नेपालमा विदेशी मुद्रा सञ्चितिमा ११ महिनादेखि कीर्तिमान
2024-06-30 17:45:38cri
Share with:

पछिल्ला ११ महिनायता नेपालको विदेशी मुद्रा (विनिमय) सञ्चितिले लगातार नयाँ रेकर्ड बनाउँदै आएको छ । रेमिट्यान्स निरन्तर बढिरहेको, पर्यटन क्षेत्र तंग्रिन थालेको, आयात लगातार घटिरहेकोलगायत कारण उक्त अवधिमा विदेशी मुद्रा सञ्चितिले निरन्तर नयाँ रेकर्ड बनाउँदै आएको कान्तिपुर अनलाइनले लेखेको छ ।

करिब २५ महिनाअघि विदेशी मुद्रा सञ्चितिको अवस्था नाजुक थियो । आर्थिक वर्ष ०७९/७९ मा सञ्चिति घटेर ११ खर्ब ४६ अर्ब (९ अर्ब २५ करोड अमेरिकी डलर) कायम भएको थियो । लगातार सञ्चितिमा कमी आएपछि सरकारले १० प्रकारका वस्तु आयातमा प्रतिब्न्ध लगाएको थियो भने राष्ट्र बैंकले पनि प्रततिपत्र खोल्दा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो ।

नीति निर्माताहरूले विदेशी मुद्रा सञ्चिति घट्दै गएकाले देश श्रीलंका बन्ने डर फैलाइरहेका थिए । सोही कारण सरकारले आयात घटाउने कसिलो नीति अवलम्बन गरेको थियो । सरकारले उक्त निर्णयले आयातमा कमी आउँदा आर्थिक गतिविधिमा सुस्तता आयो । यद्यपि सरकारको चासो रहेको विदेशी मुद्रा सञ्चितिमा सुधार आउन थाल्यो ।

अहिले परिस्थिति बदलिएको छ । बढी आयात भएको वा अरु कुनै कारणले मुलुकबाट केही बढी विदेशी मुद्रा बाहिर जाँदा विदेशी मुद्रा सञ्चिति चापमा पर्ने अवस्था छैन । राष्ट्र बैंकका अनुसार गत वैशाखसम्म १९ खर्ब ४२ अर्ब ४० करोड रुपैयाँ पुगेपछि ११औं पटक फेरि नयाँ कीर्तिमान बनेको हो । यसरी हरेक महिना विदेशी विनिमयमा हरेक महिना नयाँ कीर्तिमान बन्नुको मुख्य कारण रेमिट्यान्स आप्रवाहमा हुँदै आएको निरन्तर वृद्धि नै रहेको नेपाल राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ ।

नेपालबाहेक अरू देशका मुद्रा नेपालका लागि विदेशी मुद्रा हुन् । यसलाई विदेशी विनिमय पनि भनिन्छ । निर्यात, पर्यटन, रेमिट्यान्स, वैदेशिक सहायता र अनुदान, वैदेशिक ऋण विदेशी प्राप्त गर्ने मुख्य स्रोत हुन् । पछिल्ला महिनामा पर्यटनमा सामान्य सुधारको संकेत देखिए पनि निर्यात र विदेशी सहयोग तथा अनुदानको अवस्था निकै नाजुक छ । तर पछिल्लो डेढ वर्षयता हरेक महिना एक अर्बभन्दा बढीले रेमिट्यान्स नेपाल भित्रिँदै आएको छ । मासिक रूपमा हेर्दा चालु आर्थिक वर्षका १० महिनामध्ये गत असोजमा सबैभन्दा धेरै १ खर्ब ३७ अर्ब रुपैयाँ र गत माघमा सबैभन्दा कम १ खर्ब ५ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । सोहीअनुसार गत वैशाखमा १ खर्ब १६ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

अघिल्लो महिना (गत चैत) को तुलनामा वैशाखमा रेमिट्यान्समा कमी आए पनि गत वर्षको १० महिनाको तुलनामा यस वर्ष रेमिट्यान्स २३.४ प्रतिशतले बढेको हो । यसरी रेमिट्यान्स आप्रवाह निरन्तर बढिरहेको र पर्यटनलगायत क्षेत्रमा आएको सुधारले त्यसमा केही भरथेग गरेकाले विदेशी मुद्रा सञ्चितिले हरेक महिना नयाँ कीर्तिमान बनाउँदै आएको जानकार बताउँछन् । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको १० महिनामा ११ खर्ब ९८ अर्ब ६० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत वर्षको तुलनामा यो १९.२ प्रतिशतको वृद्धि हो । अमेरिकी डलरमा रेमिट्यान्स १७.१ प्रतिशतले बढेर ९ अर्ब २ करोड पुगेको छ ।

