फ्रान्सेली साथी ब्रूनोको चीन बसाइको कथा-१
2024-07-22 09:19:07cri
Share with:

चालु वर्ष चीन र फ्रान्स बीच दौत्य सम्बन्ध स्थापना भएको ६०औँ वार्षिकोत्सव हो। विगत ६० वर्षयता चीन र फ्रान्स बीचको व्यापारिक मात्रा ८०० गुणाभन्दा बढीले बढेको छ। अहिले युरोपेली संघमा फ्रान्स चीनको तेस्रो ठूला व्यापार साझेदार हो, र चीन फ्रान्सका लागि एसियामा पहिलो र विश्वमा सातौँ ठूलो व्यापार साझेदार हो। चीन-फ्रान्स आर्थिक तथा व्यापारिक सहकार्यले दुई देशको आर्थिक विकासलाई गति दिनुका साथै जनताको जीवनस्तरमा सुधार गरेको छ र विश्व आर्थिक पुन:उत्थानमा पनि योगदान पुर्‍याएको छ। फ्रान्सबाट आएका जिन ब्रूनो चीनमा बस्नथालेको १६ वर्ष भइसक्यो। उनी भन्छन्, यी वर्षहरुमा चीनको विकास अनौठो छ, थप मानिसहरुलाई चीनको आकर्षण महसुस गराउनु पर्छ।

४३ वर्षीय जिन ब्रूनो फ्रान्सको पेरिसबाट आएका हुन्। हाल उनी फ्रान्स, चीनको स छ्वान प्रान्तको नान छोङ शहर र छोङ छिङ शहर तीन ठाउँमा रहेर काम गर्छन्। उनले मुख्य रूपमा चीन-फ्रान्स कृषि विज्ञान पार्कको व्यवसायिक सहकार्य र चीन-फ्रान्स अन्तर्राष्ट्रिय सांस्कृतिक आदानप्रदानको जिम्मेवारी लिएका छन्।

सन् २००८ मा, कानुन अध्ययन गरिरहेका जिन ब्रूनोले फ्रान्समा वकिलको रूपमा काम गर्ने अवसर त्यागेर चीनको छोङ छिङ शहरलाई आफ्नो चीन-फ्रान्स अन्तर्राष्ट्रिय सहकार्य यात्रा सुरु गर्ने पहिलो गन्तव्यको रूपमा छनोट गरेका थिए। यसबारे चर्चा गर्दै उनले भने,“मेरो चीनमा पहिलो गन्तव्य छोङ छिङ हो। छोङ छिङको जनसंख्या नै मलाई सबैभन्दा धेरै प्रभाव पार्ने कुरा हो, यहाँ ३ करोड ३० लाख मानिस बस्छन्, जुन लगभग फ्रान्सको आधा हो, जब कि फ्रान्सको कुल जनसंख्या ६ करोड ७० लाख मात्र छ। छोङ छिङका मानिसहरू धेरै इमानदार छन्, यदी केही कुरा मन नपराए भने उनीहरू स्पष्ट रूपमा भन्छन्, तर तिनीहरूमध्ये धेरैजसो साँच्चै धेरै मिलनसार छन्, त्यसैले मैले चाँडै नै धेरै साथीहरू बनाएँ, जसले मलाई चीनको संस्कृति र स्थानीय खानाको आनन्द उठाउन मद्दत गर्यो। पहिले मलाई पिरो खान मन पर्दैनथ्यो, तर अहिले मलाई लाग्छ कि म हटपटको विशेषज्ञ भएको छु, हरेक हप्तामा म कम्तीमा दुई-तीन पटक हटपट खाने गर्छु।”

छोङ छिङको मीठो खाना र छोङ छिङबासीहरूको मिलनसारितामा घुलेपछि, ब्रूनोले चाँडै नै चीनमा आफ्नो व्यवसाय सुरु गर्ने निर्णय गरेका थिए। बहुवर्षीय अन्तर्राष्ट्रिय परियोजनाहरूको अनुभव सँगाल्दै, अहिले उनी नान छोङस्थित चीन-फ्रान्स कृषि विज्ञान तथा प्रविधि पार्कका उद्यम सहकार्यका जिम्मेवार व्यक्ति हुन्। उनी मुख्य रूपमा चिनियाँ कम्पनीहरूलाई उन्नत कृषि प्रविधि ल्याउन मद्दत गर्ने र कृषि विकासमा सहयोग पुर्‍याउने कार्यको नेतृत्व गर्छन्। हाल, चीन-फ्रान्स कृषि विज्ञान तथा प्रविधि पार्कमा रहेको स्मार्ट गोलभेडा हरितगृहले नयाँ प्रविधिको प्रयोगसँगै उत्पादन र गुणस्तरमा दुवैमा सुधार ल्याएको छ। उनले भने,"यस स्मार्ट गोलभेडा हरितगृहमा, एक किसिमको नयाँ प्रविधिले डिजिटल व्यवस्थापन र स्मार्ट रिमोट कन्ट्रोल पनि गर्न सक्छ, जसले गर्दा गोलभेडाको गुणस्तर र उत्पादनमा धेरै सुधार भएको छ। यहाँका गोलभेडा स्वादमा मीठो मात्र छैन, हामी बजारको माग अनुसार पनि गोलभेडा उत्पादन गर्न सक्छौँ। हाल परम्परागत खेती पद्धतिको तुलनामा कुल उत्पादन ८ गुणाले बढेको छ।"