नवनियुक्त प्रधानमन्त्री ओलीलाई विभिन्न देशका सरकार प्रमुखबाट बधाई तथा शुभकामना
2024-07-18 16:44:33cri
Share with:

प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न देशबाट सरकार प्रमुखहरूले बधाई तथा शुभकामना सन्देश पठाउनुभएको छ। यसक्रममा चीनका प्रधानमन्त्री ली छ्याङले बुधबार पठाउनुभएको सन्देशमा प्रधानमन्त्री ओलीलाई आफ्नो व्यक्तिगत र चीन सरकारको तर्फबाट हार्दिक बधाई ज्ञापन गर्नुभएको हो।

 

चीनका प्रधानमन्त्री लीले दुई देशका शीर्ष नेताहरूबीच भएका सहमति कार्यान्वयन गर्न र चीन–नेपाल उच्चगुणस्तरीय बेल्ट एन्ड रोड सहकार्य र अन्य क्षेत्रमा सहकार्य प्रवर्द्धन गर्न तथा विकास र समृद्धिका लागि सधैँ मैत्रीपूर्ण चीन–नेपाल रणनीतिक साझेदारीमा नयाँ प्रगति गर्न चाहेको कुरा उल्लेख गर्नुभएको छ।

 

यसैबीच, प्रधानमन्त्री ओलीसँग नेपालस्थित चीनका राजदूत छङ सोङले मङ्गलबार शिष्टाचार भेट गर्नुभई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो।

 

गोरखापत्र अनलाइनका अनुसार भारत, पाकिस्तान र भुटानका प्रधानमन्त्रीबाट प्रधानमन्त्री ओलीलाई बधाई तथा शुभकामना प्राप्त भएको छ।

 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत बधाई ज्ञापन गर्नुहुँदै दुई देशबिचको मित्रताको गहिरो सम्बन्धलाई अझ सुदृढ गर्न र दुवै देशका जनताको प्रगति र समृद्धिका लागि पारस्परिक लाभयुक्त सहयोगलाई अझ विस्तार गर्न मिलेर काम गर्न तत्पर रहेको उल्लेख गर्नुभएको छ ।

 

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ र भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेले बधाई तथा शुभकामना दिनुभएको छ। उहाँहरूले प्रधानमन्त्री ओलीको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै दुई देशबिचको सम्बन्ध अझ बढ्ने विश्वास व्यक्त गर्नुभएको छ।

पाकिस्तानका प्रधानमन्त्री सरिफले सामाजिक सञ्जालमार्फत बधाई दिनुहुँदै दुई देशबिचको सम्बन्ध बलियो बनाउन तथा क्षेत्रीय सहकार्य थप प्रवर्द्धन गर्न सहकार्यका लागि इच्छुक रहेको जनाउनुभएको छ ।

 

यस्तै, प्रधानमन्त्री ओलीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले पनि शिष्टाचार भेट गर्नुभई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको छ ।

 

भेटमा भारत र चीन दुवै छिमेकी मुलुकका राजदूतहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो कार्यकालमा द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र सहकार्य अगाडि बढाउन बसाल्नुभएको आधारहरूको स्मरण गर्दै त्यसै आधारबाट अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभएको थियो ।