नेपालको पर्यटन आवागमनमा वर्षाको असर
2024-08-03 15:40:15cri
Share with:

अंग्रेजी महिना जुलाईमा ६४ हजार ५ सय ९९ पर्यटक हवाईमार्गबाट नेपाल भित्रिएका छन्। यो कोभिड-१९ अघिको पर्यटक आगमनभन्दा करिब ९ प्रतिशतले कम हो। २०१९ मा ७० हजार ९ सय १६ पर्यटक आएको तथ्यांक छ। नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार कोभिड–१९ अघिको तुलनामा ९१.०९ प्रतिशतमात्र पर्यटक नेपाल आएका छन्। सरकारले चालु आर्थिक वर्षको बजेटबाट १६ लाख पर्यटक नेपाल भित्र्याउने भनेको छ। जनवरीदेखि जुलाईसम्म सात महिनाको अवधिमा करिब ५ लाख ८३ हजार पर्यटक नेपाल आएका छन्।

क्षेत्रगत रूपमा सबैभन्दा धेरै सार्क राष्ट्रहरूबाट पर्यटन नेपाल घुम्न आएका छन्। एसियाको सार्क क्षेत्रबाट मात्रै ४२.१ प्रतिशत पर्यटक आएका छन्। त्यसपछि, एसियाकै अन्य मुलुकबाट १८.४ प्रतिशत, युरोपबाट १४.४ प्रतिशत, अमेरिकाबाट १३.७ प्रतिशत, ओसिनियाबाट ३.२ प्रतिशत र अन्यबाट ८.२ प्रतिशत पर्यटक नेपाल आएका छन्।

नेपाल भित्रिने प्रमुख गन्तव्य मुलुकहरूमा भारत नै पहिलो रहेको छ। जुलाई महिनामा २१ हजार ४ सय ९१ पर्यटक नेपाल भित्रिएका छन्। यो तथ्यांकमा स्थलगत मार्गबाट नेपाल भित्रिने भारतीय पर्यटकको संख्या भने समावेश गरिएको छैन। दोस्रो गन्तव्य मुलुकमा अमेरिकाबाट ७ हजार ८ सय ६४ पर्यटक नेपाल आएका छन्। चिनियाँ पर्यटक प्रवद्र्धन बोर्डले केही काम गरेको भए पनि आगमन संख्यामा त्यसको प्रभाव देखिएको छैन। छिमेकी मुलुक भारतपछि चीन नेपालको दोस्रो ठूलो गन्तव्य मुलुक बन्न सक्ने बोर्डले बताउँदै आएको छ।

जुन, जुलाई र अगस्ट महिनालाई कम पर्यटक आउने महिनाको रूपमा लिइन्छ। यी महिनाहरूमा पानी पर्ने हुँदा त्यसको असर पर्यटक आवागमन देखिने गरेको नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछाने बताउनुहुन्छ।  

अन्नपूर्णपोस्ट अनलाइनका अनुसार सरकारी तथ्यांकले नेपालमा पर्यटक मनोरञ्जन गर्न आउने गरेको देखाउँछ। तर, वास्तविक रूपमा साहसिक पर्यटनका लागि नेपाल पर्यटकको रोजाइमा पर्ने गरेको छ। सरकारको आयस्रोतमा पनि साहसिक पर्यटनको योगदान बढी हुने गरेको छ।

‘मनसुनमा पर्यटक घुम्न रुचाउँदैन। यस्तै, पानी परेको बेलामा नेपालको प्रमुख आकर्षण साहसिक पर्यटन पनि प्रायः ठप्प हुन्छ। यसले पर्यटन संख्यामा कमी देखिन्छ,’ लामिछाने भन्नुहुन्छ। नेपालमा पर्यटक प्रवद्र्धनमा नयाँ आयामहरू थप्नेभन्दा पनि परम्परागत रूपमा मात्र अघि बढेको पर्यटनविज्ञ दीपकराज जोशीको भनाइ छ। वर्षभरिमा दुई सिजनमा पर्यटक आगमन बढ्ने गरेको छ। सेप्टेम्बर, अक्टुबर र नोभेम्बर महिनामा पर्यटक सबैभन्दा बढी आउने गरेका छन्। त्यसपछि भनेको मार्च, अप्रिल र मे महिनामा पर्यटन संख्या बढ्ने गरेको छ। यी सिजनमा हिमाल आरोहण, पर्वतरोहण, ट्रेकिङ, र्या‍फ्टिङ पर्यटकको रोजाइमा पर्छन्।

१२ महिना नै पर्यटक भित्र्याउने सक्ने सम्भावना भएर पनि स्पष्ट कार्यदिशाको कमिले त्यसो हुन नसकेको जोशी बताउनुहुन्छ। भारत, बंगलादेशलगायतका मुलुकहरूले मनसुन पर्यटनको रूपमा प्रवद्र्धन गर्ने गरेको विज्ञ बताउँछन्। तर, नेपालमा पर्यटन प्रवद्र्धनमा सरोकारवाला निकायहरूको चासो कम देखिएको जोशीको भनाइ छ।  ‘सार्वजनिक–निजी साझेदारीको रूपमा पर्यटन क्षेत्रलाई अघि बढाउन पर्यटन बोर्ड स्थापना गरिएको हो।

तर पर्यटन बोर्ड नै दिशाविहीन बनेको छ,’ जोशीको भनाइ छ। यातायात सञ्जाल, हवाई सञ्जाललगायत अन्य आवश्यक पूर्वाधारको कमी पनि पर्यटन प्रवर्द्धनमा समस्याको रूपमा रहेको जोशी बताउनुहुन्छ।