विश्वको ध्यान आकर्षित गर्ने चीनको त्यो बैठक
2024-07-24 15:30:36cri
Share with:

---------चेतनाथ आचार्य

  चिनियाँ कम्युनिष्ट पार्टी 'सीपीसी' २० औँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक असार २१ देखि साउन ३ गते (जुलाई १५-१८) सम्म बेइजिङमा आयोजना भएको छ।  तेस्रो पूर्ण बैठकमा केन्द्रीय समितिका २०५ सदस्यमध्ये १९९ जना र बैकल्पिक १७१ मध्ये १६५ जना सहभागी थिए। यस बाहेक बैठकमा सीपीसीका विभिन्न विभागका अधिकारी र विभिन्न क्षेत्रका विशेषज्ञहरुलाई पनि आमन्त्रित रुपमा सामेल गराइएका थिए।

  सीपीसीको तेस्रो पूर्ण बैठक निकै महत्वपूर्ण हुने गर्दछ। यस बैठकको प्रभाव चीनमा मात्र नभएर विश्वभर पर्दछ र बैठकका निर्णयमाथि विश्वले गहन नजर राखेको हुन्छ। चीनको आर्थिक, भूराजनीतिक र सामाजिक विकासमा नीति र निर्देशन जारी गर्ने भएकाले चीन र वाह्य दुनियाँले यसप्रति चासो राखेका हुन्। किनकी चीनले अगाँलेको सुधार तथा खुलापन नीतिको मियो नै सीपीसीको तेस्रो पूर्ण बैठक हुँदै आएको छ। त्यसमाथि चिनियाँ शैलीको आधुनिकीकरणले विश्वजगतको ध्यानआकृष्ट गर्दै आएको छ।

  सन् २०१२ मा सीपीसीको १८ औँ राष्ट्रिय महाधिवेशनबाट सी चिनफिङलाई महासचिव निर्वाचित गर्‍यो। त्यतिबेला विश्वजगतमा ठूलो चासो थियो। सी चिनफिङलाई निकै कडा स्वाभावको नेता मानिन्थ्यो। सी चिनफिङले सुधार र खुलापनभन्दा अझ कठोर र नियन्त्रित आर्थिक व्यवस्था अवलम्वन गर्लान् भनेर एक प्रकारको आशङ्का विश्व बजारमा थियो। चीनले लिने आर्थिक नीतिले चीनमा लगानी गरेका ठूला विदेशी कम्पनीलाई प्रत्यक्ष रुपमा प्रभाव पार्नु स्वाभाविक हो। त्यसमाथि विदेशमा चीनले गरेको विशाल लगानीलाई पनि चिनियाँ आर्थिक नीतिले फरक पार्थ्यो।

 

  विश्वको ध्यान आकर्षित

  विश्व अर्थतन्त्रले अनिश्चितता र चुनौतिहरूको सामना गरिरहेको अवस्थामा, स्थिर शक्तिका रूपमा चीनको भूमिका पहिलेभन्दा धेरै महत्त्वपूर्ण छ। यो तेस्रो पूर्ण बैठक चीनको आर्थिक लचिलोपनलाई बलियो बनाउने, प्राविधिक आविष्कारलाई अगाडि बढाउने र दिगो विकासलाई प्रवर्द्धन गर्ने कुरामा केन्द्रित भएको देखिन्छ। यी प्राथमिकताहरू सबै हिसाबले मध्यम समृद्ध समाज निर्माण गर्ने र शताब्दीको मध्यसम्ममा महान् आधुनिक समाजवादी देश बन्ने दोस्रो शताब्दीको लक्ष्य हासिल गर्ने सीपीसीको दीर्घकालीन दृष्टिकोणसँग मेल खान्छन्।

