चिनियाँ राष्ट्राध्यक्ष सी र अजरबैजानका राष्ट्रपति अलियेभबीच भेटवार्ता
2024-07-04 10:52:04CRI
Share with:

स्थानीय समयअनुसार जुलाई ३ तारिख अपराह्न, चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले अस्तानामा आयोजना हुन गइरहेको शाङहाई सहयोग संगठनको शिखर सम्मेलनमा भाग लिनुअघि अजरबैजानका राष्ट्रपति ईल्हाम हैदर ‌अग्लु अलियेभसँग भेटवार्ता गर्नुभएको छ।

भेटवार्तामा राष्ट्राध्यक्ष सीले यसरी उल्लेख गर्नुभयोः चीन र अजरबैजान इमान्दार , विश्वासिलो असल मित्र हुन् र समानता तथा पारस्परिक लाभमा आधारित असल साझेदार पनि हुन्। हामीले द्विपक्षीय सम्बन्धलाई रणनीतिक साझेदारी सम्बन्धमा उकासेका छौँ, जुन एक नयाँ स्थिति र नयाँ शुरुवात बिन्दु हो। दुवै पक्षले दुई देशका जनताको हितका लागि एकअर्कालाई निरन्तर सहयोग गर्दै जानु आवश्यक छ।

साथै जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय प्रारुप सन्धि (यूएनएफसीसीसी) का सदस्य राष्ट्रहरूको २९ औँ सम्मेलन सफलतापूर्वक आयोजना गर्न चीनले अजरबैजानलाई समर्थन दिने पनि राष्ट्राध्यक्ष सीले बताउनुभयो।

सो अवसरमा अजरबैजानका राष्ट्रपति अलियेभले आपसी सम्बन्धबारे चर्चा गर्दै भन्नुभयोः अजरबैजान र चीन राम्रा साझेदार हुन्, हामीले संयुक्त रूपमा अजरबैजान-चीन रणनीतिक साझेदारी सम्बन्धको स्थापनालाई घोषणा गरेका छौँ, जुन द्विपक्षीय सम्बन्धको विकासका लागि ठूलो महत्व बोकेको छ। अजरबैजान चीनसँगको ऐक्यबद्धता र सहयोगलाई मजबुत बनाउँदै अर्थतन्त्र, व्यापार, लगानी, नयाँ ऊर्जा र जनता-जनताबीचको सांस्कृतिक सहयोगका क्षेत्रमा बेल्ट एण्ड रोड अवधारणाको फ्रेमवर्कभित्र रहेर सहकार्यलाई मजबुत बनाउनुका साथै क्षेत्रीय सुरक्षा र स्थायित्वको रक्षाका लागि शाङहाई सहयोग संगठन लगायतका फ्रेमवर्कभित्र रहेर काम गर्न तयार छ।

सोही क्रममा दुवै पक्षले चीन र अजरबैजानको रणनीतिक साझेदारी सम्बन्ध स्थापनासम्बन्धी संयुक्त वक्तव्य जारी गरेका छन्।

साथै दुवै देशका सम्बन्धित विभागहरूले 'बेल्ट एण्ड रोड' को संयुक्त निर्माणसम्बन्धी सहयोग दस्तावेजमा पनि हस्ताक्षर गरेका छन्।