आगामी आर्थिक वर्षदेखि किसान परिचयपत्र वितरण गरिने
2024-07-04 16:25:22cri
Share with:

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आगामी आर्थिक वर्षदेखि २५ वटा स्थानीय तहबाट किसान परिचयपत्र लागु गर्ने भएको छ । कृषि मन्त्रालयले किसान सूचीकरणको कामलाई अगाडि बढाएको छ । कृषि मन्त्रालयका सहसचिव प्रकाश सन्जेलका अनुसार बुधबारसम्म १९ लाख १० हजार किसान सूचीकृत भइसकेका छन् । हालसम्म सात वटै प्रदेशका २५ वटा स्थानीय तहले किसान सूचीकरणको काम सकाएका छन् ।

 

ती सूचीकृत भइसकेका २५ वटा स्थानीय तहका किसानलाई आगामी वर्षदेखि किसान परिचयपत्र दिएर कार्यान्वयनमा ल्याइने छ। परिचयपत्रमा दिएको क्युआर कोडले काम गर्छ कि गर्दैन, परिचयपत्रमा उल्लेख १३ अङ्कको नम्बरले प्रणाली अनुसार काम गर्छ कि गर्दैन, किसानले त्यो परिचयपत्रका आधारमा सुविधा पाउन सक्छन् कि सक्दैनन् जस्ता कुराको परीक्षण गरेपछि मात्र देशभर लागु गर्ने उहाँले बताउनुभयो। किसान परिचयपत्र लागु गर्नका लागि किसान सूचीकरण सञ्चालन तथा व्यवस्थापन निर्देशिका संशोधनको कार्य भइरहेको छ ।

यो असार मसान्तभित्र निर्देशिका पनि पारित हुन्छ त्यसपछि साउन वा भदौदेखि सोही निर्देशिका अनुसार परिचयपत्र लागु गर्ने सहसचिव सन्जेलले बताउनुभयो । एउटा किसानको सम्पूर्ण विवरण सरकारले सङ्कलन गरेर किसानको तह निर्धारण गर्ने छ र सोही तह अनुसार किसानलाई सुविधा दिनुका साथै कृषिको योजना तथा कार्यक्रम तयार गर्ने कृषि मन्त्रालयले जनाएको छ । किसानको विवरण तयार गरी पहिचान दिइसकेपछि ती किसानलाई परिचयपत्र उपलब्ध गराउने छ । सोही परिचयपत्रका आधारमा सरकारबाट प्राप्त हुने सम्पूर्ण सेवा सुविधा दिइने मन्त्रालयले जनाएको छ । परिचयपत्र पाइसकेपछि खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी नियमावली, २०८० को दफा १७ को उपदफा (१) अनुसार किसानलाई सङ्घ, प्रदेश तथा स्थानीय तहबाट दोहोरो नपर्ने गरी कृषि उत्पादन, पूर्वाधार निर्माण, मल, बिउ, उपकारण जस्ता उत्पादन सामग्री वा बिमा प्रिमियममा सहुलियत, छुट, सुविधा तथा अनुदान उपलब्ध गराइने गोरखापत्रले लेखेको छ।