नेपालमा चीन र भारतबाट उच्च आयात हुने सूचीमा विद्युतीय सवारी
2024-06-23 15:03:35CRI
Share with:

विद्युतीय सवारीमा नेपालीको मोह बढ्न थालेको छ । विद्युतीय सवारीको पूर्वाधारसमेत विस्तार हुने क्रम बढ्दै जाँदा यसको व्यापार उकालो लागिरहेको तथ्याङ्कले देखाउँछ । बढ्दो आकर्षणका कारण विद्युतीय सवारीको आयात पनि निरन्तर बढिरहेको भन्सार विभागको पछिल्लो तथ्याङ्कले पुष्टि गर्छ । 

विभागले सार्वजनिक गरेको चालु आव २०८०/८१ को एघार महिना (जेठ) सम्मको भन्सार तथ्याङ्क अनुसार करिब २९ अर्ब रुपियाँ बराबरको चारपाङ्गे्र विद्युतीय सवारी आयात भएको छ । गोरखापत्र अनलाइनका अनुसार विद्युतीय सवारी नेपालमा सबैभन्दा उच्च आयात हुने वस्तुको १० वटा सूचीभित्र परेको छ । 

विभागका अनुसार ११ महिनाको अवधिमा नेपालले ५० किलोवाटदेखि एक सय किलोवाट क्षमताका १९ अर्ब ६७ करोड रुपियाँको चारपाङ्गे्र विद्युतीय सवारी आयात गरेको छ । चारपाङ्गे्र सवारीसाधन अन्तर्गत कार, जिप, भ्यानलगायतका सवारीलाई वर्गीकरण गरिएको छ । यसबाहेक ५० किलोवाट क्षमतासम्मका त्यस्ता सवारी आठ अर्ब १६ करोड रुपियाँ बराबरको आयात भएको पनि विभागको तथ्याङ्कमा उल्लेख छ । 

१०१ किलोवाटदेखि दुई सय किलोवाट क्षमताका सवारी भने केवल ९५ करोड रुपियाँको मात्र आयात भएको देखिन्छ । त्यसपछि २०१ किलोवाटदेखि तीन सय किलोवाटसम्म २० करोड रुपियाँको सवारी आयात भएको छ । तीन सय किलोवाटभन्दा माथिको सवारी भने केवल एक करोड २७ लाख रुपियाँको मात्र आयात भएको देखिन्छ । विद्युतीय सवारीको ब्याट्री क्षमता बढ्दै जाँदा आयात पनि घट्दै गएको प्रवृत्तिलाई तथ्याङ्कले पुष्टि गर्छ । सबैभन्दा धेरै आकर्षण भने ५१ किलोवाटदेखि एक सय किलोवाटसम्मको क्षमतासहितका सवारीमा देखिन्छ । 

कुल आयात भएका विद्युतीय सवारीमध्ये सबैभन्दा धेरै चीनबाट करिब २१ अर्ब रुपियाँको सवारी आयात भएको देखिन्छ। चीनबाट मुख्य गरी ५१ किलोवाटदेखि एक सय किलोवाटसम्मका १८ अर्ब ७२ करोड रुपियाँका सवारी आयात भएका छन् । त्यस्तै दुई अर्ब ६८ करोड रुपियाँ बराबरका ५० किलोवाटसम्मका सवारी चीनबाट आयात भएको विभागको तथ्याङ्कले देखाउँछ । 

चीनपछि भारतबाट छ अर्ब रुपियाँ बराबरका विद्युतीय सवारी आयात भएको छ । भारतबाट खास गरी ५० वाट क्षमतासम्मका सवारी आयात भएको देखिन्छ । 

विभागका अनुसार ती क्षमतासम्मका पाँच अर्ब १८ करोड रुपियाँ बराबरका सवारी भारतबाट आयात भएका छन्। यसबाहेक नेपालमा दक्षिण कोरिया, इन्डोनेसिया, जर्मनी, संयुक्त राज्य अमेरिकाबाट पनि विद्युतीय सवारी आयात भइरहेको देखिन्छ ।