साना व्यवसायमा बढ्यो आकर्षण, ठूलाको लगानी इच्छा घट्यो, वैदेशिक लगानी प्रतिबद्धता १० वर्ष यताकै धेरै
2024-07-19 17:32:05cri
Share with:

सानो लगानीका नयाँ उद्योगमा व्यवसायीहरूको चासो बढेको छ। ठूला र मझौला उद्योगमा अपेक्षित लगानी बढ्न नसकेको समयमा सानो–सानो लगानीका उद्योगहरूको दर्ता भने ७९ प्रतिशतले बढेको छ। १५ करोड रूपैयाँसम्मको पुँजी भएको उद्योगलाई साना उद्योगको रूपमा गणना गरिन्छ।

 

१५ करोडभन्दा धेरै र ५० करोडभन्दा सानो पुँजी भएका उद्योगलाई  मझौला तथा ५० करोड रूपैयाँभन्दा धेरै पुँजी भएका उद्योगलाई ठूला उद्योगको रूपमा वर्गीकरण गरिएको छ।

 

गत आर्थिक वर्षमा स्वदेशी तथा विदेशी लगानीका तीन सय ३३ वटा साना उद्योग दर्ता भएका छन्। ५२ मझौला र ४९ वटा ठूला उद्योग दर्ता भएको उद्योग विभागको तथ्यांक छ। जबकि सरकारको लक्ष्य साना दुई सय, ठूला ८० र मझौला ८५ वटा उद्योग दर्ता गर्ने थियो। आर्थिक वर्ष २०७९/८० मा १८६ साना, ७० मझौला र  ६६ वटा ठूला उद्योग दर्ता भएका थिए।

हरेक वर्ष ठूला उद्योगको तुलनामा साना उद्योग नै बढी सञ्चालनमा आउँछन्। गत वर्ष भने साना उद्योगको दर्ता उल्लेखनीय बढेको छ। त्यसअघिको वर्षको तुलनामा ठूला र मझौला उद्योगको दर्ता संख्या भने कम छ। आर्थिक वर्ष २०७९/८० मा दुई खर्ब १४ अर्ब पुँजी बराबरका ३२२ वटा उद्योग दर्ता भएका थिए।

 

२०८०/८१ मा साना उद्योगको दर्ता उल्लेख्य बढेको कारण समग्र उद्योग दर्ता संख्या चार सय ३४ पुगेको छ। तर, यी उद्योगमा प्रस्तावित पुँजी भने अघिल्लो वर्षको तुलनामा १२ अर्ब रूपैयाँले कम छ। यो वर्ष कुल प्रस्तावित पुँजी दुई खर्ब दुई अर्ब पुगेको छ। तर, साना धेरै उद्योग दर्ता भएको कारण रोजगारी सिर्जना भने बढी हुने अनुमान गरिएको छ। ४३४ साना ठूला उद्योगले २५ हजार ५५१ जनाले रोजगारी पाउने अनुमान गरिएको छ।

सेतोपाटी अनलाइनका अनुसार उद्योग विभागमा गत आर्थिक वर्षमा १० वर्ष यताकै उच्च लगानी प्रतिबद्धता प्राप्त भएको छ। विभागको तथ्यांक अनुसार गत वर्ष ६१ अर्ब ७८ करोड रूपैयाँको लगानी प्रतिबद्धता आएको छ। त्यसअघिको आर्थिक वर्षमा जम्मा ३० अर्ब ७१ करोड रूपैयाँको लगानी प्रतिबद्धता आएको थियो।

 

पछिल्ला १२ वटा आर्थिक वर्षहरूमध्ये आर्थिक वर्ष २०७१/७२ मा ६७ अर्ब ४५ करोडको लगानी प्रतिबद्धता प्राप्त भएको थियो। अन्य कुनै पनि वर्षमा ६१ अर्बको लगानी प्रतिबद्धता आएको थिएन। गत वर्ष प्रस्ताव स्वीकृत गरेका वैदेशिक लगानीका परियोजना सञ्चालनमा आउँदा १९ हजार ५६५ जनलाई रोजगारी सिर्जना हुने उल्लेख गरिएको छ।

सरकारले ऐनहरू संशोधन र अन्य प्रक्रियागत ढंगबाट पनि निजी क्षेत्रलाई आकर्षित गरेको प्रभाव उद्योग दर्ता देखिएको विभागका अधिकारीहरूको दाबी छ। असारमा मात्रै ६५ वटा नयाँ उद्योग दर्ता भएका छन्। त्यस्तै, ४८ परियोजनामा विदेशी लगानी स्वीकृत गरिएको छ।

वैशाख महिनामा सरकारले लगानी सम्मेलन गर्नुपूर्व अध्यादेशबाट एक साथ ८ वटा कानुन संशोधन गरेको थियो। उद्योग विभागमा निर्देशक अर्जुन सेन पछिल्ला महिना नयाँ उद्योग सञ्चालनको लागि स्वदेशी तथा विदेशी लगानीकर्ताहरूको चासो बढेको बताउनुहुन्छ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल पनि लामो समय निजी क्षेत्रमा देखिएको निराशा कम हुन थालेको बताउनुहुन्छ।

 

विदेशी लगानी प्रतिबद्धताको तुलनामा वास्तविक प्राप्ति निकै न्यून छ। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार अनुसार यो वर्ष जम्मा ८ अर्ब  २३ करोड रूपैयाँ लगानी प्राप्ति भएको छ। जबकि गत वर्ष उद्योग विभागबाट मात्रै ३४ अर्ब बढीको लगानी स्वीकृत गरिएको थियो भने आर्थिक वर्ष २०७८/७९ मा ५४ अर्बको स्वीकृत गरिएको थियो। लगानी प्रतिबद्धता आउँदाको वर्ष वा उद्योग दर्ताको वर्ष नै सबै लगानी आउँदैन। तर, उद्योग निर्माण तथा सञ्चालन गर्न थालेपछि लगानी आउने गर्छ।