पर्यटक आगमनमा झन्डै तेइस प्रतिशतको बढोत्तरी
2024-07-08 15:40:51CRI
Share with:

सन् २०२३ को छ महिनाको तुलनामा यो वर्ष नेपालमा पर्यटक आगमन झन्डै २३ प्रतिशतले बढेको छ। नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२४ को छ महिनामा पाँच लाख ८३ हजार १६ जना पर्यटक नेपाल भित्रिएका गोरखापत्र अनलाइनले लेखेको छ।

बोर्डको निर्देशक मणिराज लामिछानेले भन्नुभयो, “सन् २०२४ को छ महिनामा चार लाख ७६ हजार ४८१ पर्यटक नेपाल घुम्न आएका छन् । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो वर्षको छ महिनाको तथ्याङ्क हेर्दा एक लाख छ हजारको हाराहारीमा पर्यटक बढेका देखिन्छन्।”

उहाँका अनुसार सन् २०१९ को तुलनामा यो वर्ष दुई प्रतिशतले पर्यटक आगमन बढेको छ। सन् २०१९ को जुन महिनामा ७४ हजार ८८३ जना विदेशी पर्यटक नेपाल आएकामा यो वर्षको सोही अवधिमा ७६ हजार ७३६ पर्यटक नेपाल आएका छन्। निर्देशक लामिछानेले पछिल्लो समय पर्यटक आगमन दर बढ्दै गइरहे पनि आगामी आव २०८२/८३ मा १६ लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य पूरा हुन सन् २०१९ को तुलनमा ३३ प्रतिशतले पर्यटक भित्रिनुपर्ने जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, “सरकारले लिएको लक्ष्य प्राप्तिका लागि विदेशमा आक्रामक प्रवर्धनका कार्यक्रम अघि बढाउँदै चीन र भारतमा समेत बोर्डको शाखा खोलेर नेपाल प्रवर्धनका काम बढाउन आवश्यक छ।”

त्यस्तै गरी महँगो हवाई शुल्क, टिकट समयमै नपाउने र पाए पनि महँगो हुँदा पर्यटकले अन्यत्रका गन्तव्य रोज्ने गरेको बताउँदै उहाँले पर्यटक नेपालबाट फर्किंदा कर छुटको सुविधा लिन विदेशी ट्राभल एजेन्सीमार्फत टिकट लिन थालेपछि नेपाली मुद्रा विदेश गइरहेको जनाउनुभयो।

बोर्डका अनुसार सन् २०२३ को जुन महिनामा ७२ हजार २५० पर्यटक नेपाल आएकामा यो वर्ष गत वर्षको तुलनामा ६.२१ प्रतिशतले पर्यटक आगमन बढेको छ। 

नेपाल आउने पर्यटकमध्ये भारतीय पर्यटक बढी छन्। सामान्यतया भारतबाट नेपाल घुम्न आउने पर्यटक गर्मी छल्न आउने भए पनि यस वर्ष जाडोको महिनामा पनि नेपालमा प्रशस्तै भारतीय पर्यटक आएका कारण वृद्धि भएको हो। भारतबाट जुनमा ३७ हजार ८३५ पर्यटक नेपाल भित्रिएका छन्। यस्तै दोस्रोमा अमेरिकाबाट आठ हजार २८१, चीनबाट सात हजार ४९४ जना पर्यटक नेपाल भित्रिएका छन्। नेपाल आउने चिनियाँ पर्यटकको सङ्ख्या विगतमा निकै ठुलो रहे पनि कोभिडपश्चात् त्यो सङ्ख्या बढ्न सकेको छैन। 

बङ्गलादेशबाट तीन हजार ८५७, बेलायतबाट एक हजार ९६९, अस्ट्रेलियाबाट एक हजार ५८९, भुटानबाट एक हजार ६६, मलेसियाबाट एक हजार १४, जापानबाट ९५३ र दक्षिण कोरियाबाट ८७५ जना भित्रिएको पर्यटन बोर्डले जनाएको छ।