  यतिबेला विश्वव्यापी रुपमै अर्थतन्त्र उथलपुथलको अवस्थामा छ। ‌यस बैठकले आन्तरिक उपभोगलाई उत्प्रेरित गर्ने, विदेशी लगानीलाई आकर्षित गर्ने र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने नीतिहरू प्रस्तुत गरेर अर्थतन्त्रलाई सक्रिय बनाउने नीति लिएको छ। यसले चिनियाँ स्थिर आर्थिक वृद्धिलाई कायम राख्ने र विश्वव्यापी आर्थिक स्थायित्वमा चीनको योगदानलाई बढाउन खोजेको देखिन्छ।

  महासचिव भएपछि सन् २०१३ मा सीपीसी १८ औँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले असामान्य रूपमा आर्थिक नीति पारित गरिदियो। सो बैठकले आर्थिक र राजनीतिक उदारीकरणका लागि आशा जगायो र अन्तर्राष्ट्रिय जगतमा पनि एक प्रकारको उत्प्रेरणा ल्यायो।

  सीपीसीको तेस्रो पूर्ण बैठको महत्व चीनको सिमानाभन्दा बाहिर पुग्नुको मुख्य कारण चीन एक प्रमुख विश्वव्यापी खेलाडीको रूप रहनु हो। चीनको नीति र निर्णयको विश्व अर्थतन्त्रमा दूरगामी प्रभाव पार्छ। स्थिर र समृद्ध चीनले विश्व शान्ति र विकासमा योगदान पुर्‍याउँछ। आर्थिक लचिलोपन, प्राविधिक नवप्रवर्तन र दिगो विकासलाई प्राथमिकता दिएर चीनले आफ्नो भविष्य सुरक्षित मात्र गर्दैन, त्यस्ता चुनौतीहरूसँग जुधिरहेका अन्य देशहरूका लागि पनि नमूना ढाँचा प्रस्तुत गरेको छ।

  विश्व अर्थतन्त्रमा अनिश्चितता देखापरेसँगै कोभिड महामारीपछि आर्थिक मन्दी छाइरहेका बेला चीनले अर्थतन्त्र सुधारमा केकस्ता नयाँ नीति ल्याउँछ भनेर विश्वले आँखा गाडिरहेको थियो। यही पृष्ठभूमिमा सीपीसीको भरखरै सम्पन्न तेस्रो पूर्ण बैठकलाई विश्वले ध्यान दिनुपर्ने केही मूलभूत कारणहरुमा चीनमा भइरहेको नयाँ गुणस्तरीय उत्पादक शक्तिहरूको केन्द्रीयता, बजारको शक्ति र निजी क्षेत्रको रणनीतिक उपयोगसँगै चीनमा वित्तीय सुधार र वित्तीय जोखिम व्यवस्थापनमा लिइने सरकारी नीति कस्तो रहन्छ भन्ने थियो। किनभने चीनले लिने यी नीतिहरुबाट २ सयभन्दा बढी मुलुकले चीनमा गरेको लगानीलाई धेरथोर असर गर्ने निश्चित छ। अनि विश्वका विभिन्न मुलुकमा भइरहेको चिनियाँ लगानी र व्यापारसँगै सहयोगका कार्यक्रम पनि उल्लिखित नीतिमै भरपर्छ। त्यसमाथि चीनले लिने समाज कल्याण प्रवर्द्धन र विदेशी व्यापारलाई सुनिश्चित गर्ने नीतिसँगै यसको कार्यान्वयन र व्यवस्थापनमा आउने परिवर्तनले पनि सबैको ध्यान तानेको थियो।

 

