कर्णाली प्रदेशको सुर्खेतमा ‘उद्यमशीलता प्रेरणा सम्मेलन’ हुँदै
2024-07-03 16:08:39cri
Share with:

सुर्खेतमा 'एन्टरप्रेनरसीप मोटिभेशनल कन्क्लेभ' (उद्यमशीलता प्रेरणा सम्मेलन) हुने भएको छ। राष्ट्र निर्माण मञ्च नेपाल र उद्यमशील युवा सृजनशील युवा राष्ट्रिय अभियानको संयुक्त आयोजनामा बुधवार (भोलिदेखि) उद्यमशीलता प्रेरणा सम्मेलन हुन लागेको सम्मेलनका संयोजक भूपेन्द्रजंग शाहीले जानकारी दिनुभयो।

 

उहाँका अनुसार युवाहरूमा उद्यमशीलताको भावना विकास गर्नु, पुँजी निर्माण र रोजगारी सिर्जना गर्नु सम्मेलनको मुख्य उद्देश्य हो।देशको वर्तमान प्रमुख मुद्दा भनेको आर्थिक समृद्धि हो, आर्थिक समृद्धिबिना देशको विकास र नागरिकको जीवनस्तरमा रूपान्तरण सम्भव देखिँदैन,’ उहाँले भन्नुभयो, ‘यसै सन्दर्भमा हामीले यो उद्यमशीलता अभियान थालनी गरेका हौं।

 

उद्यम गर्ने सोच बनाएका युवाहरूले भोग्नुपरेको अवरोध हटाउन सम्मेलनले सहयोग गर्ने आयोजकको दाबी छ। सम्मेलनमा नीति निर्माता, बजार निर्माता र उद्यमीहरूको सक्रिय सहभागिता रहने समेत जनाइएको छ। संयोजक शाहीका अनुसार सम्मेलनमा विभिन्न मन्त्रालयलगायत देशका नीति निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्तित्वहरूको सहभागिता रहनेछ।यस्तै, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष, विभिन्न बैंकका सिइओ, ठुला उद्यमीलगायतको सहभागिता रहने छ।

 

सम्मेलनका क्रममा राष्ट्रिय, प्रदेश र स्थानीय तहका उद्यमशील व्यक्ति, नीति निर्माताहरूसँग चरणबद्ध छलफल गरिनेछ। सम्मेलनका क्रममा हुने बहसमा उद्यमशीलता र आर्थिक विकाससँग सम्बन्धित विज्ञ र सरोकारवालाहरूले भाग लिनेछन्।

यो सम्मेलन राष्ट्रिय स्तरमा केही समयअघि काठमाडौंमा गरिएको थियो। प्रदेश स्तरमा गरिने यो सम्मेलन कर्णालीबाट सुरू गरिएको शाहीले बताउनुभयो। सम्मेलन देशका सात वटै प्रदेशमा हुने सेतोपाटी अनलाइनले जनाएको छ।