गण्डकी प्रदेशका विभिन्न स्थानमा घुम्न जानेमा सबैभन्दा बढी युरोपेली मुलुकका पर्यटक छन्। प्रदेशका ६ जिल्लामा गरेको राष्ट्र बैंकको सर्वेक्षणअनुसार उनीहरुले दैनिक साढे ८ हजार खर्च गर्ने गरेका छन्। अध्ययनअनुसार यहाँ आउने पर्यटकको औसत बसाइ २२ दिन छ। १२ दिन गण्डकीमै बिताउँछन्। सर्वेक्षणमा संलग्न पर्यटकहरुको नेपालको औसत बसाइको तुलनामा गण्डकी प्रदेशको औसत बसाइ ५४.५५ प्रतिशत छ।
गण्डकीमा पुरुष पर्यटकहरुको तुलनामा महिला पर्यटकको औसत बसाइ अवधि उच्च पाइएको छ। नेपाल भ्रमण गर्ने महिला पर्यटकहरुले औसतमा २५ दिन र पुरुष पर्यटकहरुले औसतमा २० दिन भ्रमण गर्ने गरेका छन्। सर्वेक्षणमा समावेश पर्यटकहरुमध्ये केही पनि समस्या अनुभव नगरेका पर्यटकहरु २८.४१ प्रतिशत हुँदा बाँकी ७१.५९ प्रतिशत पर्यटकहरुले विभिन्न समस्या परेको बताएका छन्। यीमध्ये यातायातको समस्या भोग्ने २३.११ प्रतिशत, भुक्तानीको समस्या व्यहोर्ने १५.३४ प्रतिशत र भाषागत जटिलताको अनुभव गर्ने १२.३१ प्रतिशत पर्यटक छन्।
गण्डकी प्रदेशमा सबैभन्दा बढी भारत, फ्रान्स, अमेरिका, बेलायत र अस्ट्रेलियाबाट पर्यटक आउने गरेको अध्ययनले देखाएको छ। गण्डकी प्रदेशमा आउने पर्यटकहरुमध्ये ३१ देखि ४५ वर्ष उमेर समूहका पर्यटकहरु सबैभन्दा बढी ३३ प्रतिशत रहेको पाइएको छ भने सबैभन्दा कम २० वर्षसम्म उमेर समूहका पर्यटकहरु १.५ प्रतिशत रहेको देखिएको नेपालखबर अनलाइनले जनाएको छ।
यसैबीच राष्ट्र बैंकको सर्वेक्षणले गण्डकी प्रदेशमा पर्यटकहरु विभिन्न उद्देश्य लिएर भ्रमण गर्ने गरेकोमा सबैभन्दा बढी पर्यटक साहसिक क्रियाकलापमा संलग्न ४०.१८ प्रतिशत आएका छन्। मनोरञ्जनका लागि २४.३ प्रतिशत, सांस्कृतिक प्रयोजनका लागि १६.८४ प्रतिशत, धार्मिक प्रयोजनका लागि १०.१८ र सबैभन्दा कम २.९८ प्रतिशत पर्यटकहरु व्यापारिक प्रयोजनका लागि आउने गरेका छन्।
गण्डकीमा पहिलोपटक आउने पर्यटकहरु ६८ प्रतिशत रहेका छन् भने ३२ प्रतिशत पर्यटक एकपटक भन्दा बढी पटक आउने गरेका छन्। घुम्न आउँदा एकलरुपमा भ्रमण गर्ने पर्यटकको संख्या ३४.७५ प्रतिशत, साथीसँग भ्रमण गर्ने पर्यटकको संख्या २८.७५ प्रतिशत, परिवारसँग भ्रमण गर्ने पर्यटकको संख्या २२.५० प्रतिशत र समूहमा भ्रमण गर्ने पर्यटकको संख्या १४ प्रतिशत छ।
अध्ययनमा संलग्न पर्यटकहरुमध्ये ३१ देखि ४५ उमेर समूहका पर्यटकहरुको औसत बसाइ अवधि उच्च छ। त्यसैगरी ५५ देखि बढी उमेर समूहका पर्यटकहरुको गण्डकी प्रदेशमा औसत बसाइ अवधि सबैभन्दा न्यून छ।
गण्डकी प्रदेशका विभिन्न ६ जिल्लाबाट नमूना संकलन गरिएकोमा मनाङ जिल्लामा भेटिएका पर्यटकहरुको गण्डकी प्रदेशमा औसत बसाइ अवधि सबैभन्दा धेरै १८ दिन र गोरखा जिल्लामा भेटिएका पर्यटकहरुको गण्डकी प्रदेशमा औसत बसाइ अवधि सबैभन्दा न्यून ४ दिन छ। गण्डकी प्रदेशमा आउने पर्यटकहरुको प्रदेशमा बसाइको अनुभवप्रतिको दृष्टिकोण विश्लेषण गर्दा ६० प्रतिशत पर्यटकहरु एकदमै सकारात्मक, ३४.७५ प्रतिशत सकारात्मक, ५ प्रतिशत तटस्थ र ०.२५ प्रतिशत नकारात्मक रहेको अध्ययनले देखाएको छ।
गण्डकी घुम्ने पर्यटकहरुमा स्वतःस्फुर्त रुपमा ७६ प्रतिशत र प्याकेज भ्रमणमा आउने पर्यटकहरु २४ प्रतिशत छन्। प्याकेज लिएर भ्रमण गर्न आउने पर्यटकहरुमध्ये राष्ट्रिय प्याकेज लिने पर्यटकहरुको अंश ५३.१२ प्रतिशत र अन्तर्राष्ट्रिय प्याकेज लिने पर्यटकहरु ४६.८८ प्रतिशत छन्।
यसैगरि पर्यटकहरुले सबैभन्दा बढी खर्च खानामा २८.२२ प्रतिशत गर्ने गरेका छन्। यसबाहेक बसाइमा २७ प्रतिशत, यातायात खर्चमा २१.७ प्रतिशत र मनोरञ्जनमा १२.३ प्रतिशत खर्च गर्ने देखिएको छ।