जेठमा आयात–निर्यात बढे पनि समग्र वैदेशिक व्यापार घट्यो
2024-06-22 15:22:58CRI
Share with:

जेठमा आयात–निर्यात उलेख्य बढे पनि गत वर्षको तुलनामा समग्र वैदेशिक व्यापार घटेको छ । भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको ११ महिनाको तथ्यांकअनुसार सबैभन्दा धेरै जेठमा १ खर्ब ५० अर्ब ३४ करोडको वस्तु आयात भएको छ । १३ अर्ब ८ करोडको वस्तु निर्यात भएको छ । कान्तिपुर अनलाइनका अनुसार ११ महिनाको तुलना गर्दा आयात–निर्यात भएको रकम सबैभन्दा धेरै हो । 

वैशाखमा १ खर्ब ३५ अर्ब ९८ करोडको आयात र १२ अर्ब २२ करोडको निर्यात भएको विभागको तथ्यांक छ । जेठमा आइपुग्दा आयात–निर्यात धेरै बढेको छ । तर चालु आर्थिक वर्षको जेठसम्म भने १४ खर्ब ५३ अर्ब ७० करोडको आयात भएको छ । यो रकम ०७९/८० को ११ महिनाको तुलनामा १.८४ प्रतिशतले कमी हो । गत वर्षको ११ महिनामा १४ खर्ब ८० अर्ब ९८ करोडको वस्तु आयात भएको थियो । 

जानकारका अनुसार धान, मकै, गहुँ, तरकारी, फलफूलमा समेत परनिर्भर हुँदा आयात बढेको छ । तेलहनमा पनि आयातमै निर्भर हुनुपर्ने बाध्यता छ । तेस्रो मुलुकबाट कच्चा पदार्थका रूपमा आयात हुने भटमास, सनफ्लावर तेलले यहाँको स्वदेशको माग धानेको छ । यी वस्तुको उत्पादन बढाउन सके आयात घटाउन सकिने जानकार बताउँछन् । तर, उत्पादन बढाउन सकिएको छैन, जसले गर्दा अर्बौं रुपैयाँको कृषि वस्तु आयात भइरहेको छ । ११ महिनामा ११ अर्ब ५५ करोडको धान आयात भएको छ । अन्य कृषि वस्तुको आयातको अवस्था पनि उस्तै छ । समग्र निर्यात व्यापार पनि घटेको विभागको तथ्यांक छ । गत वर्षको ११ महिनामा १ खर्ब ४३ अर्ब ५८ करोडको निर्यात भएको वस्तु चालु आर्थिक वर्षको ११ महिनामा १ खर्ब ३९ अर्ब २६ करोडको निर्यात भएको छ । यो रकम ३.०१ प्रतिशतले कमी हो ।

आयात–निर्यात व्यापारसँगै मुलुकको व्यापार घाटा पनि घटेको छ । गत आर्थिक वर्षको ११ महिनामा व्यापार घाटा १३ खर्ब ३७ अर्ब ३९ करोड थियो । अहिले घाटा १.७२ प्रतिशतले घटेर १३ खर्ब १४ अर्ब ४४ करोड पुगेको छ ।

आयात व्यापारको अवस्था हेर्दा सधै झैं डिजेल पहिलो नम्बरमै छ । ११ महिनामा १ खर्ब २९ अर्ब २० करोडको वस्तु आयात भएको छ । डिजेलबाट सरकारले ५० अर्ब ४८ करोड राजस्व संकलन गरेको छ । ११ महिनामा ६२ अर्ब ८७ करोडको पेट्रोल आयात हुँदा सरकारले ३६ अर्ब ८ करोड राजस्व संकलन गरेको छ । 

५१ अर्ब ७ करोडको खाना पकाउने एलपी ग्यास आयात हुँदा ३५ अर्ब १३ करोडको स्टिल तथा आइरन आएको छ । ग्यासबाट ९ अर्ब ५२ करोड र स्टिल तथा आइरनबाट ४ अर्ब ९९ करोड राजस्व संकलन भएको विभागको तथ्यांक छ । यसैगरी २३ अर्ब ४७ करोडको औषधीजन्य पदार्थ आयात हुँदा सरकारले १ अर्ब २२ करोड राजस्व संकलन गरेको छ । विभागका अनुसार ११ महिनामा २२ अर्ब २५ करोडको सुन, १९ अर्ब ४६ करोडको हवाई इन्धन, १८ अर्ब ७२ करोडको इलेक्ट्रिक सवारी, १७ अर्ब २७ करोडको स्मार्टफोन र १५ अर्ब १६ करोडको कोइलालगायत आयात भएको छ । 

निर्यातमा भने अलैंची अग्रस्थानमा छ । निर्यात हुनेमा स्टिल तथा आइरन दोस्रो नम्बरमा पर्छ । यसैगरी कार्पेट, जुस र पाम तेल आयात भएको विभागले जनाएको छ ।

नेपालले १ सय ७० मुलुकसँग व्यापार गर्दै आएको छ । सबैभन्दा धेरै व्यापार भारतसँग हुन्छ । भारतबाट मात्रै ९ खर्ब ८ अर्ब २९ करोडको बस्तु आयात भएको छ । निर्यात व्यापारमा पनि भारतसँगै बढी हुन्छ । ११ महिनामा ९४ अर्ब ५१ करोडको वस्तु निर्यात भएको विभागको तथ्यांक छ ।

धेरै वस्तु आयात हुने मुलुकमध्ये दोस्रो नम्बरमा चीन पर्छ । चीनबाट २ खर्ब ७२ अर्ब ८१ करोडको वस्तु आयात भएको छ । निर्यातमा हुने मुलुकमध्ये दोस्रो नम्बरमा भने अमेरिका हो । ११ महिनामा अमेरिकामा १५ अर्ब ७५ करोडको वस्तु निर्यात भएको विभागको भनाइ छ ।