विश्व बाघ दिवस: नेपालमा पनि मनाइँदै
2024-07-29 16:06:35cri
Share with:

आज विश्व बाघ दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै छ। सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा आयोजित अन्तर्राष्ट्रिय बाघ मञ्चले प्रत्येक जुलाई २९ मा विश्व बाघ दिवस मनाउने घोषणा गरेसँगै यो दिवस मनाउन थालिएको हो।

बाघको संरक्षणार्थ उनीहरूको बास स्थलको संरक्षण, बाघको सङ्ख्यामा आएको ह्रासबारे जनचेतना वृद्धि, उनीहरूको संरक्षणका मुद्दाहरूको उठानका साथै बाघ संरक्षणमा भएका प्रयासहरूको सराहना र प्रोत्साहन लगायतका विषयमा केन्द्रीत भई यो दिवस मनाउने गरिन्छ।

यो वर्षको विश्व बाघ दिवस ‘मानव बाघ सहअस्तित्व र समृद्धि’ नाराका साथ मनाउन थालिएको छ। बाघको सङ्ख्या बढेसँगै थपिएको चुनौती व्यवस्थापन गर्नु नेपालको आजको प्रमुख मुद्दा बनेको छ।

नेपालमा आउने कुल विदेशी पर्यटकमध्ये ८० प्रतिशतभन्दा बढी प्रकृतिमा आधारित पर्यटकीय क्षेत्र घुम्न जाने गरेका छन्। त्यसमा पनि अधिकांश बाघ हेर्नका लागि आउने गरेको तथ्याङ्कले देखाएकाले बाघलाई नेपालको पर्यापर्यटन विकासका ब्राण्ड बनाउने कोसिस गर्नुपर्छ।

पाटे बाघ विश्वका १३ देशमा पाइन्छन्। ती मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सन् २०१० मा सेन्टपिटर्सवर्गमा भएको सम्मेलनले बाघको सङ्ख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता व्यक्त गरेको थियो।

सन् २००९ मा १२१ गणना भएका बाघ सन् २०२२ मा पुग्दा नेपालका वनजङ्गलमा सङ्ख्या ३५५ पुगेको छ। नेपालले सन् २०२२ सम्ममा २५० पुर्याउने लक्ष्य राखेको थियो। नागरिकन्यूज