चरा सर्वेक्षणका क्रममा गुल्मीमा नयाँ प्रजातिका चरा भेटिएका छन्। यस जिल्लामा पर्ने रेसुङ्गा वन संरक्षण क्षेत्र र मदाने वन संरक्षण क्षेत्रमा सात प्रजातिका नयाँ चरा भेटिएको यहाँ चरा सर्वेक्षण गर्दै आएको नेपाल पन्छी संरक्षण सङ्घ गुल्मीका परियोजना अधिकृत भरत पन्थीले जानकारी दिनुभएको गोरखापत्र अनलाइनले लेखेको छ।
परियोजना अधिकृत पन्थीका अनुसार १९ हजार २८१.६५ हेक्टर क्षेत्रफलमा फैलिएको रेसुङ्गा वन संरक्षण क्षेत्रमा एक प्रजातिको नयाँ चरा भेटिएको छ। यस क्षेत्रमा सानो सेतो बकुल्ला प्रजातिको चरा भेटिएको हो। यससँगै रेसुङ्गा वन संरक्षण क्षेत्रमा २६३ प्रजातिका चराहरू छन्। १३ हजार ७६१ हेक्टर क्षेत्रफलमा फैलिएको मदाने वन संरक्षण क्षेत्रमा छ प्रजातिका नयाँ चरा भेटिएका छन्। यस क्षेत्रमा चाकासूचक, कालोकण्ठे भुइँरोविन, श्यामश्वेत अर्जुनक, कालो बुङ्गेचरी, आली चुइँया र हिमाली लेकचरी प्रजातिका नयाँ चरा भेटिएका हुन्। यससँगै मदाने वन संरक्षण क्षेत्रमा २८६ प्रजातिका चराहरू भेटिएका छन्।
नेपाल सरकारले २०७३ सालमा रेसुङ्गा र २०६८ सालमा मदानेलाई वन संरक्षण क्षेत्र घोषणा गरेको हो। यहाँ रहेका चराका प्रजातिको अनुसन्धान तथा गणना प्रत्येक वर्षको मार्च र नोभेम्बर महिनामा नेपाल पन्छी संरक्षण सङ्घ गुल्मीले गर्दै आएको छ। हालसम्म नेपालमा पाइने ८९२ प्रजातिका चरामध्ये ३५ प्रतिशत प्रजातिका चरा रेसुङ्गा र मदाने वन संरक्षण क्षेत्रमा पाइन्छन्। यस क्षेत्रमा बर्सेनि चराहरूको सङ्ख्या बढ्ने गरेको छ। अहिलेसम्म ३०५ प्रजातिका चराहरू रहेका छन्। दुवै वन क्षेत्रमा विश्वकै दुर्लभ छ प्रजातिका चराहरू समेत पाइन्छन्। जसमा रेसुङ्गा वन संरक्षण क्षेत्रमा चिर, रणमत्त महाचिल, सेतो गिद्ध, सुन गिद्ध, गोमायु महाचिल, डङ्गर गिद्ध छन्। मदाने वन संरक्षण क्षेत्रमा चिर, सेतो गिद्ध, सुन गिद्ध, गोमायु महाचिल छन्।
नेपालमा मात्र पाइने काँडे भ्याकुर पनि यी दुवै वन संरक्षण क्षेत्र पाइन्छ। रेसुङ्गामा ५६ र मदानेमा ६१ परिवारमा पर्ने चराहरू पाइन्छन्। रेसुङ्गामा एक र मदानेमा तीन प्रजातिका संरक्षित चराहरू पाइन्छन्। राष्ट्रिय खतरामा परेका रेसुङ्गामा १५ र मदानेमा १३ प्रजातिका चराहरू छन्। यहाँ रहेका दुर्लभ चराको संरक्षणका लागि विभिन्न चुनौती देखिएको छ। बेला–बेलामा हुने वन डढेलो, वासस्थान परिवर्तन, चोरी सिकारी, बढ्दो रासायनिक पदार्थको प्रयोग, अव्यवस्थित ग्रामीण सडकजस्ता समस्या चरा संरक्षणका लागि चुनौती बनेको छ।
यहाँ चराहरूको संरक्षणका लागि संरक्षण पोखरी निर्माण, वन क्षेत्रसँग जोडिएका स्थानीयको लागि सुधारिएको चुलो निर्माण, जनचेतना, वन डढेलो नियन्त्रण सामग्री वितरणलगायत कार्यक्रमहरू गरिएको छ। वन संरक्षण क्षेत्रसँग जोडिएका स्थानीयलाई जीविकोपार्जनका लागि मौरी पालन, उन्नत जातको मकैको बीउ, विभिन्न फलफूलका बिरुवा, तरकारीको बीउलगायत वितरण गरिएको नेपाल पन्छी संरक्षण सङ्घ गुल्मीका परियोजना पन्थीले बताउनुभयो।