चिनियाँ राष्ट्राध्यक्ष सी तथा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बीच भेटवार्ता
2024-07-04 10:02:49CRI
Share with:

स्थानीय समयअनुसार जुलाई ३ तारिख साँझ, अस्तानामा हुने शाङहाई सहयोग संगठनको शिखर सम्मेलनमा भाग लिनुअघि चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्नुभएको छ।

भेटवार्तामा राष्ट्राध्यक्ष सीले आपसी सम्बन्धबारे चर्चा गर्दै भन्नुभयोः यसै वर्षको मे महिनामा राष्ट्रपति पुटिनले चीनको सफल राजकीय भ्रमण गर्नुभयो। चीन र रुसबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ औँ वर्षगाँठको महत्वपूर्ण ऐतिहासिक घडीमा हामीले संयुक्त रूपमा द्विपक्षीय सम्बन्धको अझ विकासका लागि योजना र व्यवस्था गरेका छौँ।

चीन र रुसले विकास रणनीति र अन्तर्राष्ट्रिय रणनीतिक समन्वयको तालमेललाई अझ मजबुत बनाउँदै लैजानुपर्नेमा पनि चिनियाँ राष्ट्रपति सी चिनफिङले जोड दिनुभएको छ।

सो भेटवार्तामा रुसी राष्ट्रपति पुटिनले पारस्परिक सम्बन्धको मूल्याङ्कन गर्दै भन्नुभएको छः 'अहिले रुस-चीन सम्बन्ध इतिहासकै सबैभन्दा उच्च स्तरमा छ। रुस-चीन सम्बन्ध असंलग्न छ र कुनै पनि तेस्रो पक्षलाई लक्षित गर्दैन, जुन दुई देशका जनताको हितसँग मेल खान्छ। चीन शाङहाई सहयोग संगठनको अध्यक्ष मुलुक बन्ने छ। यसै क्रममा रुसले चीनको कामलाई पूर्ण समर्थन गर्नेछ। साथै रुसले अन्य सदस्य राष्ट्रहरूसँग मिलेर अन्तर्राष्ट्रिय परिपाटीको विकासलाई अझ न्यायोचित र समतामूलक दिशामा अगाडि बढाउँदै जाने छ। चालू वर्ष ब्रिक्सको अध्यक्ष मुलुकको रूपमा रूसले ब्रिक्स सहयोगको बारेमा चीनसँगको सम्पर्क र समन्वयलाई सुदृढ गर्न इच्छा लिएको छ।

सोही अवधिमा दुवै देशका राष्ट्रनायकहरुले साझा चासोका अन्तर्राष्ट्रिय र क्षेत्रीय विषयमा पनि वैचारिक आदानप्रदान गर्नुभएको छ।

राष्ट्राध्यक्ष सी चिनफिङले यसरी जोड दिनुभएको छः चीन सधैँ शान्ति वार्तालाई बढाउन चाहन्छ। युक्रेन संकट लगायत अन्य चर्चित क्षेत्रीय मुद्दाहरूको राजनीतिक समाधानलाई अघि बढाउन सकारात्मक प्रयास जारी राख्न चीन इच्छुक छ।