पर्यटन प्रवर्द्धनका लागि ६ रुट तयार
2024-07-15 16:06:13cri
Share with:

यस वर्ष गोरखा पर्यटन वर्षका रुपमा मनाउने नीति लिएको गोरखा नगरपालिकाले ६ वटा पर्यटकीय रुट तयार पारेको छ । आन्तरिक तथा बाह्य पर्यटक घुमाउन नगर क्षेत्रका विभिन्न ४२ वटा ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पर्यटकीय क्षेत्र समेटेर नगरपालिकाले पर्यटकीय रुट तयार गरेको हो ।

 

नगर कार्यपालिकाले तय गरेका स्थलको एक समितिमार्फत स्थलगत अध्ययन अनुसन्धान पश्चात रुट तयार गरिएको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीले बताउनुभयो। गोरखाको पुरानो बसपार्कबाट सुरु हुने रुट नं १ मा विभिन्न पर्यटकीय क्षेत्र हुँदै वडा–८ को बराही मन्दिरसम्मका १५ गन्तब्य पुग्न सकिने इन्जिनियर प्रकाश ढकालले बताउनुभयो।

 

यस रुटमा पुरानो बसपार्कबाट रानीपोखरी, ठूलो आँगन, गोरखा दरबार संग्रहालय, विशे नगर्ची पार्क, तल्लोकोट, रामशाह चौतारा, गणेशस्थान मन्दिर, हनुमान थान, गोरखा दरबार, बज्रभैरव थान, कुइरेभिर भ्यु टावर, झाँक्री गुफा, रकम गार्डेन, सरस्वती मन्दिर र बाराही मन्दिर समेटिएको छ । रुट नं २ मा फूलपाती सेलाउने कुण्ड, राधा बल्लभेश्वर मन्दिर, चिल्ड्रेनपार्क, खड्कदेवी मन्दिर, दुलदेवता, द्रब्यशाह चौतारा, नामरुङ थान, पश्चिमकाली मन्दिर, हिलेपोखरी र दक्षिणकाली मन्दिर रहेका छन् । रुट नं ३ मा सतिपिपल गुम्बा, मानेपानी धारा, बिन्धाबासिनी मन्दिर, पाँडेचौतारा, भीमसेन पार्क, जर्नेल धारा, देवीथान मन्दिर गाईखुर र बेनिखोला ताल राखिएको छ । रुट नं ४ मा भगवती स्थान मन्दिर, झाँक्रीगुफा, डेरागाउँ जामे मस्जिद, भुत्याहा छाँगो, नरसिहं मन्दिर, गौरीशंकर मन्दिर, गाईखुर जामे मस्जिद, अकला मन्दिर, ताप्लेकोट मन्दिर र देवीस्थान मन्दिरलाई समेटिएको छ ।

रुट नं ५ मा आमडाँडा मन्दिर, योगी आश्रम तथा गोरखनाथ मन्दिर, बिरेडाँडा पार्क, बिरिमकाली मन्दिर, थुम्काचुली भ्युटावर, लट्टेश्वर महादेव तथा महादेवटारी उद्यान राखिएको छ । महादेव मन्दिर तथा रामशाहघाट, अकला मन्दिर र बुढीकोटी मन्दिर समेटेर रुट नं ६ कायम गरिएको इन्जिनियर ढकालले बताउनुभयो।