तेस्रो लगानी सम्मेलनको वर्ष : ७० अर्बभन्दा बढी विदेशी लगानीको प्रतिबद्धता भित्रियो
2024-07-29 16:05:01cri
Share with:

आर्थिक वर्ष २०८०/०८१ मा ७० अर्ब २० करोड रुपैयाँभन्दा बढीको विदेशी लगानी प्रतिबद्धता आएको छ । अघिल्लो वर्ष साउनदेखि गत असारसम्मको अवधिमा विभिन्न मुलुकका लगानीकर्ताले सो मूल्य बराबरको विदेशी लगानी प्रतिबद्धता गरेका हुन्। ५४६ वटा लगानीमार्फत ७० अर्ब रुपैयाँभन्दा बढीको प्रतिबद्धता आएको हो । उद्योग विभागका अनुसार गत आर्थिक वर्षमा स्वचालित प्रणाली र परम्परागत प्रणालीबाट गरी सो रकम बराबरको लगानीको प्रतिबद्धता आएको छ ।

सरकारले वैशाख १६ र १७ गते आयोजित दुई दिने लगानी सम्मेलनका क्रममा स्वचालित प्रणालीको सुरुवात गरेको थियो । स्वचालित मार्ग (अटोमेटिक रुट)मार्फत ५० करोड रुपैयाँसम्मका विदेशी लगानीका उद्योग स्थापना गर्न सकिन्छ ।

यो माध्यमबाट ऊर्जामूलक उद्योग, कृषि तथा वन पैदावारमा आधारित उद्योग, पूर्वाधार उद्योग, पर्यटन उद्योग, सूचना प्रविधिमा आधारित उद्योग, सेवामूलक उद्योग, उत्पादनमूलक उद्योगसमेत दर्ता गर्न पाइन्छ ।

वैशाखको तेस्रो सातादेखि सञ्चालनमा आएको यो प्रणालीबाटै त्यसयता ८ अर्ब ११ करोड ६२ लाख रुपैयाँ विदेशी लगानीको प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ । परम्परागत प्रणाली (उपस्थित बनेर दर्ता गर्ने विधि)मार्फत ६१ अर्ब ९० करोड ४५ लाख रुपैयाँको प्रतिबद्धता आएको छ । स्वचालित प्रणाली र परम्परागत प्रणालीमार्फत गरी कुल ७० अर्ब २० करोडको लगानी प्रतिबद्धता आएको हो ।

यस अवधिमा ५४६ वटा उद्योग स्थापनाको प्रतिबद्धता आएको छ । यस्तै नेपालमा वैदेशिक लगानी सुरु भए यता ६ हजार २६७ वटा प्रतिबद्धतामार्फत ५ खर्ब ११ अर्ब ८९ करोड रुपैयाँभन्दा बढी लगानीको प्रतिबद्धता आएको रातोपाटी अनलाइनले जनाएको छ। यसबाहेक यस अवधिमा स्वचालित प्रणालीमार्फत मात्रै १३९ वटा उद्योग दर्ता भएका छन्।

विदेशी लगानी भित्रिएमा २२ हजार ९४ जनाले रोजगारी पाउनेछन् ।

यसैबीच आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा धेरै लगानी असार महिनामा भित्रिएको छ । तथ्याङ्कअनुसार असार महिनामा मात्रै १९ अर्ब ९५ करोड रुपैयाँ विदेशी लगानीको प्रतिबद्धता आएको छ । यो महिना भित्रिएको प्रतिबद्धता बमोजिम लगानी आएमा १ हजार ९४५ जनाले रोजगारी पाउनेछन् । यस्तै वैशाखमा १२ अर्ब ३६ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । वैशाखमा दुई दिन लगानी सम्मेलन आयोजना भएको थियो । लगानी बोर्डको नेतृत्वमा तेस्रो लगानी सम्मेलन आयोजना भएको थियो । सम्मेलनका क्रममा जम्मा १२ अर्ब हाराहारीको लगानी प्रतिबद्धता आएको थियो । सोही महिना उद्योग विभागमार्फत हुने प्रतिबद्धता समेत १२ अर्ब हाराहारी नै देखिएको थियो ।

लगानी बोर्डको कार्यालयले ६ अर्ब रुपैयाँभन्दा ठुला आयोजनाको लगानी स्वीकृत गर्छ । यस्तै २०० मेगावाटभन्दा बढीका विद्युत् आयोजनाको समेत लगानी स्वीकृति बोर्डले नै गर्छ । सोही कारण बोर्डले स्वीकृत गर्ने लगानी र विभागले गर्ने लगानीमा फरक–फरक तथ्याङ्क हुन्छ । आर्थिक वर्षको सुरुवातमा समेत ठुलो लगानीको प्रतिबद्धता भित्रिएको तथ्याङ्क छ । साउन महिनामा ११ अर्ब ९३ करोड लगानी प्रतिबद्धता भित्रिँदा ३ हजार ३०१ जनाले रोजगारी पाउने बताइएको छ । यसबाहेक माघमा सबैभन्दा कम ३४ करोड ५० लाख रुपैयाँको प्रतिबद्धता भित्रिएको तथ्याङ्क छ ।

प्रतिबद्धता आए पनि लगानी भने नआउने गरेको तथ्याङ्कले देखाएको छ । नेपाल राष्ट्र बैंकले गरेको एउटा सर्वेक्षणले प्रतिबद्धताको तुलनामा कार्यान्वयन न्यून देखाएको हो । राष्ट्र बैंकका अनुसार प्रत्येक वर्ष प्रतिबद्धताको ३६ प्रतिशत मात्रै कार्यान्वयन हुन्छ । सन् १९९५–९६ देखि २०२१–२२ सम्म गरेको सर्वेक्षणले यस्तो देखाएको हो । उद्योग विभागका प्रवक्ता अर्जुन सेन ओलीका अनुसार गत आर्थिक वर्ष ७० अर्ब रुपैयाँभन्दा बढीको लगानी भित्रिनु प्रशंसनीय विषय हो । लगानी सम्मेलन आयोजना गरेको वर्ष र ५० करोड रुपैयाँसम्मको लगानी प्रतिबद्धता स्वचालित प्रणालीमार्फत भित्रिने व्यवस्था गरेको वर्ष उत्साहजनक प्रतिबद्धता आएको हो। उनका अनुसार यसअघि २०७०/७१ मा ६७ अर्ब रुपैयाँको प्रतिबद्धता आएको थियो । त्यसयता ठुलो मात्रामा लगानीको प्रतिबद्धता आइरहेको थिएन।