काँकडभिट्टाबाट १५ अर्बको चिया, अलैची र अदुवा निर्यात
2024-07-24 16:23:54cri
Share with:

नेपालको पूर्वीनाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८०/८१ मा १५ अर्ब ३३ करोड १७ लाख ५३ हजार मूल्य बराबरको अलैची, चिया, अदुवा र कुचो भारत निर्यात भएको छ। उक्त अवधिमा १८ अर्ब ९५ करोड ७८ लाख ८५ हजार  बराबरको कृषिजन्य वस्तु भारत निर्यात भएको राष्ट्रिय समाचार समितिले लेखेको छ।

आर्थिक वर्ष २०८०/८१ मा  काँकडभिट्टाबाट छ अर्ब ९८ करोड ८८ लाख मूल्यको जैविक चिया भारत निर्यात भएको क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चनद्रेश्वर यादवले बताउनुभयो। यो नाकाबाट सबैभन्दा धेरै अलैची, चिया, अदुवा र कुचो निर्यात भएको छ। सोही अवधिमा ११ हजार ६४८ मेट्रिक टन चिया निर्यात भएको छ। 

आर्थिक वर्ष २०८०/०८१ मा यही नाका भएर छ अर्ब ५२ करोड १७ लाख मूल्य बराबरको चार हजार ५१० मेट्रिक टन अलैची भारत निर्यात भएको छ। सूचना अधिकारी यादवका अनुसार उक्त अवधिमा एक अर्ब २४ करोड आठ लाख ५० हजार मूल्य बराबरको नौ हजार ५४५ मेट्रिक टन कुचो भारत निर्यात भएको छ।

पहाड र तराईमा उत्पादन हुने अदुवा ठूलो परिमाणमा निर्यात हुने कृषिवस्तुमध्ये एक हो। आव २०८०/८१ मा काँकडभिट्टाबाट ५८ करोड चार लाख तीन हजारको अदुवा निर्यात भएको सूचना अधिकारी यादवले जानकारी दिनुभयो।