अबदेखि चिनियाँ पर्यटकले नेपालमा 'क्यूआर कोड' मार्फत भुक्तानी गर्न सक्ने
2024-07-10 15:32:09CRI
Share with:

अबदेखि नेपालमा भारतीय नागरिक जस्तै चीन, बंगलादेश, श्रीलंकालगायत देशका नागरिकले पनि नेपाल भ्रमण गर्दा नगद बोक्नु नपर्ने र उनीहरुले 'क्यूआर कोड' भुक्तानी गर्न सक्ने व्यवस्था हुन लागेको छ। 

नेपाल राष्ट्र बैंकले चीनको अलिपे, श्रीलंकाको लंकापे लगायतसँग अन्तरदेशीय कारोबारका लागि द्विदेशीय सम्झौता गर्ने तयारी गरेको र त्यसका लागि नेपाली कम्पनीहरुलाई अनुमति दिइसकेको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताउनु भएको कान्तिपुर अनलाइनले लेखेको छ। नेपाल उद्योग वाणिज्य महासंघले जुलाई ९ तारिख मंगलबार आयोजना गरेको आगामी मौद्रिक नीतिका लागि सुझावसम्बन्धी अन्तरक्रिया कार्यक्रममा गभर्नर अधिकारीले यस्तो बताउनु भएको हो। ‘ती देशहरुसँग अन्तरदेशीय भुक्तानी कारोबारका लागि सेवा प्रदायकसँग सम्झौता गर्ने तयारी अन्तिम चरणमा रहेको र निकट भविष्यमै सम्झौता हुन्छ,’ उहाँले भन्नुभयो, ‘यो सम्झौता पनि विद्युतीय भुक्तानीमा नेपालले ठूलो फड्को मार्ने छ।’

हाल भारतसँग अन्तरदेशिय विद्युतीय भुक्तानी सम्बन्धमा सम्झौतासँग कारोबार पनि सुरु भएको छ। अब भारतसँगको जस्तै सम्झौता अरु राष्ट्रहरुसँग पनि हुन लागेको उहाँले जानकारी दिनुभयो।