बाह्रबिसेमा २२० केभीको सबस्टेसन निर्माण सम्पन्न, मर्स्याङ्दी जलविद्युत् पूर्ण क्षमतामा सञ्चालित
2024-06-23 15:11:27CRI
Share with:

मर्स्याङ्दी जलविद्युत् केन्द्रले पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न थालेको छ । दैनिक रूपमा वर्षा हुने क्रम जारी रहेको तथा गर्मी बढेकाले हिमाल धेरै पग्लिएर नदीमा पानीको बहाव बढेपछि पूर्ण क्षमताको ६९ मेगावाट विद्युत् उत्पादन भएको केन्द्रले जनाएको छ। 

सुक्खायाममा हिउँ कम पग्लने र नदीमा मिसिएका खोला, खोल्सी र झरनाको पानी कम हुँदा घटेर ३० मेगावाट पुगेकोमा  हाल बढेर पूर्ण क्षमतामा उत्पादन भएको केन्द्रका प्रमुख पशुपति गौतमले बताउनुभयो । गौतमका अुनसार तीन वटा युनिटबाट २३/२३ मेगावाटका दरले पूर्ण क्षमता अनुरूपको ६९ मेगावाट विद्युत् उत्पादन भइरहेको उहाँले जानकारी दिनुभयो। मर्स्याङ्दी हिमालबाट बगेर आएको नदी भएकाले गर्मी मौसममा तापक्रम बढ्दै जाँदा हिउँ धेरै पग्लिने र वर्षा धेरै हुँदा यसका सहायक नदी, खोलामा पानीको बहाव बढेसँगै विद्युत् उत्पादन बढ्छ।

केन्द्रका अनुसार धेरै बाढी आएका बेला गेग्राङहरू थेग्राउने र काठ दाउरा निकाल्न मिल्ने गरी दुई वटा फ्लाट गेट रहेकाले हाल पूर्ण क्षमतामा नै उत्पादन भइरहेको छ । गर्मी मौसममा तापक्रम बढ्दै जाँदा हिउँ पनि बढी पग्लिने र वर्षा धेरै हुँदा नदीमा मिसिने अन्य खोलानाला पानी धेरै हुने भएकाले नदीमा पानीको बहाव बढ्दा उत्पादन बढेको केन्द्रले जनाएको छ। 

केन्द्रका अनुसार सुक्खायाममा भने हिउँ कम पग्लने र नदीमा मिसिएका खोला, खोल्सी र झरनाको पानी कम हुने भएकाले पानीको बहाव थोरै हुने हुँदा विद्युत् उत्पादन घट्छ। यस केन्द्रबाट उत्पादित विद्युत् चितवनको भरतपुरबाट काठमाडौँको स्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको गोरखापत्र अनलाइनले जनाएको छ।

यसैबीच सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा २२०-१३२ केभी सबस्टेसन निर्माण सम्पन्न भएको छ। बाह्रबिसे सबस्टेसनमा २२०-१३२ केभी, १६० एमभीए र १३२-११ केभी, ५ एमभीएका पावर ट्रान्सफर्मर छन्।

ग्याँस इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित सब स्टेसनका सम्पूर्ण उपकरणहरूको परीक्षण सम्पन्न भइसकेको छ। बाह्रबिसेमै ४०० केभीको अर्को सबस्टेसन पनि निर्माणाधीन छ। नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माण गरिएको १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको विद्युत् यही सबस्टेसनमा जोडिनेछ । मध्यभोटेकोशी जलविद्युत आयोजनाबाट विद्युत् उत्पादन सुरु भएपछि  सोही विद्युत् प्रयोग गरी बाह्रबिसे सब स्टेसनलाई चार्ज गरिनेछ । 

निर्माण सम्पन्न भएको मध्यभोटेकोशीबाट विद्युत् उत्पादनका सुरु गर्न संरचना तथा उपकरणहरू परीक्षणका क्रममा पानी हाल्दा सुरुङ चुहिएपछि हाल सुरुङको मर्मत भइरहेको छ । सुरुङ मर्मत आगामी भदौ दोस्रो साताभित्र सक्ने लक्ष्य राखी काम भइरहेको छ । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिवार सबस्टेसन, प्रसारण लाइन र मध्यभोटेकोशीको सुरुङ मर्मत कार्यको अनुगमन गरी तोकिएको समयभन्दा अघि नै सम्पूर्ण काम सम्पन्न गर्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई आग्रह गर्नुभयो । कार्यकारी निर्देशक घिसिङले बाह्रबिसे सब स्टेसन निर्माण सम्पन्न भइसकेकाले मध्यकोटेकोशीबाट उत्पादित विद्युत् प्रवाहका लागि समस्या नरहेको उल्लेख गर्नुभयो । 