मुलुकमा विदेशी मुद्रा सञ्चिति धेरै भएको अवस्थालाई अर्थतन्त्र बलियो भएको रूपमा हेरिन्छ । हामीले अन्य देशबाट वस्तु तथा सेवा आयात गर्दा विदेशी मुद्रामा भुक्तानी गर्नुपर्छ । विदेशी लगानी फिर्ता मात्र नभएर लगानीबापतको लाभांश फिर्ता लैजान पनि विदेशी मुद्रा चाहिन्छ । यसले पनि मुलुकमा लागि विदेशी मुद्रा सञ्चितिको महत्त्व पुष्टि हुन्छ । तर यहाँको विदेशी मुद्रा सञ्चिति नेपालकै नीतिगत कारणले भन्दा पनि बाहृय कारणले थुप्रिँदै गएकाले त्यसलाई नै देखाएर खुसी मान्नुपर्ने अवस्था नभएको जानकार बताउँछन् । विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च अवस्थामा छ ।

वैदेशिक ऋण र सहायता तथा अनुदान लक्ष्यभन्दा पनि निकै कम आइरहेको छ । अब आर्थिक वर्ष सकिन अब १५ महिना मात्र बाँकी छ । आर्थिक वर्षको अन्त्यसम्म विदेशी ऋण र वैदेशिक सहायता लक्ष्यको ५० प्रतिशतसम्म पनि पुग्दैन । बाह्य स्रोत उठाउन नसकेपछि सरकारको ध्यान आन्तरिक ऋणमा गयो । यसकारण अहिले पनि सरकारको कोष ऋणात्मक बन्न पुगेको जानकार बताउँछन् ।

राष्ट्र बैंकका अनुसार गत वैशाखसम्म अमेरिकी डलरमा विदेशी मुद्रा सञ्चिति १४ अर्ब ५४ करोड पुगेको छ । गत असारको तुलनामा यो २४.२ प्रतिशतले बढेको हो । ०८० असार मसान्तमा यस्तो सञ्चिति ११ अर्ब ७१ करोड डलर थियो । चालु आर्थिक वर्षको १० महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५.१ महिनाको वस्तु आयात र १२.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।

०८१ वैशाख मसान्तमा मुलुकमा रहेको विदेशी विनिमय सञ्चिति कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को अनुपातमा ३४ प्रतिशत हो । चालु आर्थिक वर्षमा राष्ट्र बैंकले कम्तीमा ७ महिनाको आयात धान्न पुग्ने विदेशी मुद्रा सञ्चिति कायम गर्ने लक्ष्य तय गरेको थियो । हाल सरकारले वैदेशिक रोजगारलाई प्रोत्साहन गर्ने नीति अवलम्बन गरेकाले रेमिट्यान्स बढेको र त्यसको सकारात्मक प्रभावस्वरूप विदेशी मुद्रा सञ्चिति बढेको, चालु खाता र शोधनान्तर बचतमा रहेकोलगायत बाह्य क्षेत्र बलियो हुँदै गएको नेपाल राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख प्रकाशकुमार श्रेष्ठले बताउनुभयो ।

‘सरकारले स्वदेशमै रोजगारी सिर्जना नगरेर वैदेशिक रोजगारलाई प्रोत्साहन गर्नु ठीक/बेठीक के हो, यसको असर दीर्घकालमा कस्तो हुन्छ भन्नेबारेमा तर्क गर्न सकिन्छ । तर सरकारकै नीतिका कारण रेमिट्यान्स बढेको र बाह्य क्षेत्र सबल बन्दै गएको हो,’ उहाँले भन्नुभयो । अहिले सरकारसँग वित्तीय ‘स्पेस’ छैन भन्ने पनि आएको छ ।

यस्तो अवस्थामा सरकारले नयाँ नीतिगत व्यवस्था गरेर विद्युत् प्राधिकरण, टेलिकम, आयल निगमलगायत सार्वजनिक संस्थानलाई स्रोत आर्थिक  वर्षश्यक भए सीधै ऋणपत्र (बन्ड) जारी गरेर स्रोत जुटाउन सक्ने व्यवस्था गर्न सक्छ । ‘निजी क्षेत्रलाई पनि ऊर्जा बन्ड जारी गर्न लगाएर जलविद्युत् आयोजनामा स्रोत जुटाउन सकिन्छ,’ उहाँले थप्नुभयो, ‘यस्ता ऋणपत्रमा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा रेमिट्यान्स कमाउने मान्छेले पनि लगानी गर्न सक्छ । यस्तो हुँदा सरकारको ऋण पनि बढ्दैन । मुलुकसँग भएको पुँजी परिचालन हुन्छ भने पूर्वाधार विकासमा पनि पुँजी अभाव हुँदैन ।’

राष्ट्र बैंकको मासिक प्रतिवेदनअनुसार रेमिट्यान्स निरन्तर बढिरहँदा शोधनान्तर स्थिति र चालु खाता निरन्तर बचतमा छन्, ब्याजदर घटिरहेको छ । तर सरकारी वित्ततिर हेर्दा अपेक्षित रूपमा पुँजीगत खर्च बढ्न सकेको छैन, राजस्व संकलनको अवस्था नाजुक छ । राजस्व संकलनले बल्लतल्ल चालु खर्च मात्र धान्न सकेको छ । अर्थतन्त्रको बाह्य क्षेत्र सबल बन्दै गएकाले सरकारलाई पूर्वाधार विकासमा खर्च गर्न पर्याप्त अवसर दिए पनि खर्च हुन नसक्दा आन्तरिक अर्थतन्त्रमा सुधार हुन नसकेको जानकार बताउँछन् ।