नेपाल-चीन सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने थप अवसरहरू आएको विज्ञहरूको भनाइ
2024-07-03 16:08:06cri
Share with:

नेपालचीन मामिलाका विज्ञहरुले दुई देशबीचको सम्बन्धमा बौद्ध धर्म शताब्दीऔंदेखि एउटा महत्त्वपूर्ण सेतुको रूपमा रहेपनि त्यसमा अब आपसी रणनीतिक साझेदारी जोडिएको बताएका छन्। बीपी कोइराला स्कुल अफ पब्लिक पोसिलीले सोमबार आयोजना गरेको संस्कृति र संवाद सम्मेलनकी प्रमुख अतिथि कांग्रेस नेत्रा तथा पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालाले ऐतिहासिक रेशमी मार्गका क्रममा बनेका कोरिडोरहरूदेखि बेल्ड एन्ड रोडको समयसम्म आइपुग्दा सम्बन्धलाई नयाँ शिरामा पुर्‍याउने थप अवसरहरू बनेको उल्लेख गर्नुभयो।

 

'चीन अहिले वैज्ञानिक जगतको विश्वशक्ति समेत हो । उसको आर्थिक क्षमताले विश्वराजनीति नै समेत बदलिरहेको छ । आर्थिक सहयोग र प्रविधि हस्तान्तरणकोअवसर विशाल छ,' कोइरालाले भन्नुभयो 'हामीले ट्रान्स हिमालयन सहकार्यमा बाचा गरेका कैयौं परियोजनालाई कार्यान्वयनमा लैजानुपर्ने अहिले ठूलो आवश्यकता हो ।'

 

भिन्न राजनीतिक र आर्थिक प्रणालीबीच पनि नेपालचीन सम्बन्ध सदा प्रगाढ रहनु नै आपसी सहकार्यले नयाँ उचाइ लिन सक्ने सम्भावनाको झल्को रहेको नेत्रृ कोइरालाले बताउनुभयो।

 

त्यस्तै कार्यक्रममा दक्षिण एसिया मामिला र चीनतिब्बती संस्कृतिकी विज्ञ एवं सिचुवान विश्वविद्यालयकी प्राध्यापक ली ताओले प्राचीन समयदेखिका व्यापार मार्गमार्फत दुई देशमा बौद्ध धर्म फैलिरहँदा त्यससँगै आपसी सम्बन्धको बलियो जग स्थापित बनेको उल्लेख गर्नुभयो। 'त्यस क्रममै भिक्षु, अध्येता र व्यवसायीहरूमार्फत हाम्रा पुरातात्त्विक शैली र खानपानका प्रभाव समेत आदानप्रदान भएका हुन्। त्यसैले अझैसम्म पनि हाम्रो सांस्कृतिक अन्तर्सम्बन्ध गतिसिल छ,' साउथ एशियन सोसाइटी अफ चाइनाकी उपमहासचिव समेत रहेकी ताओले भन्नुभयो।

तर पछिल्ला दिनमा त्यो ट्रान्स हिमालयन सहकार्यका रूपमा आर्थिक गतिविधिमा मात्र नभएर बृहत् जनस्तरका सम्बन्ध विस्तारमा केन्द्रित भएको प्राध्यापक ताओले बताउनुभयो। त्यसलाई हिमालवाद बताउँदै ताओले पश्चिमा दृष्टिका ‘क्षेत्रीय सहकार्यको साटो भूगोल र संस्कृतिले जोडेको हिमालवाद मार्फत हिमाल वारपारका सम्बन्ध सुल्झाउन सकिने बताउनुभयो।

 

सोही सम्मेलनलाई सम्बोधन गर्दै युनान मिन्चु विश्वविद्यालयकी प्राध्यापक शेन हेमेईले आपसी सम्बन्धमा धेरैजसो भूराजनीतिका कुरा हुने गरे पनि त्यसक्रममा दुई देशको सम्बन्धलाई व्याख्या गर्ने अन्य मिहिन विषयहरू छायाँमा पर्ने गरेको बताउनुभयो। 'संस्कृति त्यस्तै आधारभूत जग हो, कुनै अतिरिक्त पक्ष होइन,' युनान मिन्जु विश्वविद्यालयको नेपाल अध्ययन केन्द्रकी प्रमुख समेत रहेकी उहाँले भन्नुभयो।

 

'हामीलाई आपसमा जोडेका तिनै कैयौं सांस्कृतिक पक्षहरू अझ खोतल्न बाँकी छ जसले सहकार्य र सम्बन्धका नयाँ मार्ग देखाउन सक्छ,' प्राध्यापक हेमेईले भन्नुभयो।

 

आयोजक बीपी कोईराला स्कुल अफ पब्लिक पोलिसीका अध्यक्ष प्रेमराज जोशीले चीनसँगको सहकार्यका प्रारूप अनेक हुनसक्ने भए तापनि संस्कृति र संवादबाट नै सम्बन्ध दिगो र दृढ हुने र अबको समयमा चीनलाई नकार्न नसकिने बताउनुभयो।

 

चिनियाँ प्राज्ञका विद्वत प्रवचनमा नेपाली पूर्वकूटनीतिज्ञ शम्भुराम सिम्खडा, लीलामणि पौडेल, भूराजनीतिक विज्ञ चन्द्रदेव भट्ट, पर्यटनविज्ञ दिपकराज जोशी, खेम लकाई लगायतले टिप्पणी गरेका कान्तिपुर अनलाइनले जनाएको छ।