नेपालका राष्ट्रपति र परराष्ट्रमन्त्रीसँग चीनका उपविदेशमन्त्री सुन वेइतोङको शिष्टाचार भेट
2024-06-26 16:04:13cri
Share with:

नेपालका राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहनुभएका मित्रराष्ट्र चीनका उपविदेशमन्त्री सुन वेइतोङले बुधवार राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गर्नुभएको छ। सो भेटमा दुईपक्षीय हित, सहयोग र सम्बन्धका विविध पक्षमा कुरा भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको गोरखापत्र अनलाइनले लेखेको छ।  भेटमा राष्ट्रपति पौडेलले मित्रराष्ट्र चीन नेपालको प्रमुख एवं लामो समयदेखिको विकास साझेदार रहिआएको र यसले सधैँ नेपालको विकास प्रयासमा योगदान पुर्याएको बताउनुभयो। उहाँले नेपाल सन् २०२६ सम्म अल्पविकसित देशको श्रेणीबाट स्तरोन्नति हुन गइरहेको सन्दर्भमा र त्यसपछि पनि चीनले थप सहयोग जारी राख्ने विश्वास व्यक्त गर्नुभएको थियो।

उहाँले नेपाल र चीनबिच जनस्तरमा अत्यन्त सुमधुर सम्बन्ध रहिआएको उल्लेख गर्दै चिनियाँ तथा नेपाली भिक्षु, भृकुटी र कलाकार अरनिकोलगायतले दुई देशबिचको  जनस्तरको सम्बन्ध र सांस्कृतिक आदानप्रदानलाई समृद्ध बनाउन ठुलो योगदान दिएको पनि बताउनुभएको थियो।

यसैबीच उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चीनका उपविदेशमन्त्री सुन वेइतोङबिच पनि शिष्टाचार भेटवार्ता भएको छ। बुधबार सिंहदरबारस्थित मन्त्रालयमा उपप्रधानमन्त्री श्रेष्ठ र उपविदेशमन्त्री सुन वेइतोङबिच शिष्टाचार भएको हो। भेटमा दुई पक्षीय हित, सहयोग र सम्बन्धका विविध पक्षमा छलफल भएको छ। भेटका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चीनले नेपालमा लामो समयदेखि विभिन्न क्षेत्रमा सहयोग गरिरहेको बताउनुभयो।

उहाँले नेपालको विकासका विभिन्न क्षेत्रमा सहयोग गरिरहेको र आगामी दिनमा पनि विकासमा निरन्तरता दिन आग्रह गर्नुभयो। साथै नेपालसँगका विभिन्न सीमा नाकाहरु सुचारु गर्ने सम्बन्धमा पनि छलफल भएको बताइएको छ।