नेपालको निर्यात व्यापार धान्ने प्रमुख दस वस्तुहरु
2024-07-11 15:42:07CRI
Share with:

नेपालमा अधिकांश वस्तुको निर्यात घटिरहेका बेला १० वटा स्वदेशी वस्तुले नेपालको निर्यात व्यापार धानेका छन्। व्यापार तथा निकासी प्रवर्धन केन्द्रको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षका ११ महिनामा नेपालबाट सबैभन्दा धेरै निर्यात हुने १० वटा वस्तु रहेका छन्। 

११ महिनामा कुल निर्यात तीन प्रतिशतले घटेर एक खर्ब ३९ अर्ब २६ करोड २३ लाख ३३ हजार रुपियाँको निर्यात हुँदा १० वस्तुको निर्यात बढेको गोरखापत्र अनलाइनले लेखेको छ। केन्द्रको तथ्याङ्क अनुसार ११ महिनामा १० वस्तुको निर्यात ४० अर्ब रुपियाँभन्दा बढीको भएको छ। 

केन्द्रका अनुसार ११ महिनामा आइरन तथा स्टिलको निर्यात ५९.८ प्रतिशतले बढेर १५ अर्ब ८१  करोड ८७ लाख ५५ हजार रुपियाँ बराबरको निर्यात भएको छ। यस्तै जुस निर्यात ३० प्रतिशतले बढेर सात अर्ब ९६ करोड ३० लाख ८८ करोड रपियाँ बराबरको निर्यात भएको केन्द्रको तथ्याङ्क छ। 

यस्तै प्लाइउड निर्यात ६० प्रतिशतले बढेर छ अर्ब ६८ करोड  ३४ लाख रुपियाँ बराबरको निर्यात भएको छ। यस्तै रेडिमेट गार्मेन्ट १२ प्रतिशतले बढेर आठ अर्ब १५ करोड ९५ लाख रुपियाँको निर्यात भएको छ। यस्तै सिमेन्ट निर्यात ४८४ प्रतिशतले बढेर एक अर्ब ८३ करोड २४ लाख ७१ हजार रुपियाँ बराबरको निर्यात भएको छ। क्लिङ्कर निर्यात ४०१ प्रतिशतले वृद्धि भई एक अर्ब ८२ करोड ४६ लाख ८९ हजार रुपियाँ बराबरको निर्यात भएको छ। 

यस्तै अम्रिसो निर्यात ३२ प्रतिशतले बढेर एक अर्ब २६ करोड १२ लाख ९१ हजार रुपियाँ बराबरको निर्यात भएको छ। जुत्ता निर्यात २१ प्रतिशतले बढेर एक अर्ब १८ करोड २१ लाख ५६ हजार रुपियाँ बराबरको निर्यात भएको केन्द्रको तथ्याङ्क छ। तामाको निर्यात ८१ प्रतिशतले बढेर एक अर्ब १७ करोड ४४ लाख रुपियाँको निर्यात भएको छ। यस्तै टुथपेस्ट निर्यात ३३ प्रतिशतले बढेर ६९ करोड २५ लाख रुपियाँ बराबरको निर्यात भएको छ। 

१० वस्तुबाहेक अन्य वस्तुको निर्यात भने निराशाजनक अवस्था रहेको छ। चालु आवको ११ महिनामा धागो निर्यातमा ४.६ प्रतिशतले ह्रास आई १० अर्ब ७२ करोडमा सीमित भएको छ भने उनी गलैँचाको निर्यात पनि ५.७ प्रतिशतले घटेर नौ अर्ब ७३ करोडमा झरेको छ। 

यस्तै जुट तथा जुटका उत्पादनको निर्यात ११ प्रतिशतले घटेर छ अर्ब २१ करोड तथा उनी फेल्टको निकासी ४.६ प्रतिशतले घटेर चार अर्ब ३८ करोडमा सीमित भएको छ। कृषिजन्य वस्तुको निर्यातमा अग्रणी स्थान हासिल गरिरहेको अलैँचीको निर्यातसमेत २.९ प्रतिशतले घटेर सात अर्ब ४७ करोडमा झरेको छ। चियाको निर्यात पनि १२.७ प्रतिशतले ह्रास आई तीन अर्ब १६ करोडमा सीमित भएको छ। चालु आवको सुरुदेखि नै आयात निर्यातमा कमी हुँदै आएको छ। 

नेपालबाट सबैभन्दा बढी निर्यात गरिने देशमा भारत, अमेरिका, जर्मन, बेलायत, टर्की र चीन रहेका छन्।नेपालले विभिन्न १७० देशसँग वैदेशिक व्यापार गर्ने गरेको छ। जसमा ३५ वटा देशसँग व्यापार नाफा र १३५ वटा देशसँग व्यापार घाटा रहेको छ।