रुप्से र तातोपानीमा पूर्वाधार निर्माण गरिँदै
2024-06-19 15:38:44CRI
Share with:

काली गण्डकी कोरिडोरमा पर्ने प्रसिद्ध पर्यटकीय स्थल रुप्से झरना र सेर्काकु तातोपानी कुण्डमा अन्नपूर्ण गाउँपालिकाले पर्यटन पूर्वाधार निर्माण थालेको छ। रुप्से झरना र तातोपानीमा पर्यटनमैत्री पूर्वाधार निर्माण गरेर पर्यटक आकर्षित गर्ने उद्देश्य अनुसार गाउँपालिकाले भौतिक संरचनाहरु बनाउन सुरु गरेको हो । 

वडा नम्बर ३ दानामा रहेको रुप्से झरना र वडा नम्बर १ दोबास्थित कालीगण्डकी नदी किनारमा रहेको सेर्काकु तातोपानी कुण्डमा पर्यटन पूर्वाधार निर्माण गरेर पर्यटकीय स्थलका रुपमा थप विकास गर्न सङ्घ र पालिकाको लागत साझेदारीमा करिब साढे पाँच करोड रुपियाँभन्दा बढी खर्च गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो ।

रुप्सेमा पर्यटन पूर्वाधार निर्माणका लागि सङ्घीय सरकारबाट विशेष अनुदानका रुपमा प्राप्त भएको बजेट गाउँपालिकाले कार्यान्वयन गर्न लागेको उहाँले बताउनुभयो । रुप्सेमा पर्यटन पूर्वाधार निर्माणका लागि ३ करोड ६५ लाख रुपियाँ बराबरको लागत अनुमान गरिएकोमा ३ करोड २३ लाख ५५ हजार तीनसय ६९ रुपियाँमा २०८२ पुस २५ गतेभित्र योजना सम्पन्न गर्न गत जेठ ३० गते सुन्दर निर्माण सेवा कास्कीसँग ठेक्का सम्झौता भएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिनुभयो ।

गोरखापत्र अनलाइनका अनुसार सेर्काकु तातोपानी कुण्डमा पूर्वाधार निर्माणका लागि  एक करोड ९९ लाख रुपियाँ लागत अनुमान गरिएकोमा एक करोड १७ लाख ९० हजार ६ सय ८५ रुपियाँमा काम गर्न कालिगण्डकी निर्माण सेवा अर्थुङ्गे  छनौट भई ठेक्का सम्झौताको चरणमा छ। ठेक्का सम्झौता लगत्तै पूर्वाधार निर्माणको काम सुरु हुने गाउँपालिकाले जनाएको छ । सङ्घीय सरकारको समपुरक अनुदानबाट सञ्चालित  यो योजना २०८३ जेठ ३० गतेभित्र सम्पन्न गर्ने लक्ष्य छ। कालीगण्डकी कोरिडोर सडकको बायाँतर्फ कालीगण्डकी नदी किनारमा रहेका ससाना तातोपानीका मूलहरुलाई एक ठाउँमा लगेर व्यवस्थित तातोपानीको कुण्ड निर्माण गरिने सब इन्जिनियर पौडेलले बताउनुभयो। छरिएर रहेका तातोपानीका मूलहरुलाई एकै ठाउँमा जम्मा पारेर ठूलो व्यवस्थित स्नानगृह निर्माण गरिनेछ।