तेश्रो लगानी सम्मेलनपछि दुई परियोजनामा आशय पत्र
2024-07-05 16:04:26cri
Share with:

लगानी सम्मेलनका दौरान सोकेसमा राखिएका परियोजनामध्ये अहिलेसम्म दुई परियोजनामा मात्र लगानीकर्ताको आशय पत्र प्राप्त भएको छ । लगानी बोर्डका उपसचिव रमेश अधिकारीका अनुसार तेस्रो लगानी सम्मेलनमा लगानी बोर्डको कार्यक्षेत्रभित्र पर्ने कुल १२ वटा परियोजनामा आशय पत्र मागिएको थियो । यसमध्ये ८ वटा परियोजनामा मागिएको आशय पत्रको अवधि पूरा भई खोलिएको छ।

यसमध्ये जानकी हेरिटेज होटल एन्ड कल्चरल भिलेज परियोजना र बबरमहल एडमिनिस्ट्रेटिभ प्लाजा गरी दुई परियोजनामा मात्र आशय पत्र प्राप्त भएको अधिकारीले जानकारी दिनुभयो। उहाँका अनुसार हेरिटेज होटलमा स्वदेशी लगानीकर्ता सोल्टी शिवबिक्रम प्रालि ताहाचलले आशय पत्र बुझाएको छ ।

 

यो परियोजना चार वर्ष अगाडिको लगानी सम्मेलनमा समेत सोकेसमा राखिएको थियो । पछिल्लो समय सोल्टी होटलले तीव्र लगानी विस्तार गरिरहेको छ। सोही क्रममा कम्पनीले जानकी होटलमा लगानीको आशय देखाएको हो। यस होटलको लागत साढे २ अर्ब अनुमान गरिएको छ । लगानी बोर्डले लगानी सहजीकरणका लागि काम गर्नुपर्ने हुन्छ । बबरमहल प्रशासनिक प्लाजाका लागि समेत एक आशय पत्र प्राप्त भएको छ । यस परियोजनामा गन्सुएसएसल्यान्डमार्क काठमाडौंले आशय पत्र बुझाएको बोर्डले जनाएको छ ।

८ वटा परियोजनामध्ये पोखरा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, चन्द्रागिरिचित्लाङपालुङचितवन एक्सप्रेस वे, धुलिखेल मेडिसिटी प्रोजेक्ट, सुदूरपश्चिम सार्वजनिक यातायात परियोजना, दाइजी औद्योगिक पार्क र गौतमबुद्ध मेटरनिटी हस्पिटलमा भने कुनै पनि लगानीकर्ताले आशय देखाउन नसकेको लगानी बोर्डले जनाएको छ । बाँकी ४ परियोजनाको भने आशय पत्र लिने अवधि १२ जुलाई २०२४ रहेको छ । यी चार परियोजनामा नौमुरे बहुउद्देश्यीय जलविद्युत् आयोजना (२८१ मेगावाट), कालिगण्डकी २ स्टोरेज जलविद्युत् परियोजना (६५० मेगावाट) खिम्ती थोसे शिवालय स्टोरेज जलविद्युत् (१२१६ मेगावाट) र भार्भुङ स्टोरेज हाइड्रोपावर (३३७ मेगावाट) रहेका छन् ।

अनलाइनखबरका अनुसार लगानीकर्ताले सोकेसमा राखेका आयोजनामा लगानी गर्न इच्छुक लगानीकर्तालाई थप एक महिनाको समय दिइएको छ । उपसचिव अधिकारीका अनुसार सरकारले तेस्रो लगानी सम्मेलनमा आशय पत्र माग्ने गरी १९ परियोजना छनोट गरी सोकेसमा राखिएको थियो । यसमध्ये लगानीबोर्डको अधिकार क्षेत्रभित्र पर्ने परियोजनाहरूमा आशय पत्र दिने समय थप एक महिना लम्बाइएको छ । यसअघिको अवधि सम्पन्न भए पनि लगानीकर्ताले अबको एक महिनासम्म आशय पत्र पेस गर्न सक्ने भएका छन् ।

 

