माटे खेलौना-२
2024-07-03 09:00:02cri
Share with:

यस चित्रमा रहेको माटे सुंगुर एकदमै अनौठो खालको देखिन्छ। एउटा सुंगुर अर्को सुंगुरको टाउकोमा अडिएको छ। दुइवटा सुंगुरको शरीर जोडिएको छ। यसबाट मानिसहरुले धेरै कल्पना गर्न सक्दछन्। त्यो खास गरी छोटो धर्को र थोप्लाको प्रयोगका आधारमा कोरिएको हो। सेतो रंगको प्रधानतामा रहेको त्यो माटाको सुंगुरका दुइवटा गोलाकारआँखा छन, त्यसको नाक लामो छोटो गरी फरक छ साथै दुइवटा कान पनि एउटा ठूलो र अर्को सानो साथै एउटा अगाडि छ भने अर्को अर्कै दिशातिर फर्किएको देखिन्छ। हेर्दा त्यो मजालाग्दो छ। खश्रो तर हांसो उठ्दो भावमा निकै मसिनो र उदार देखिन्छ त्यो। रंग त्यतिको धेरै नलगाइए पनि त्यो रंगीचंगी भएको जस्तो अनुभव हुन्छ। 

मध्य चीनको ह नान प्रान्तको च्युन् जिल्लामा पाइने माटे खेलौनाको विकास क्रम तथा फैलिने प्रक्रिया तत्स्थानको चालचलनसित सम्बन्धित छ। माटे खेलौनालाई स्थानीय बोलीमा " नी कु कु", " ची ची कु कु" र " कु कु ची " भनिन्छ। चिनियाँ चन्द्रमाषमा आधारित पात्रो अनुसार प्रत्येक वर्षको पहिलो महिनाको पूर्णिमाको दिनमा पर्ने युआन स्याओ चाड अर्थात् दिपावलीको दिन वा स्थानीय रितिरिवाज अनुसार सातौं महिनाको पूर्णिमाको दिनमा पर्ने भूत दिवसका उपलक्ष्यमा च्युन जिल्लामा आयोजित विभिन्न मेलामा जताततै माटे सिटी र कु कु ची जस्ता माटे खेलौनाहरुको बिक्री गरिन्छ। ती खेलौनाहरु मुख्यतः बिहे भएपछि बच्चा पाउन नसकेका वा बढीभन्दा बढी सन्तान पाउँ भन्ने इच्छा भएका गाउँले महिलाहरुले किनेर लान्छन्।

च्युन जिल्लाका माटे खेलौनाहरु खास गरी माटो मुछेर बनाइएको नमुनामा चप्स्टिकले कुंदेर वा कोरेर सियांलमा सुकाइएपछि तयार भएका हुन्। पींधमा गाढा कालो, गाढा खैरो वा रातो रंग लगाइएपछि फेरि प्याजी रंग, फिक्का पहेंलो रंग, फिक्का हरियो रंग र सेतो रंगको प्रयोग गरी बुट्टा भरिन्छ। तिनमा अभिव्यक्त गरिएका विषयवस्तुहरु नाना थरिका छन्। ती हेर्दा रंगीचंगी भए पनि तीनमा आदिमपन देखिन्छ र तिनको रुप-ढाँचा पनि प्राचीन र अव्यक्त जस्तो देखिन्छ।
चित्रमा अंकित विषयवस्तु चीनको दन्त्य कथामा उल्लिखित अष्ट अमरत्वमध्येका तीनजना हान स्याङ्ग च्, चाङ्ग को लाउ र हान चोंग ली हुन्। ती तीनजना मानिस हेर्दा एकदमै निर्मल, सादा देखिन्छन र तिनीहरु केटा-केटीजस्ता र माया लाग्दा देखिन्छन्। विशेष गरी तीमध्येको चाङ्ग को लाउ भन्ने पात्रले पछाडिपट्टि फर्केर गधा चढेको आकृति हेर्न लायकको छ। त्यसको रंगमा आदिमपना छ साथै फरक रंगबीच स्पष्ट भेद देखिन्छ। चीनको लोक दुनियाँमा विभिन्न सामग्रीमा फरक-फरक शैली र फरक-फरक कलात्मक तरीकाद्बारा अष्ट अमरत्वको आकृति बनाइएका हुन्छन्। ती मूर्तीहरुबाट लोक कालीगडहरुले स्वभाव, चरित्र, अभिरुचि र सुन्दरताप्रतिको धारणा जस्ता पक्षहरुमा फरक-फरक विशेषता देखाएका छन्। यस चित्रमा देखिएका अष्ट अमरत्व देवतामा देखिने भाव त्यति गम्भीर छैन, बरु ती स्थानीय गाउँले जस्तै देखिन्छन्।