नेपालमा सबैभन्दा बढी चीनबाट स्मार्टफोन आयात
2024-06-29 17:10:08cri
Share with:

चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म नेपालमा २६ अर्ब ३३ करोड १० लाख रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको छ। भन्सार विभागका अनुसार ११ महिनाको अवधिमा १७ लाख १० हजार १३५ वटा स्मार्टफोन आयात भएको कान्तिपुर अनलाइनले लेखेको छ।

सरकारले स्मार्टफोन आयात गरेबापत ४ अर्ब ९० करोड ३८ लाख रुपैयाँ बराबरको राजस्व उठाएको छ। मुलुकमा ६१ वटा देशबाट स्मार्टफोन आयात गरिएको विभागको तथ्यांक छ। सबैभन्दा बढी चीनबाट १७ अर्ब २७ करोड ५२ लाख रुपैयाँ बराबरको १२ लाख ३७ हजार ९६० वटा स्मार्टफोन आयात भएको विभागको तथ्यांक छ।

भारतबाट ८ अर्ब ६३ करोड २० लाख रुपैयाँ बराबरको ४ लाख ६७ हजार २२४ वटा स्मार्टफोन आयात गरिएको छ। अमेरिकाबाट ८ करोड ४४ लाख रुपैयाँ बराबरको ९०५ वटा, जापानबाट ६ करोड ६६ लाख रुपैयाँ बराबरको ८८७ वटा स्मार्टफोन आयात गरिएको छ।

भियतनामबाट ५ करोड ७६ लाख रुपैयाँको ४७५ वटा, यूएईबाट ५ करोड ६८ लाख रुपैयाँको ६४२ वटा, अस्ट्रेलियाबाट ३ करोड ८३ लाख रुपैयाँ बराबरको ३६६ वटा, कोरियाबाट २ करोड ६६ लाख रुपैयाँको ४१९, कतारबाट १ करोड ९३ लाख रुपैयाँ बराबरको २७५, बेलायतबाट १ करोड ५१ लाख रुपैयाँ बराबरको १६१ वटा स्मार्टफोन आयात गरिएको छ।