सरकार र निजी क्षेत्रको आयोजनामा तेस्रो लगानी सम्मेलन १६ र १७ वैशाखका दिन काठमाडौमा आयोजना गरिएको थियो । सरकारले नेपालमा लगानीको वातावरण बनेको भन्दै आयोजनाहरू लगानीकर्ता समक्ष प्रस्तुत गरेको थियो । तर, लगानी सम्मेलन सम्पन्न भएको तेस्रो महिना बितिसक्दा विदेशी लगानीकर्ताबाट कुनै पनि आशय पत्र प्राप्त नहुनु र स्वदेशीले समेत दुई वटा मात्र प्रस्ताव गर्नुले लगानी सम्मेलनको उपलब्धि उत्साहजनक नदेखिने सम्भावना बढेको छ ।

 

लगानी सम्मेलनको मुखमा हतारहतार कानुनहरू संशोधन गरिएको थियो । सरकारले यस पटक १ सय ५२ वटा परियोजनाहरू सोकेसमा राखेको थियो । यी परियोजनाहरू विभिन्न चरणमा रहेका थिए । सरकारले तेस्रो लगानी सम्मेलनसम्म आइपुग्दा हरेक पटक उही प्रकृतिका परियोजना सोकेसमा राख्ने र ती परियोजनालाई अगाडि बढाउन न्यूनतम तयारीका काम समेत पूरा गर्न नसक्दा लगानीकर्ता आकर्षित भने हुन सकेका छैनन् ।

 

लगानी सम्मेलनकै दौरान रारामा रिसोर्ट खोल्न एक्सपर्ट ग्रुपसँग सम्झौता भएको थियो। लगानीसम्बन्धी सहकार्यका लागि एक्सपर्ट ग्रुपका तर्फबाट बद्री अर्याल र सञ्जीव शर्मा तथा रारा होल्डिङ्स रिसोर्ट प्राइभेट लिमिटेडका तर्फबाट अभिषेक बिक्रम शाहले हस्ताक्षर गरेका थिए ।

 

सम्मेलनका दौरान नेपाल उद्योग व्यापार महासंघ (एफएनआईसी) र इन्डियन इन्डस्ट्रिज एसोसिएसन (आईआईए) बीच द्विपक्षीय सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । सम्झौतापत्रमा एफएनआईसीका तर्फबाट अध्यक्ष खिमलाल भण्डारी र आईआईएका तर्फबाट अध्यक्ष अनुजकुमार गर्गले हस्ताक्षर गरेका थिए ।

 

सम्मेलनका दौरान चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन नेपालको निजी क्षेत्रले सहजीकरण गर्नेसम्बन्धी दुई समझदारी भएका थिए । नेपालको नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्राइभेट लिमिटेड र चीनको ‘एमएबीसी इन्भेस्टमेन्ट प्राइभेट लिमिटेड बीच समझदारी भएको हो ।

सोमबार नै नेपाल उद्योग व्यापार महासंघ (एफएनआईसी) र चाइना दोङ्गन जिङ लङ लाइटिङ प्रडक्ट कम्पनी लिमिटेडबीच समझदारी भएको हो ।

नेक्सजेनले एमएबीसीको माउ कम्पनीलाई नेपालमा वैदेशिक लगानी गर्नका लागि सहजीकरण गर्नेछ भने एफएनआईसीले चाइना दोङ्गन जिङ लङलाई सहजीकरण गर्नेछ।

 

सम्मेलनमै साखः ग्रुपले होटलमा भित्र्याउने गरी सम्झौता गरेको थियो । साखः ग्रुपले नेपालमा होटल क्षेत्रका लागि वैदेशिक लगानी भित्र्याउने बताएको छ । साखः एन्ड कम्पनी प्राइभेट लिमिटेड र बोर ग्रुप अफ होटल चाइनाबीच होटल व्यवसायमा सहकार्यसम्बन्धी आरएमबी पाँच करोडदेखि १० करोडसम्म लगानीका लागि सम्झौता भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ र नेसनल चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज मलेसियाबीच लगानी सम्मेलनको उद्घाटनका अवसरमा द्विपक्षीय सम्झौता भएको थियो । डाटा सेन्टर निर्माण तथा सञ्चालनमा सहकार्य गर्नेबारे नेपालको बीएलसी ग्रुप र भारतको योट्टा डाटा सर्भिसेजबीच सम्झौता भएको थियो ।

लगानी सम्मेलनकै दौरान उद्योग विभागबाट ९ अर्ब १३ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत भएको थियो । विभागले विभिन्न चार वटा उद्योगका लागि सो रकम बराबरको लगानी स्वीकृत गरेको जनाएको छ।