माटे खेलौना-3
2024-07-10 09:28:25cri
Share with:

च्युन जिल्लाको माटे खेलौना प्रायजसो पशु-पंक्षी वा मानिसलाई आधार बनाएर बनाइएका हुन्। तीमध्ये सबैभन्दा बढी जनावरहरु छन्। यसमा हृष्ठपुष्ठ घोडाले ती सबैको प्रतिनिधित्व गरेको छ। रातो घोडा, कालो घोडा, दुइ टाउके घोडा, घोडाको बछेडो आदि समावेश छन्। ती घोडाहरु हेर्दा फुर्तिला, तकडा र साहसी शूरवीरजस्ता देखिन्छन्। घोडासित दाँज्दा त्यसमा उतारिएका मानिसहरुको आकार अलि सानो देखिन्छ। ती मानिसहरु मुख्यतः ओपेरा र किंबदन्तीमा आधारित कथाका पात्रहरुलाई आधार बनाएर तयार पारिएका छन।      

 

         यस चित्रमा रहेका अष्ट अमरत्वको रंगीन माटाको मूर्ति प्रायजसो प्रयोगमा ल्याइने विषयवस्तु हो। त्यसमा उतारिएका पात्रहरुको आ-आफ्नो विशेषता छः कोही उभिएका त कोही बसिरहेका छन् भने कोही त्यसै अडिरहेका र कोही-कोही त चलिरहेका जस्ता देखिन्छन्। तिनको मुद्रा र हाउभाउ जीउँदो-जाग्दो र स्वाभाविक जस्तो छ र मानिस-मानिस बीच एकदमै मिलेको वातावरणले भरिपूर्ण भएको भान हुन्छ। सबै मूर्ती हेर्दा एकनाससित कतै उठेका त कतै भासिएका छन र मानिसहरु उचित तरिकाले चल-अचल भएका छन्, जुन कदापि अश्वाभाविक र खल्लो देखिंदैन। मूर्तीमा रहेका मानिसहरु जीउँदै जस्ता देखिन्छन्, जसका अगाडि उभिएर तिनीहरुसँग बोलुँ-बोलुँ जस्तो हुन्छ मानिसको रंगीन मूर्तिको कलामा यो साँच्चै नै उत्कृष्ठ रचना हो। त्यो रंगीन मूर्ति ताजै रंग रोगन लगाइएकाले एकदमै रंगीबिरंगी देखिन्छ। कथामा आधारित ती मूर्तिका पात्रहरुको फरक-फरक हैसियत र स्थिति अनुसार फरक-फरक पोशाक, गहना र उपकरणहरु छन्। स्थानीय जनावरका मूर्तिहरुको भन्दा ती मानिसहरुको मूर्तिको रंग बेग्लै खालको छ। बनाउने शीप कौशल पनि ज्यादै सूक्ष्म छ। तमाम मूर्तिको शैली सादा र ग्रामीण आस्वादले भरिपूर्ण रहेको छ, जुन साँच्चै नै एक उत्कृष्ठ रंगीन मूर्ति समूहको रचना हो।

 

उत्तरी चीनको ह पै प्रान्तको सिंग छंग जिल्लामा पर्ने पाइ कौ बस्ती प्राचीन कालदेखि नै लोक खेलौना उत्पादन गर्ने प्रसिद्ध स्थान हो। ती माटे खेलौनाका विषयवस्तुहरु व्यापक छन्। नाम कमाइसकेका माटाबाट बनाइएका केटा-केटी खेलौना बाहेक ओपेराका पात्रहरुमा आधारित माटे मूर्तिहरु पनि छन्। जुन प्रायजसो ह पै पाङ्ग च् भन्ने ह पै प्रान्तको स्थानीय ओपेराका कथाका आधारमा बनाइएका हुन्। दुइजना मानिस जोडिएको होस् वा तीनजना मानिस जोडिएको, ती सबै एउटै साँचोमा ढालेर एक अर्कासँग जोडिने गरी बनाइएका हुन्। मानिस मानिसबीच खाली ठाउँ नछोडिएकाले त्यसको साँचो पल्टाउन सजिलो हुनुका साथै त्यसको बलियोपनमा पनि वृद्धि भएको छ।