नेपालमा औसत मूल्यवृद्धि ४.१७ प्रतिशत, सबैभन्दा महङ्गो तरकारी
2024-07-12 16:27:57CRI
Share with:

गत जेठ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धिदर (मुद्रास्फीति) ४.१७ प्रतिशत छ। गत वर्षको सोही महिनामा यस्तो मूल्यवृद्धि ६.८३ प्रतिशत थियो।

चालु आर्थिक वर्षको एघार महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धिदर ५.७६ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको २.९४ प्रतिशत रहेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको कान्तिपुर अनलाइनले लेखेको छ।

यसअवधिमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १६.०२, दाल तथा गेडागुडीको ११.७६, खाद्य तथा खाद्यजन्य पदार्थको ७.३२, चिनी तथा चिनीजन्य वस्तुको ६.९८ र गैर–मदिराजन्य पेय पदार्थको ५.९५ प्रतिशतले बढेको छ। तर, सोही अवधिमा घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक ५.५१ प्रतिशतले घटेको छ।

चालु आर्थिक वर्षको एघार महिनामा गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवाहरु उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १२.४७, शिक्षाको ५.६४ र कपडाजन्य तथा जुत्ता चप्पलको ३.४६ प्रतिशतले बढेको छ। तर, सञ्चार उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक ०.४८ प्रतिशत र यातायातको ०.१८ प्रतिशतले घटेको छ।