चीनको आर्थिक विकास नेपालको समृद्धिमा सहयोगी हुनसक्ने नेपालका लागि चिनियाँ राजदूत छन सोङको विचार
2024-07-31 15:40:47cri
Share with:

नेपालका लागि चिनियाँ राजदूत छन सोङले चीनको आर्थिक विकास नेपालको समृद्धिमा सहयोगी हुनसक्ने धारणा राख्नुभएको छ। उहाँले घनिष्ठ छिमेकी मुलुक नेपालको आर्थिक तथा सामाजिक विकास नै चीनको उत्कट चाहना रहेको उल्लेख गर्नुभयो । राजधानी काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले बिआरआईअन्तर्गतका परियोजना नेपालको हितमा रहेको बताउनुभयो । भन्नुभयो, ‘चिनियाँ कम्युनिष्ट पार्टीको हालै सम्पन्न २० औं केन्द्रीय समितिको तेस्रो राष्ट्रिय बैठकले पारित गरेका कतिपय सुधारका योजनाबाट नेपाल र नेपाली लाभान्वित हुन सक्छन् ।’

दुबै मुलुकले उच्च हिमाली क्षेत्रको कठोर अवरोधलाई पन्छाएर विभिन्न माध्यमका कनेक्टिभिटीमा निरन्तर जोडिन उपयुक्त सञ्जाल अवलम्बन गर्नुपर्नेमा उहाँको जोड छ। त्यसैगरी कृषि,उद्योग,व्यापार, ‘डिजिटल टेक्नोलोजी, ऊर्जा,पर्यटन क्षेत्रको क्षमता विस्तारबाट नेपाललाई समृद्धिको अवसर प्राप्त हुनेमा राजदूत विश्वस्त देखिनुभएको छ।

आफ्नो सम्बोधनमा उहाँले चीनले निरन्तर सुधार र खुलापनको सन्देश प्रवाह गरेको उल्लेख गर्नुभयो । चिनियाँ कम्युनिष्ट पार्टी सुधार र खुलापनलाई दृढतापूर्वक अघि बढाउँदै नयाँ युगको नयाँ यात्रामा लम्किरहेको जानकारी पनि दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै चाइना मिडिया ग्रुप (सिएमजी) का एसिया–प्रशान्त निर्देशक छाओ यीले चीन नेपाल विकासको उपयुक्त पथको खोजीमा सक्रिय रहेको उल्लेख गर्नुभयो। स्वतन्त्रता,आन्तरिक सुदृढीकरण र समृद्धि हासिल गर्न नेपाल प्रयासरत रहेको दावी गर्दै भन्नुभयो,‘हिमालयको दुईतर्फ रहेका चीन र नेपालबीच सर्वोच्च शिखर सगरमाथा छ । दुई देशका जनताबीचको सम्बन्ध पनि त्यस्तै उच्च छ ।’

त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजालले दुई मुलुकबीचको सौहार्द्रपूर्ण सम्बन्धमा प्रकाश पार्नुभयो । उहाँले समानता, आपसी हित र दिगो मैत्रीप्रति दृढ विश्वास भएका नेपाल र चीनबीचको सम्बन्ध समस्यामुक्त रहेको बताउनुभयो। नेपालको विकासमा चीनको उदारतापूर्ण सहयोग रहेको र नेपालले चीनको चासोलाई सँधै ध्यानमा राखेको उहाँको भनाइ थियो ।

बिआरआई परियोजना कार्यान्वयनबारे तत्काल निर्णय हुनेमा उहाँ विश्वस्त देखिनुहुन्थ्यो। दुई मुलुकबीच बढ्दै गएको जनस्तरको सम्बन्धले पनि मैत्रीपूर्ण सम्बन्ध कसिलो बनेको रिजालको भनाई छ ।

कार्यक्रममा नेपाल चाइना मिडिया फोरमका अध्यक्ष किशोर श्रेष्ठले प्रविधि र ज्ञान आदानप्रदानको क्षेत्रलाई थप फराकिलो पार्नुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो,‘पारस्परिक सहयोगलाई दिगो बनाउँदै जनस्तरको सम्बन्धलाई सुदृढ पार्ने कार्यमा सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका खेल्न सक्छन् । हाम्रा सञ्चार संस्थाहरु प्रामाणिक,निष्पक्ष र जवाफदेही पत्रकारितामा समर्पित छन् ।’

साइनो–नेपाल मिडिया सोसाइटीको सहकार्यमा सिएमजीले आयोजना गरेको ‘चीनको निरन्तर सुधारबाट नयाँ युगमा विश्वव्यापी अवसर’ शीर्षक कार्यक्रम दुई मुलुकबीचको सम्बन्धलाई थप सुदृढ बनाउन सहयोगी हुने बताइएको छ ।  जनआस्था अनलाइनका अनुसार सोसाइटीका अध्यक्ष ध्रुव पौडेल भन्नुभयो, ‘जनस्तरमा यस्ता कार्यक्रमले पार्ने सकारात्मक प्रभाव निकै खँदिलो हुन्छ। राज्यस्तरको आफ्नो संयन्त्र छुट्टै छ ।’