लुम्बिनीमा बाह्य पर्यटकको संख्यामा वृद्धि
2024-07-17 16:09:37cri
Share with:

बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणमा आउने भारतीय र तेस्रो मुलुकका पर्यटकको सङ्ख्या वृद्धि भएको छ। सन् २०२३ को ६ महिनाको तुलनामा सन् २०२४ को सोही अवधिमा यहाँ भारतीय र तेस्रो मुलुकका पर्यटक बढेका हुन्। तर, यो अवधिमा आन्तरिक पर्यटक भने घटेका छन्।

लुम्बिनी विकास कोषले उपलब्ध गराएको तथ्यांक अनुसार सन् २०२४ को जनावरीदेखि जुन महिनासम्म भारतीय र तेस्रो मुलुकका दुई लाख चार हजार ६९४ जना पर्यटक लुम्बिनी आएका छन् । ‘पछिल्लो समय भारतीय पर्यटक अधिक मात्रामा लुम्बिनी आएका छन्, यसले भारतीयहरुप्रति लुम्बिनी घुम्नुपर्छ भन्ने बानीको विकास भएको देखिन्छ’, लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेतले भन्नुभयो ।

कोषका अनुसार पछिल्लो ६ महिनामा भारतबाट एक लाख ५२ हजार ५२० जना पर्यटक लुम्बिनी घुम्न आएका छन् । सन् २०२३ को यो अवधिमा एक लाख ३३ हजार १७९ भारतीय लुम्बिनी आएका थिए । पछिल्लो समय लुम्बिनीमा भइरहेका धार्मिक तथा आध्यत्मिक गतिविधिले पनि भारतीय पर्यटकलाई आकर्षित गरेको बस्नेतले बताउनुभयो ।

 

विकास कोषका सूचना प्रमुख हरिध्वज राईले लुम्बिनीमा भारतीयसँगै तेस्रो मुलुकबाट आउने पर्यटक पनि बढेको बताउनुभयो । कोषका अनुसार पछिल्लो ६ महिनामा तेस्रो मुलुकका (पासपोर्ट होल्डर) ५२ हजार १७४ पर्यटक लुम्बिनी घुमेका छन् । सन् २०२३ को जुन महिनासम्म लुम्बिनीमा ३३ हजार ६०५ जना मात्रै विदेशी पर्यटक आएका थिए । गतवर्ष भन्दा यो वर्ष १२ हजार बढी विदेशी पर्यटक लुम्बिनी घुमेका गोरखापत्र अनलाइनले जनाएको छ। लुम्बिनी आउने स्वदेशी पर्यटक भने घटेका छन् । पछिल्लो अवधिमा तीन लाख ४४ हजार ५२९ आन्तरिक पर्यटक लुम्बिनी आएका छन्।

कोषका अनुसार पछिल्लो ६ महिनामा लुम्बिनी आउने तेस्रो मुलुकका पर्यटकहरुमा सबैभन्दा बढी थाइल्यान्डका छन्। श्रीलंक, म्यानमार र चीनबाट क्रमशः पर्यटक लुम्बिनी पुगेका छन्।

त्यसपछि भियतनाम, दक्षिण कोरिया र जर्मनीकाम पर्यटक लुम्बिनी पुगेका छन्।