तेस्रो पूर्ण बैठकको ऐतिहासिक पक्ष

  चीनमा ७५ वर्षदेखि सत्तारुढ रहेको चिनियाँ कम्युनिष्ट पार्टीमा महाधिवेशनपछिको सबैभन्दा शक्तिशाली अङ्ग पूर्ण बैठक हो। सीपीसीको दुई महाधिवेशनबीचको पाँच वर्षमा पाँचवटादेखि ७ वटासम्म पूर्ण बैठक आयोजना हुने गर्दछ। पहिलो पूर्ण बैठकले पार्टीको नेतृत्व चयन गर्दछ। सीपीसीको इतिहासमा महासचिव महाधिवेशनले चयन गर्दैन। महाधिवेशनपछि लगत्तै बसेको पहिलो पूर्ण बैठकले महासचिव चयन गर्छ। त्यसको केही महिनापछि दोस्रो पूर्ण बैठकले चीन सरकारको नेतृत्व चयन गर्छ। सीपीसीको दोस्रो पूर्ण बैठकले आगामी पाँच वर्षका लागि चीनका महत्वपूर्ण राजकीय पदहरुको बाँडफाँड गर्दछ। राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री लगायतका जिम्मेवारीमा को रहने भन्ने कुरा निश्चित भएपछि त्यसपछि बस्ने चिनियाँ राष्ट्रिय जनकंग्रेसको अधिवेशनले ती पदपूर्ति गर्दछ।

  पहिलो र दोस्रो पूर्ण बैठकजस्तै तेस्रो पूर्ण बैठकको महत्व पनि उत्तिकै रहन्छ। किनभने तेस्रो पूर्ण बैठकले नीति तथा कार्यक्रम अन्तर्गत आधुनिक चीनको पहिचानका रुपमा रहेको खुला तथा सुधारका कार्यक्रमलाई मूलभूत रुपमा पारित गर्ने गर्दछ। तेस्रो पूर्ण बैकठमै यसलाई मुख्य विषय बनाउनु पर्ने कारण पनि रोचक छ।

  सीपीसी एघारौँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले सबैभन्दा पहिले सुधार र खुलाबजारको सिद्धान्तलाई अंगीकार गरेको थियो। सन् १९७८ डिसेम्बरको १८ देखि २२ सम्म चलेको सो बैठक नै आधुनिक चीनको एउटा महत्वपूर्ण घुम्तीका रुपमा रह्यो, जहाँ चीन पर्दा उघारेर विश्व रङ्गमञ्चमा देखा परेको थियो। बाहिरी दुनियाका लागि ढोका खुकुलो बनाउँदै कठोर साम्यवादी अर्थतन्त्रलाई तत्कालीन चिनियाँ नेता तङ स्याओफिङले चिनियाँ चरित्रको बजारमुखी समाजवादी अर्थतन्त्र अँलाग्ने निर्णय गराएका थिए। तत्कालीन अवस्थामा यसलाई सुधार र खुलापन भनिएको थिएन। साम्यवादी र पूँजीवादी दुवै चरित्रका अशल कुरा समेटिएको चीनको नवीन अर्थव्यवस्थालाई सन् १९९२ मा सीपीसी चौधौँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले 'चिनियाँ विशेषतायुक्त समाजवादी बजार अर्थनीति' भनेर नामकरण गर्‍यो।

  सन् २००३ मा सीपीसी सोह्रौँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले केही संरचनात्मक सुधारहरू गरेर सरकार र राज्य-स्वामित्वका उद्यमहरूलाई क्रमशः खुला गर्ने निर्णय गरेको थियो भने सन् २००८ मा सीपीसी सत्रौँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले चीनको ग्रामीण क्षेत्रको विकासलाई सम्बोधन गरेको थियो।

  सन् १९७८ को तेस्रो पूर्ण बैठक विशेष गरी राजनीतिक कारणले महत्वपूर्ण थियो। तर इतिहासले उक्त कोशेढुङ्गालाई सधैँ आर्थिक एजेन्डामा केन्द्रित बनाउने गरेको थियो। सन् १९७६ मा सांस्कृतिक क्रान्तिको अवशान भएपछि तङ स्याओफिङ सत्तामा फर्किएका थिए। चारजनाको गुट 'चण्डाल चौकन्डी' (ग्याङ अफ फोर) ले आतताही मच्चाइरहेको बेला राजनीतिक सुधारका लागि सीपीसी एघारौँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले गरेको राजनीतिक सम्बोधन नै कालान्तरमा चीनका लागि सुधार र खुलापनको ढोकाका रुपमा कोशेढुङ्गा साबित भयो। अनि त्यसपछि सीपीसीका हरेक तेस्रो पूर्ण बैठक सुधार र खुलापनका लागि सर्वाधिक चर्चामा रहन थाले।

