अर्थसचिव मधुकुमार मरासिनीले आर्थिक वृद्धिदर ७ प्रतिशतसम्म पुर्याउन सकिने बताउनुभएको छ। नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आइतबार आयोजना गरेको नेपाली बैंकिङ क्षेत्रमा जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापन विषयक छलफल कार्यक्रममा उहाँले आर्थिक वृद्धिदरको लक्ष्य ६ प्रतिशत राखिए पनि ७ प्रतिशत पुर्याउने सम्भावना देखिएको दाबी गर्नुभएको हो।
‘पछिल्लो समय अर्थतन्त्र सुधार हुँदै गएकाले आर्थिक वृद्धिदर ७ प्रतिशतसम्म पुर्याउन सकिन्छ’, उहाँले भन्नुभयो, ‘हामीले ६ प्रतिशतको मात्रै लक्ष्य राखेका छौँ, त्योभन्दा पनि बढी हासिल गर्ने गरी काम गर्न सकिने स्थिति बनिरहेको छ।’
उहाँले अहिले अर्थतन्त्र सही मार्गमा अघि बढेको र आर्थिक गतिविधि बढ्ने स्थिति बनिसकेको दाबी गर्नुभयो। तर, त्यसलाई तीव्रता दिन र अर्थतन्त्रमा चाँडो सुधार ल्याउन हाल चलिरहेको भाष्यमा सुधार ल्याउन आवश्यक रहेको टिप्पणी गर्नुभयो।
अर्थसचिव मरासिनीले भन्नुभयो, ‘यो भाष्यलाई परिवर्तन गर्नुपर्छ, अर्थतन्त्र कन्फिडेन्सले पनि चल्ने हो। मुहार हेरेर पनि कारोबार गर्नुपर्ने अवस्था आउन सक्छ। बैंकर साथीहरूले पनि यो विषयमा मनन गर्नुपर्छ।’
यस्तै, उहाँले पछिल्ल्लो समय बैंकका लिलामीका सूचना देख्दा दुःख लाग्ने गरेको अनुभव सुनाउँदै यो समस्या समाधानका लागि सबैको सहकार्यमार्फत अगाडि बढ्नुपर्ने भनाइ राख्नुभयो। यस्तै, उहाँले प्रतिव्यक्ति आयको हिसाबमा एसियामा नेपाल केही पछाडि भए पनि वित्तीय स्थिरता तथा आधारभूत सूचकमा अन्य देशभन्दा अगाडि नै रहेको जिकिर गर्नुभयो। उहाँले पछिल्लो समय अधिकांश मानिसले बजेटको भन्दा मौद्रिक नीतिमा विश्वास गर्दा चिन्ता र चुनौती दुवै थपिएको बताउनुभयो।


