ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबिच भेटवार्ता
2024-07-30 16:14:56cri
Share with:

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबिच भेटवार्ता भएको छ । ऊर्जामन्त्रीको कार्यकक्ष सिंहदरबारमा भएको भेटमा नेपाल-चीन सम्बन्धका विविध पक्षबारे छलफल भएको छ ।

भेटमा राजदूत सोङले ऊर्जा क्षेत्र नेपालको विकासका लागि महत्त्वपूर्ण र अपरिहार्य भएकाले यसको विकासका लागि चीनले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले वर्तमान सरकार मुलुकका दुई ठुला राजनीतिक दल मिलेर बनेकाले उक्त सरकारले विकासलाई अगाडि बढाउनेमा आफू पूर्ण आशावादी रहेको बताउनुभयो ।

भेटका क्रममा ऊर्जामन्त्री खड्काले कोरोना महामारीका समयमा बन्द रहेका चीनसँग जोडिएका नाका सञ्चालनमा ल्याउन गरेको सहयोगप्रति धन्यवाद दिनुभयो । “म पनि चीनसँग सिमानाका जोडिएको जिल्लाको निर्वाचित सांसद हुँ, चीनसँग जोडिएको नेपालका सिमानाकाका जनताको जीवनस्तर सहजीकरणका लागि नागरिकताबाट चीन प्रवेशको वातावरण मिलाई दिनु हुनेछ भन्ने आशा मैले लिएको छु,” उहाँले भन्नुभयो ।

चीनसँग नेपालले ऋण नभई अनुदान सहयोग चाहेको मन्त्री खड्काको भनाइ छ । राससका अनुसार ऊर्जामन्त्री खड्काले चीनले सामाजिक, आर्थिक र प्रविधिको विकासमा ठुलो फड्को मारेकाले यसको अनुसरण नेपालले समेत गर्न चाहेको उल्लेख गर्नुभयो।