 

सी चिनफिङ सत्तामा आएपछि

  चिनियाँ बुद्धिजीवीहरु सन् १९७८ पछिको सबैभन्दा उल्लेखनीय तेस्रो पूर्ण बैठकका रुपमा सी चिनफिङ सत्तामा आएपछिको सन् २०१३ मा सम्पन्न सीपीसी अठारौँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकलाई मान्छन्। सन् २०१३ को नोभेम्बरमा सम्पन्न १८ औँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकलाई सी चिनफिङ आफैँले पनि सन् १९७८ को जत्तिकै "युग-निर्माण" घटना रूपमा वर्णन गरेका छन्।

  सन् २०१३ मा सम्पन्न तेस्रो पूर्ण बैठकले चीनमा नीतिगत स्थिरता र अघिल्लो दस वर्षमा चीनमा मौलाएको व्यापक भ्रष्टाचारमाथि निर्मम प्रहार गर्दै आर्थिक सुधार गर्ने निर्णय गरेको थियो। त्यही बैठकले व्यापक रुपमा गहिरो सुधार सम्बन्धी धेरै प्रमुख मुद्दाहरूमा निर्णय गरेको थियो। उदाहरणका रुपमा संसाधन बाँडफाँडमा बजारको भूमिकालाई निर्णायक बनाउँदै ब्याजदर, सम्पत्ति अधिकार, वित्तीय बजार र विदेशी लगानी जस्ता क्षेत्रमा उदारीकरणको ढोका खोलिएको थियो। त्यसैगरी एक सन्तान नीतिको अन्त्य, व्यापारमा लगाउँदै आएको कर प्रणाली घटाउने, बजारमा आधारित ऊर्जा मूल्यहरू थप गर्ने, प्रतिस्पर्धा नीतिलाई सुदृढ गर्ने, निजी बैंकहरूलाई अनुमति दिने, ब्याजदर उदारीकरणमा प्रगति गर्ने, वातावरण संरक्षण र जलवायु कार्यलाई संस्थागत गर्ने मुद्दाहरु प्रमुख थिए।

  बैठकले विकास अवधारणालाई पूर्ण, सही र व्यापक रूपमा पालना गर्ने, जोडतोडसँग उच्च गुणस्तरलाई अघि बढाउने, विस्तृत रूपमा सुधारलाई गहन पार्ने, आर्थिक पुनरुत्थानलाई सकारात्मक दिशातर्फ लैजाने र समाजवादी आधुनिक राष्ट्रको सम्पूर्ण निर्माण गर्ने सन्दर्भमा पाइला चाल्ने निर्णय पनि गरेको छ।

  नयाँ युगको शुरूदेखि व्यापक रूपमा सुधारको सफल अभ्यास र महान उपलब्धिहरूको उच्च मूल्याङ्कन गर्दै अझ सम्पूर्ण रूपमा सुधारलाई गहन पार्ने र चिनियाँ शैलीको आधुनिकीकरणलाई अघि बढाउने अनि त्यस कार्यमा आउने समस्याहरूको अनुसन्धान पनि गरेको छ। सन् २०१२ मा सम्पन्न सीपीसीको १८ औँ राष्ट्रिय महाधिवेशनबाट सी चिनफिङ सत्तामा आएपछिको समयलाई चीनले 'नयाँ युग' नाम दिएको छ।

  वर्तमान र आगामी समय चिनियाँ शैलीको आधुनिकीकरणको आधारमा सशक्त राष्ट्र निर्माण र चीन राष्ट्रको पुनरुत्थान महान कार्यलाई सम्पूर्ण रूपमा अघि बढाउनका लागि ज्यादै महत्वपूर्ण अवधि रहेको किटान पनि गरेको छ।

 

