सर्बियाकी युवती येलिनाको चीन बसाइको कथा-१
2024-08-05 14:31:47cri
Share with:

युरोपको बाल्कन प्रायद्वीपको उत्तर-मध्य भागमा अवस्थित सर्बिया चीनबाट हजारौँ किलोमिटर टाढा छ। भौगोलिक दूरीबाट धेरै टाढा भए तापनि सर्बियाकी युवती येलिना धेरै सर्बियालीहरूको मन चीनसँग नजिक रहेको बताउँछिन्।

 

येलिना:"म येलिना हुँ, म सर्बियाबाट आएकी हुँ, मेरो जन्म सन् १९९७ मा भएको हो, म २०१६ मा चीन आएँ। वास्तवमा हाम्रो सम्पूर्ण परिवारको चीनसँग धेरै राम्रो सम्बन्ध छ, हामी चीन एक धेरै मैत्रीपूर्ण देश भएको विश्वास गर्छौँ। मलाई यो साँच्चिकै भाग्यको कुरा हो जस्तो लाग्छ।”

 

येलिनाको जन्म सर्बियाको एउटा सानो शहरमा भएको थियो। बुवाआमा र आफन्तहरूको प्रभावले गर्दा उनले सानैदेखि चिनियाँ संस्कृतिमा रुचि राखेकी थिइन्।

 

येलिना: "मेरा दुईजना दिदी छन्, तीमध्ये एकले मेरो जन्म हुँदा नै चिनियाँ भाषा सिक्न सुरु गरेकी थिइन्, उनी म भन्दा १३ वर्ष जेठी छिन्। म ६ वर्षको हुँदा उनले चीनमा अध्ययन गर्ने निर्णय गरेकी थिइन्। यद्यपि त्यो बेला म सानी थिएँ र मलाई चीन कस्तो छ भन्ने कमै थाहा थियो, तर मैले मेरी दिदीमा भएका परिवर्तनहरू देखेँ, त्यसैले मलाई लाग्छ, एक दिन म पनि चीन जान चाहन्छु, म पनि त्यो अनुभव लिन चाहन्छु।"

 

दिदीको सम्बन्धका कारण, येलिनाको घरमा प्रायः चिनियाँ साथीहरू आउने गर्दथे। सानैमा उनले दिदीको साथमा धेरै चिनियाँ टेलिभिजन श्रृंखलाहरु पनि हेरेकी थिइन्। हरेकपटक जब उनकी दिदी छुट्टीमा घर फर्कन्थिन्, उनले परिवारका सदस्यहरूका लागि चीनबाट धेरै उपहारहरू ल्याउँथिन्, र येलिनालाई सबैभन्दा धेरै मनपर्ने भनेको चिनियाँ कागज कटनी कला थियो। कागज कटनी कला हल्का र पातलो भए तापनि गहिरो सांस्कृतिक अर्थ समेटिएको हुँदा उनलाई चीन झन् नजिकबाट बुझ्न मन लाग्न थालेको थियो।

 

सन् २०१६ मा येलिनाले चीनमा अध्ययन गर्ने अवसर पाइन्। एक वर्षको तयारीको अध्ययनपछि, उनले नान चिङ कला एकेडमीमा नृत्य निर्देशनको अध्ययन पूरा गरिन्। त्यसपछि उनले नृत्यशास्त्रमा स्नातकोत्तर शिक्षा जारी राखिन्। यी वर्षहरूमा उनको चिनियाँ भाषा झन् राम्रो भयो र चिनियाँ संस्कृतिको ज्ञान अझ गहिरो हुँदै गयो।

 

येलिना: "नृत्य मेरो मुख्य विषय हो, किनभने चिनियाँ जातीय नृत्य अत्यन्त आकर्षक रहेको मैले पत्ता लगाएकी छु। चीनमा ५६ जातिहरू छन्, र हरेकका आआफ्नै विशेष नृत्यकलाहरू छन्। हरेक नृत्य फरक पनि छ र हरेक नृत्यले त्यो जातिको भावना प्रकट गर्दछ। अधिकांशले सामूहिक शक्ति र एकताको भावना देखाउँछ। र यी नृत्यहरू प्राचीन समयदेखि अहिलेसम्म निरन्तर चल्दै आएका छन्, मलाई लाग्छ यो अत्यन्त राम्रो कुरा हो।"