मध्यभोटेकोशीबाट उत्पादित विद्युत् २२० केभी प्रसारण लाइनमार्फत बाह्रबिसे सबस्टेसनमा जोडिनेछ। आयोजनाले आफ्नो विद्युतृगृहको स्वीचयार्डबाट बाह्रबिसे सबस्टेसनसम्मको करिब ४ किलोमिटर लामो २२० केभी सिङ्गल सर्किट प्रसारण लाइनको टावरहरू निर्माण गरिसकेको छ । प्रसारण लाइनको करिब २ किलोमिटर तार तानिएको छ ।बाह्रबिसे नगरपालिका–३ र ४ स्थित पलाँतीका स्थानीय बासिन्दाको अवरोधका कारण आयोजनाले २ किलोमिटर तार तान्न सकिरहेको छैन ।मध्यभोटेशीको विद्युत् प्रवाहका लागि अस्थायी रूपमा वैकल्पिक व्यवस्था गरिएको छ ।

२०० केभी प्रसारण लाइनबाट बाह्रबिसे सब स्टेसनमा पुगेको विद्युत्लाई सोही सब स्टेसनमार्फत १३२ केभीमा झारेर १३२ केभी प्रसारण लाइनबाट प्रवाह गरिने छ । यसका लागि २२ मेगावाटको माथिल्लो चाकु ए जलविद्युत आयोजनाको प्रवर्द्धक कम्पनी  शिव श्री हाइड्रोपावरले निर्माण गरेको १३२ केभी सिङ्गल सर्किट प्रसारण लाइनलाई डबल बनाएर बाह्रबिसे सब स्टेसनमा लगिने छ । सोही प्रसारण लाइनबाट मध्यभोटेकोसीको विद्युत् लामो साँघु सब स्टेसन हुँदै राष्ट्रिय प्रणालीमा समाहित गरिने छ । अस्थायी वैकल्पिक व्यवस्था खिम्ती–बाह्रबिसे वा बाह्रबिसे–काठमाडौँ प्रसारण लाइन सम्पन्न नभएसम्म रहनेछ । उक्त लाइनहरू सम्पन्न भएपछि सोहीमार्फत विद्युत् प्रवाह हुने छ । 

तामाकोशी–काठमाडौँ २२०-४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत रामेछापस्थित नयाँ खिम्ती सब स्टेसनबाट बाह्रबिसेसम्म ४३ किलोमिटर प्रसारण लाइन निर्माणाधीन छ। प्रसारण लाइनमा पर्ने ११८ वटा टावरहरूमध्ये २ वटाको मात्र निर्माण बाँकी छ । नयाँ खिम्ती सब स्टेसन नजिक स्थानीयको अवरोधका कारण एउटा टावर निर्माण हुन सकिरहेको छैन।

सोही क्षेत्रमा प्रसारण लाइनको मार्गधिकारमा पर्ने जग्गाधनीहरूले जग्गाको शतप्रतिशत क्षतिपूर्तिको माग गरेका कारण १‍.३ किलोमिटर तार तान्न समस्या छ । ४३ किलोमिटर प्रसारण लाइनमध्ये ३४ किलोमिटर तार तानिएको छ । 

त्यस्तै बाह्रबिसेबाट काठमाडौँको लप्सीफेदीसम्मको ४६ किलोमिटर ४०० केभी डबल सर्किट प्रसारण लाइन  निर्माण अन्तिम चरणमा छ । ४६ किलोमिटर प्रसारण लाइनमा पर्ने १२२ वटा टावरमध्ये लप्सी फेदीका स्थानीयको अवरोधका कारण ५ वटा टावर निर्माण बाँकी छ । अहिले स्थानीयको अवरोध हटिसकेकाले टावर प्याड निर्माणका लागि जग्गा अधिग्रहण गर्न मुआब्जा निर्धारणको प्रक्रियामा रहेको आयोजना प्रमुख नितेश पौडेलले बताउनुभयो। ४६ किलोमिटर प्रसारण लाइनमध्ये ४२ किलोमिटर तार तानिसकिएको छ।

आयोजनामा नेपाल सरकार तथा प्राधिकरणको लगानी र  एसियाली विकास बैकको सहुलियतपूर्ण ऋण छ।