सम्पन्न चीनको सपना

  बैठकले सम्पूर्ण रूपमा सुधारलाई गहन पार्ने सन्दर्भमा सी चिनफिङले प्रस्तुत गरेको शृङ्खलावद्ध नयाँ विचार, नयाँ दृष्टिकोण र नयाँ निष्कर्षको गहन रूपमा अनुसन्धान गर्दै चिनियाँ शैलीको आधुनिकीकरणका लागि बलियो शक्ति र प्रणालीगत सुनिश्चितता प्रदान गर्ने निर्णय पनि गरेको छ।

  थप व्यापक सुधारको कुल लक्ष्य चिनियाँ विशेषतायुक्त समाजवादी व्यवस्थालाई निरन्तर रूपमा पूर्णता दिलाउनु र विकसित पार्नुका साथै राष्ट्रको शासन प्रणाली र शासन क्षमताको आधुनिकीकरणलाई प्रवर्द्धन गर्नु रहेको ठहर गर्दै सन् २०३५ सम्म, उच्चस्तरीय समाजवादी बजारमूलक अर्थतन्त्र प्रणालीको पूर्ण रूपमा निर्माण हुने, चिनियाँ विशेषतायुक्त समाजवादी व्यवस्था अझ पूर्णता हुने, राष्ट्रिय शासन प्रणाली र शासन क्षमताको आधुनिकीकरण मोटामोटी रूपमा पूरा हुने र यसै शताब्दीको मध्यकालसम्म सम्पूर्ण रुपमा समाजवादी आधुनिक शक्तिशाली राष्ट्रको निर्माणका लागि बलियो जग बसाल्ने कुरा पनि बैठकले दोहोर्‍याएको छ। सन् २०२२ मा सम्पन्न सीपीसीको बीसौँ राष्ट्रिय महाधिवेशनले पनि यी लक्ष्यहरु किटान गरेको छ।

  चीनमा थप व्यापक सुधार गर्नका लागि सुधार र खुलापनको आरम्भदेखि विशेषत: नयाँ युगसम्म आउँदा सम्पूर्ण सुधारलाई गहन पार्ने क्रममा प्राप्त मूल्यवान अनुभवहरूको निचोड निकालेर सदुपयोग गर्नुपर्ने कुरामा बैठकले जोड दिएको छ। यसका अतिरिक्त, पार्टीको व्यापक नेतृत्वलाई कायम राख्ने,जनतालाई केन्द्रमा राख्ने, संस्थागत निर्माणलाई मियोका रूपमा लिने, कानुनी शासन बमोजिम राष्ट्रको सञ्चालन गर्ने आदि सिद्धान्तलाई अक्षरश: पालना गर्ने कुरालाई जोड दिइएको छ।

  थप व्यापक सुधारका लागि प्रणालीगत व्यवस्था गर्दै उच्चस्तरको समाजवादी बजारमूलक आर्थिक प्रणालीको निर्माण, उच्च गुणस्तरीय आर्थिक विकासलाई प्रवर्द्धन गर्नुका साथै प्रणाली र संरचनालाई सुधार गर्ने र व्यापक सिर्जनशील व्यवस्थाको निर्माणलाई समर्थन गर्ने विषयमा जोड दिइएको छ।

  तेस्रो पूर्ण बैठकले उच्चस्तरीय समाजवादी बजारमूलक अर्थतन्त्र प्रणालीनै चिनियाँ शैलीको आधुनिकीकरणको महत्वपूर्ण ग्यारेन्टी भएकाले बजार संयन्त्रको भूमिका अझ राम्रोसँग खेलाउने, थप निष्पक्ष र जीवन्त बजारको वातावरण सिर्जना गर्नुपर्ने कुरा पनि जनाएको छ।

