षिक परिषद्का अध्यक्ष डा. हरिश्चन्द्र साहले प्रदर्शनीको माध्यमबाट चीनका विभिन्न विश्व विद्यालयहरूका बारेमा राम्ररी बुझ्ने अवसर मिल्ने बताउनु भयो । 

प्रदर्शनीमा सहभागी हुन देशका विभिन्न भागबाट आउनु भएका विभिन्न पेशा, व्यवसायमा सम्लग्न महानुभाव र विभिन्न विद्यालयका विद्यार्थीहरुले चिनियाँ शैक्षिक प्रदर्शनी नेपाली विद्यार्थीहरुका लागि महत्वपूर्ण रहेको रे टेलिभिजनसँग कुराकानी गर्दै बताउनु भयो । 

प्रदर्शनीमा चीनका विश्वमै नाम कहलिएका ३१ वटा विश्व विद्यालयका स्टलहरु रहेका थिए । सो प्रदर्शनीमा काठमाडौं उपत्यकामा सञ्चालित ५० वटा विद्यालयका झण्डै ५ हजार विद्यार्थी, अभिभावक र अन्य महानुभावहरुले सहभागीता जनाएका थिए । 

चीनका विश्व प्रसिद्ध र चीनमै नामकमाएकाविभिन्न ३१ वटा विश्व विद्यालयका स्टलहरु रहेका छन् ।