चिनियाँ राष्ट्राध्यक्ष सी र भियतनामका प्रधानमन्त्री फाम मिन्ह चिनबीच भेटवार्ता
2024-06-26 21:02:28cri
Share with:

जुन २६ को दिउँसो चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले पैचिङमा ग्रीष्मकालीन दाभोस मञ्चमा भाग लिन चीन आउनुभएका भियतनामका प्रधानमन्त्री फाम मिन्ह चिनसँग भेटवार्ता गर्नुभएको छ।

भेटवार्तामा राष्ट्राध्यक्ष सीले आपसी सम्बन्धबारे चर्चा गर्दै भन्नुभयोः वर्तमान विश्व एक शताब्दीमा तीव्र गतिमा परिवर्तन भइरहेको क्रममा चीन र भियतनामले समाजवादी व्यवस्थाको श्रेष्ठता प्रदर्शन गर्दै तीव्र आर्थिक विकास र दीर्घकालीन सामाजिक स्थिरतालाई कायम राखिरहेका छन्। रणनीतिक महत्व भएको चीन–भियतनाम संयुक्त भाग्य समुदायको निर्माण गर्नु नै दुई देशको आ–आफ्नो आधुनिकीकरण अभियानको आवश्यकतासँग अनूकल भएको छ। साथै क्षेत्रीय शान्ति र स्थिरतालाई कायम राख्न र विश्वमा समाजवादको महान कार्यको विकासलाई प्रबर्द्धन गर्नका लागि हितकर छ। चीनले भियतनामसँगको रणनीतिक मार्गनिर्देशनलाई मजबुत बनाउँदै पारस्परिक हितयुक्त सहयोगलाई प्रगाढ बनाएर आधुनिकीकरणको दिशामा सँगै काम गर्ने इच्छा लिएको छ। साथै विश्व शान्ति, स्थिरता, विकास र समृद्धिमा अझ ठूलो योगदान गर्न पनि चीन तत्पर छ।

सो अवसरमा भियतनामका प्रधानमन्त्री फाम मिन्ह चिनले यसरी भन्नुभयोः पार्टीको संचालन र देशको शासनव्यवस्थामा चीनको नयाँ सिद्धान्त, अभ्यास र उपलब्धिबाट सिक्दै भियतनामले समाजवादी मार्गमा चीनसँगै हिँडेर साझा विकासलाई हासिल गर्ने आशा राखेको छ। भियतनामलाई राष्ट्रिय स्वाधीनता र विकास हासिल गर्न अमूल्य सहयोग गरेकोमा चिनियाँ पार्टी र सरकारलाई पनि उहाँले धन्यवाद दिनुभयो। उहाँले अगाडी भन्नुभयोः भियतनामले थाइवान मुद्दामा चीनको अडानलाई समर्थन गर्दै एक चीन सिद्धान्तको दृढतापूर्वक पालना गर्दछ, र भियतनाम-चीन रणनीतिक पारस्परिक विश्वास र व्यावहारिक सहयोगलाई गहिरो बनाउँदछ। यसैगरी रणनीतिक महत्वको संयुक्त भाग्य समुदायको निर्माणलाई भियतनामको विदेश नीतिको सर्वोच्च प्राथमिकता र रणनीतिक छनौटको रूपमा मान्दछ। भियतनाम-चीन संयुक्त भाग्य समुदायलाई गम्भीरतापूर्वक अगाडि बढाउन चीनसँग काम गर्न तयार छ।