  तेस्रो पूर्ण बैठकपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ: उच्च गुणस्तरीय विकाससमाजवादी आधुनिकीकरण राष्ट्रको पूर्ण निर्माणको प्रमुख कार्यभार रहेको छ। शिक्षा, विज्ञान-प्रविधि र योग्य व्यक्ति नै चिनियाँ शैलीको आधुनिकीकरणका लागि आधारभूत र रणनीतिक साधन हुन्। वैज्ञानिक समष्टिगत नियन्त्रण र सरकारको प्रभावकारी शासनले समाजवादी बजारमूलक आर्थिक व्यवस्थाको श्रेष्ठतालाई खेलाउने आन्तरिक माग हो। ग्रामीण क्षेत्र र शहरी समायोजन विकास चिनियाँ शैलीको आधुनिकीकरणका लागि अपरिहार्य आवश्यकता हुन्। खुलापन नै चिनियाँ शैलीको आधुनिकीकरणको स्पष्ट पहिचान हुनुका साथै सम्पूर्ण प्रक्रियामा जनवादी विकास चिनियाँ शैलीको आधुनिकीकरणको मौलिक आवश्यकता हो। यस बाहेक, कानुनी शासन चिनियाँ शैलीको आधुनिकीकरणको महत्वपूर्ण प्रत्याभूति हो भने चिनियाँ शैलीको आधुनिकीकरण वास्तवमा भौतिक र बौद्धिक सभ्यतालाई समेटिएको समन्वयात्मक आधुनिकीकरण हो।

 

  सी चिनफिङको नयाँ नाराः चिनियाँ शैलीको आधुनिकीकरण

  सम्पन्न तेस्रो पूर्ण बैठकले सी चिनफिङलाई अझै शक्तिशाली बनाएको छ। उनले अगाडि सारेको चिनियाँ शैलीको आधुनिकीकरण नारालाई प्राथमिकताका साथ बैठकका विभिन्न एजेण्डामा समेटिएको छ।

  विकासको प्रक्रियामा जनजीवनको प्रत्याभूति र सुधार चिनियाँ शैलीको आधुनिकीकरणको प्रमुख र महत्वपूर्ण कार्यभार ठानेर चिनियाँ शैलीको आधुनिकीकरण मानव र प्रकृतिबीच मेलमिलापयुक्त र सुमधुर सहअस्तित्व नै आधुनिकीकरण रहेको किटान गरिएको छ। राष्ट्रिय सुरक्षालाई चिनियाँ शैलीको आधुनिकीकरण दीर्घकालीन र स्थिररूपमा विकसित हुँदै जाने महत्वपूर्ण जग मानिएको छ। राष्ट्रिय प्रतिरक्षा र सैन्य फौजको आधुनिकीकरण नै चिनियाँ शैलीको आधुनिकीकरणको महत्वपूर्ण भाग हो भन्दै पार्टीको नेतृत्व नै थप व्यापक सुधार र चिनियाँ शैलीको आधुनिकीकरणलाई प्रवर्द्धन गर्ने मूलभूत प्रत्याभूति रहेको कुरामा जोड दिइएको छ।

  चिनियाँ शैलीको आधुनिकीकरण शान्तिपूर्ण विकास हुने मार्ग अपनाउने आधुनिकीकरण रहेको कुरामा जोड दिइएको छ। स्वतन्त्र र आत्मनिर्भर शान्तिपूर्ण कूटनीतिक नीति दृढतापूर्वक पालना गर्नुपर्ने भन्दै राष्ट्रिय सार्वभौमिकता, सुरक्षा र विकासका हितहरूको पनि दृढतापूर्वक संरक्षण गर्नुपर्ने कुरामा स्पष्ट अडान प्रस्तुत गरिएको छ।

  वर्तमान परिस्थिति र कार्यभारको विश्लेषण गर्दै वार्षिक आर्थिक र सामाजिक विकासका लक्ष्यहरूलाई अडानका साथ साकार तुल्याउने कुरामा बैठकले जोड दिएको छ।

  तेस्रो पूर्ण बैठक पछि जारी गरिएको विज्ञप्तिमा अझ घनिष्ट रूपमा सी चिनफिङ केन्द्रित पार्टी केन्द्रीय समितिलाई अझै एकताबद्ध भई सुधार र खुलापनको झण्डालाई उठाउँदै हृदय र शक्ति एकीकृत गरी उन्नति र प्रयास गर्न सम्पूर्ण पार्टी, सेना र सबै जातजातिका जनतालाई आह्वान गरिएको छ।

साभारः सेतोपाटी अनलाइन (२०२४ जुलाई २३)